शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढी अपडेटः मृतकको संख्या १,२९४ पुग्यो, ५ हजारभन्दा बढी अझै बेपत्ता


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०८३
  • 38
    SHARES

काठमाडौँ   –  राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढी तथा त्यसबाट सिर्जित विपद्को पछिल्लो वस्तुस्थिति सार्वजनिक गरेको छ । २०८३ भदौ १९ गते साँझ ६ः३० बजेसम्मको अद्यावधिक विवरणअनुसार, बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या १,२९४ पुगेको छ । प्राधिकरणकाअनुसार बाढीका कारण सबैभन्दा बढी मानवीय क्षति चितवनमा भएको छ, जहाँ ३५९ जनाको शव फेला परेको छ । अन्य जिल्लाहरूमा नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भई आफन्तले बुझिलिएका छन् ।

 

 

विपद्मा परेकाहरूको खोज र उद्धारका लागि सरकारले २१,४२१ सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेनाका ९,२८७, नेपाल प्रहरीका ७,९३१ र सशस्त्र प्रहरी बलका ४,२०३ जना सहभागी छन् । हालसम्म कुल १३,०९५ जनाको जीवितै उद्धार गरिएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनालाई जीवितै उद्धार गरिएको छ ।

प्राधिकरणको विवरणअनुसार अझै ५,०५३ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा रसुवाका २,१३० जना, नुवाकोटका २,३४० जना र ५८३ जना विदेशी नागरिक रहेका छन् । नेपाली सेनाले हालसम्म ८८१ पटक र निजी क्षेत्रका हेलिकप्टरले १२९ पटक उडान गरी उद्धार तथा राहत कार्यमा सहयोग पु¥याएका छन् ।

बाढीबाट घाइते भएका ५,६६३ जनाको उपचार गरिएको छ । जसमध्ये ३,२६६ जनाको नेपाली सेना, २,०८३ जनाको सशस्त्र प्रहरी र ३१४ जनाको विभिन्न अस्पतालहरूमा उपचार गरिएको छ । रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जनाले आश्रय लिइरहेका छन् ।

राहत सामग्री ढुवानीका लागि काठमाडौंबाट ७७ ट्रक र ३८ बोलेरो परिचालन गरिएको छ भने दुर्गम क्षेत्रमा ९ वटा हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ । सशस्त्र प्रहरीले नुवाकोट र रसुवामा १७३ पटक हवाई उडानमार्फत राहत सामग्री पु¥याएको छ । सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । साथै, अति प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रारम्भिक विवरणअनुसार ७,५७० वटा निजी घरमा क्षति पुगेको छ । सरकारी संरचनातर्फ ४८ वटा भवन (३५ पूर्ण र १३ आंशिक क्षति), १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । यातायात पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । बाढीबाट कुल ३२,९६३ जनसंख्या प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)