बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीमा मानवीय क्षति १,३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन


  • माउन्टेन खबर
  • बुधबार, भदौ २४, २०८३
  • 41
    SHARES

काठमाडौं  – रसुवा बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय क्षति १ हजार ३ सय ६७ पुगेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको मृत्यु भएको विवरण प्राप्त भएको हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६३, नुवाकोटमा १९७, रसुवामा १७४, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ शव फेला परेका छन् । काठमाडौंमा उपचारका क्रममा रहेका दुई जनाको पनि मृत्यु भएको उल्लेख छ । हालसम्म १०२ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । सनाखत हुन बाँकी शवका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने व्यवस्था गरिएको छ । बाढी तथा विपद्का कारण करिव ५ हजार १३२ जना अझै सम्पर्कविहीन रहेको विवरण सार्वजनिक गरिएको छ । रसुवाबाट मात्रै २ हजार ८६० जना सम्पर्कविहीन छन् ।
 त्यसमध्ये रसुवा जिल्लाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ कर्मचारी रहेका छन् ।

नुवाकोटबाट १ हजार ७८७ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नुवाकोटका ६५१ र रसुवाबाहेक अन्य जिल्लाका १ हजार १३६ जना छन् । यस्तै, करिब ५८७ जना विदेशी पर्यटकसमेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । सनाखत भएका शवको सङ्ख्या सम्पर्कविहीनको सङ्ख्याबाट घटाइएको प्राधिकरणले जनाएको छ ।
विपद् प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६४६ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहत कार्यमा सुरक्षा निकायका २१ हजार १८५ जना परिचालन भएका छन् ।
नेपाल प्रहरीका ७ हजार ९७५, नेपाली सेनाका ९ हजार ७ जना र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।
विभिन्न ३७ वटा होल्डिङ सेन्टरमा ३ हजार ६२८ जना राखिएका छन् । तीमध्ये रसुवामा ७३३, नुवाकोटमा २ हजार ६९९ र धादिङमा १९६ जना रहेका छन् ।
विभिन्न १० वटा अस्पतालमा ३२९ जनाको उपचार गरिएको छ । उपचारपछि २५२ जना डिस्चार्ज भइसकेका छन् ।
यसै गरी, नेपाली सेनाले ३ हजार ५३५ जना तथा सशस्त्र प्रहरी बलले ३ हजार २८७ जनालाई उपचार सेवा प्रदान गरेको प्राधिकरणले जनाएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)