६ माघ, काठमाडौं । मंगलबार बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा बस्दाबस्दै र एकजनाको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।
७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहनुभएको उहाँको अक्सिजन लेभल कम भइ सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको हो।
त्यस्तै धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुसमा उहाँको रिपोर्ट पोजेटिभ आएको थियो ।
