बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०८३
  • 47
    SHARES
काठमाडौं – मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपालले अब अन्तर्राष्ट्रिय समुदायसँग राहत मात्र नभई जलवायु परिवर्तनबाट भएको क्षतिको न्यायसहित क्षतिपूर्ति माग्नुपर्ने बताउनुभएको छ ।

 

 

रसुवाको भोटेकोसी बाढी प्रभावित नागरिकका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सक्रियतामा सङ्कलित राहत सामग्री सार्वजनिक गर्ने कार्यक्रममा मङ्गलवार बोल्दै मुख्यमन्त्री यादवले जलवायु परिवर्तनमा ठुलो योगदान गर्ने विकसित मुलुकका कारण नेपालजस्ता मुलुकले प्राकृतिक विपत्तिको मार खेप्नुपरेको बताउनुभएको हो । उहाँले चीन, भारत र अमेरिकाजस्ता मुलुकको ठुलो कार्बन उत्सर्जनको असर नेपालले बाढी, पहिरो, हिमताल पग्लिने लगायतका विपत्तिका रूपमा भोगिरहेको दाबी गर्नुभयो । मुख्यमन्त्री यादवले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउनुपर्ने भन्दै सङ्घीय सरकारलाई समेत त्यसका लागि पहल गर्न आग्रह गर्नुभयो ।

उहाँकाअनुसार जलवायु परिवर्तनबाट नेपालले भोगेको क्षतिको उचित क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग गम्भीर छलफल आवश्यक छ ।

मुख्यमन्त्री यादवले भोटेकोसी बाढी आएको दिन नै प्रदेश सरकारले राहतका लागि प्रारम्भिक निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश सरकारका मन्त्री तथा कर्मचारीको एक दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको उहाँले बताउनु भयो ।

उहाँकाअनुसार दोस्रो चरणमा करिब दुई करोड रुपैयाँ बराबरको टेन्ट तथा कम्बल बाढी प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ । तेस्रो चरणमा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री पठाउने योजना प्रदेश सरकारको रहेको उहाँले बताउनु भयो ।

यसअघि मधेस प्रदेश सरकारले भोटेकोसी तथा त्रिशूली क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि करिब एक करोड ९६ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाउने निर्णय गरेको थियो । बाढी प्रभावित परिवारका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, भाँडाकुँडा लगायतका सामग्री सङ्कलन गरेको छ । सङ्कलित सामग्रीमा चामल, दाल, नुन, चिउरा, मुरही, चाउचाउलगायत खाद्य सामग्रीका साथै तावा, कराही, थाली, कचौरा र गिलाससमेत छन् ।

मुख्यमन्त्री यादवले विपद्को समयमा जनकपुरधामका उद्योगी, व्यवसायी तथा नागरिकले देखाएको मानवीय सहयोगको प्रशंसा गर्दै राहत सामग्री वास्तविक पीडितसम्म न्यायोचित रूपमा पु¥याउन आग्रह गर्नुभयो । नेपालले पटक–पटक प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्नुपरेको उल्लेख गर्दै उनले विपद्को समयमा सबै क्षेत्र र समुदाय एकजुट भएर प्रभावित नागरिकलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री यादवले अन्त्यमा देशमा शान्ति, अमन चयन र नागरिकको भविष्य सुरक्षित होस् भन्दै माता जानकीसँग प्रार्थना समेत गर्नुभयो ।

सङ्घले सङ्कलन गरेको राहत सामग्रीमा ७५ बोरा चामल, २१ बोरा सोयाबिन, दाल, नुन, चुरा, मुरही, चाउचाउ लगायतका खाद्य तथा आवश्यक सामग्री रहेका छन् । यस्तै, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता चप्पल, कम्बल, बेड सिट, टावेल तथा बालबालिकाका कपडासमेत सङ्कलन गरिएको छ । बाढी प्रभावित परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ७५ थान तावा, ७५ थान कराही, २०० थान थाली, २०० थान कचौरा, २०० थान गिलासलगायतका भान्सामा प्रयोग हुने सामग्री समेत रहेका छन् । राहत सामग्रीमा एक थान सिलाई मेसिनसमेत रहेको छ ।

विपद्को समयमा पीडित परिवारलाई केही भए पनि राहत पु¥याउने उद्देश्यले व्यवसायी, सहयोगी तथा विभिन्न सङ्घसंस्थाको सहकार्यमा राहत सामग्री सङ्कलन गरिएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घले गठन गरेको राहत सङ्कलन समितिका संयोजक जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

उहाँले राहत सामाग्री पीडित परिवारसम्म नपुगेसम्म अभियान जारी नै रहने बताउनु भयो । राहत सामाग्री लिएर बुधवार बिहान बाढी प्रभावित क्षेत्रमा सङ्घको टोली निस्किएको छ ।–न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)