२७ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद प्रक्रियामा पारदर्शी हुने बताउनुभएको छ।
सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताउनुभएको हो । जीटूजी प्रक्रियालाई प्राथमिकतामा नै राखेको भन्दै उहाँले भन्नुभयो, ‘जे जति विकृतिको आशंका भइरहेको छ, त्यसलाई झुटो सावित गर्छौं ।’
आफूले भारत, रुस र यूएईका राजदूतसँग कुराकानी गरेको र कोरोना खोपका लागि राजनीतिक प्रभावहरुलाई समेत प्रयोग गरिरहेको बताउनुभयो । ‘खोप छिटोभन्दा छिटो अरु सरह नै ल्याउने प्रयास भइरहेको छ’ उहाँले भन्नुभयो।
खोपका लागि १६ हजार खोप केन्द्र बनाइनेछ भने ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंमसेविका परिचालन गर्ने मन्त्रालयको तयारी रहेको पनि जानकारी दिनुभयो।
