मङ्लबार, जेष्ठ १, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साधना लघुवित्तले ग्रामिण महिलाको आयस्तरलाई उकासेको छ : सिईओ रेशम न्यौपाने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०७७
  • 1.1K
    SHARES

लामो समयदेखि नेपालको बैकिङ तथा वित्तिय क्षेत्रमा कार्यरत रेशम न्यौपाने साहसी व्यक्ति हुनुहुन्छ । लमजुङको दुराडाँडामा जन्मेर नेपालको ग्रामीण दुरदराजका महिलाको आयस्तर बढाउनका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका न्यौपाने साधना लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुनुहुन्छ । रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा पत्रकारिता विषयमा प्रविणता प्रमाणपत्र तह उर्तिण गरेर पत्रकारिता पेशामा लाग्नुभएका न्यौपाने छोटो समय पत्रकारिता गरेर बैँक तथा वित्तिय संस्थामा प्रवेश गर्नुभएको हो ।

प्रविणता प्रमाणपत्र तह उर्तिण भएसँगै विस २०५७ सालमा जागिरको सिलसिलामा स्वावलम्बन विकास केन्द्र दाङ पुग्नुभएका न्यौपाने विस २०५८ को अन्त्यमा डिक्पोक्स नेपाल माइक्रोफाइनान्सको कलैया र झापाको शाखामा रहेर ७ वर्ष काम गर्नुभयो । विरेन्द्र क्याम्पस भरतपुरबाट व्यवस्थापन सङ्कायमा स्नातक गर्नुभएका न्यौपानेले कावासोती नवलपरासीबाट व्यवस्थापन सङ्कायमा नै स्नातकोत्तर तह उर्तिण गर्नुभएको छ ।

स्नातकोत्तर तह उर्तिणसँगै मुक्तिनाथ विकास बैँक पोखराको अनुगमन अधिकृत बन्नुभएका उहाँले विस २०७२ सालमा चौतारी लघुवित्त वुटवलको दोस्रो वरियताका रुपमा रहेर काम गर्नुभएको अनुभव छ । नेपालको बैँक र वित्तिय क्षेत्रमा धेरैले रुचाएका न्यौपाने विस २०७४ मा गोरखामा केन्द्रीय कार्यालय राखेर स्थापना गरिएको साधना लघुवित्त वित्तिय संस्था लिमिटेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) का रुपमा कार्यरत हुनुहुन्छ ।

स्थापनाकालदेखि नै लघुवित्तको सिईओजस्तो महत्वपूर्ण जिम्मेवारी समाल्नुभएका न्यौपानेले हाल देशका २७ जिल्लामा लघुवित्तको ७० शाखा विस्तार गरिसक्नुभएको छ । साधना लघुवित्त वित्तिय संस्थाले हाल देशभरका ३१० जनालाई प्रतक्ष्य रुपमा रोजगारी समेत प्रदान गरेको छ । एनसीसी बैँक र साङ्ग्रिला बैँक प्रमुख लगानीकर्ता रहेको साधना लघुवित्तमा बैँकिङ क्षेत्रका व्यक्ति, सामाजिक क्षेत्रका व्यक्ति, कानून व्यवसायी गरी ९२ जना संस्थापक शेयरधनीका रुपमा हुनुहुन्छ ।

साधना लघुवित्तको वित्तिय अवस्था र आगामी कार्ययोजनाबारे सिईओ न्यौपानेसँग पत्रकार अच्युत रेग्मीले गरेको कुराकानीको सम्पादित अंश ।

संस्थाको वित्तीय कारोबारको अवस्था कस्तो छ ?

यो साधना लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । वित्तिय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी तथा चुक्ता पुँजी रु २१ करोड ७७ लाख ८० हजार रहेको छ ।  यसको केन्द्रीय कार्यालय गोरखा रहेको छ भने वित्तीय संस्थाले हालसम्म ७०,००० सदस्यलाई समूहमा आवद्ध गरी ३२,००० ऋणी मार्फत् बाँकी कर्जा ३ अरव ९० करोड र बचत संकलन रु ७० करोड रहेको छ ।

संस्थाको संस्थापकमा को–को हुनुहुन्छ ?

वित्तीय संस्थाको प्रमोटरमा २ वटा राष्ट्रियस्तरका बैंकहरु एन.सी.सी. बैंक र सांग्रिला डेभलपमेण्ट रहेका छन् । त्यसैगरी अन्य ब्यक्तिगत प्रमोटरमा बैंक तथा वित्तीय संस्थामा लामो अनुभव भएका ब्यक्तिहरु, कानून ब्यवसायीहरु, अन्य पेशाकर्मीहरु, समाजसेवीहरु गरी ९२ जना प्रमोटर हुनुहुन्छ ।

साधना लघवित्तले के कस्ता सेवाहरु दिदै आएको छ ?

यस संस्थाले ग्रामिण भेगमा बसोबास गर्ने विपन्न वर्गका व्यवसाय गर्न चाहने तर पूँजी नभएका व्यक्तिहरुलाई धितो तथा विना धितो कर्जा उपलब्ध गराउँदै आएका छौ । त्यसमा पनि विशेष गरी महिलाहरुलाई सहज किसिमबाट कर्जा उपलब्ध गराउँदै आएका छौ । हामीले ग्रामिण ठाउँका जग्गाहरु धितोमा राखेर पनि व्यवसायिक कर्जा प्रदान गरेका छौ । यस संस्थामा लघुवित्तको मर्म अनुसार समूहमा आवद्ध हुन चाहने पुरुषहरुलाई पनि सोही सेवा प्रदान गर्दै आएका छौ ।

यो कम्पनीले छोटो समयमै कसरी राम्रो प्रगति गर्न सफल भयो ?

यस वित्तीय संस्थाले स्थापनाको छोटो समयमा सन्तोषजनक प्रगति गर्न सफल हुनुमा ब्यक्ति बिशेषको भन्दा पनि सम्पूर्ण टिमको सामूहिक प्रयासले नै हो । यस कम्पनीको ब्यवस्थापन लामो समयदेखि लघुवित्त क्षेत्रमानै कृयाशिल रहेका कर्मचारीहरु रहेका छन् । साथै सञ्चालक समितिमा पनि विगतमा ब्यवस्थापकिय तहमा रहि कार्यसम्पादन गरेका अनुभवहरु भएको हुँदा कम्पनीले सफलता हासिल गरेको जस्तो लाग्छ । अर्को महत्वपूर्ण कुरा ब्यवस्थापनलाई सञ्चालकले काम गर्ने उचित वातावरण दिएमा संस्थाले प्रगति गर्ने हाम्रो बुझाई छ । सोही अनुसार ब्यवस्थापनलाई अनुकल वातावरण तथा मार्गनिर्देशन दिने गरेकाले हाम्रो संस्थाले छोटो समयमै प्रगति गर्न सफल भएको हो ।

लघुवित्त क्षेत्रमा के कस्ता चुनौतीहरु पाउनुभएको छ ?

पछिल्लो समय लघुवित्त क्षेत्रमा अन्य बैङ्क तथा वित्तीय क्षेत्रमा भन्दा बढी प्रतिस्पर्धा छ । लघुवित्त क्षेत्र अस्वस्थ बन्दै गएको अवस्था छ । कारण, बैङ्क तथा वित्तीय संस्थाले प्रयाप्त धितो सुरक्षण गरेर कर्जा प्रवाह गर्ने गर्दछन् तर लघुवित्तमा विनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै ब्यक्तिले धेरै लघुवित्तवाट कर्जा लिने सम्भावना रहन्छ । यो दोहोरोपना नै लघुवित्तको मूख्य समस्या तथा चुनौति हो । यो वाहेक लघुवित्त क्षेत्रमा दक्ष कर्मचारीहरुको पनि अभाव छ । लघुवित्त संस्थाहरु विशेष गरी ग्रामिण ठाउँमा खोलिने हुदाँ सुचनाका माध्यमहरु प्रभावकारी हुदैनन् । जसले गर्दा सोचे अनुसारको कार्यसम्पादन गर्न कठिन छ ।

गोरखा जिल्लामा अन्य लघुवित्त कम्पनीको तुलनामा यस कम्पनीले दिने सुविधामा कुनै फरक छ ?

हाम्रो कम्पनी गोरखा जिल्लामा सवैभन्दा पछि सञ्चालनमा आएको कम्पनी हो । हामीभन्दा अघि धेरै लघुवित्त कम्पनीहरु गारेखा जिल्लामा सञ्चालनमा थिए । हाम्रो संस्था गोरखा जिल्लामा केन्द्रिय कार्यालय रहेको कारणले पनि अरु लघुवित्त भन्दा फरक गर्नुपर्छ सदस्यहरुको मन जित्नुपर्छ भन्ने उदेश्य सहित परम्परागत लघुवित्त भन्दा आधुनिक लघुवित्तको अवधारण लिएर आएका छौ । हामीले दिने सेवा सुविधामा विविधिकरण छ । लगानीमा कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौ । व्यवसायिक रुपमा पर्यटन, होटल र किराना पसलहरुमा पनि लगानी गर्ने गरेका छौ । साथै हामी कहाँ बैदेशिक कर्जाको पनि सुविधा छ । जलविद्युत शेयर कर्जा शिर्षका पनि लगानी गर्दै आएका छौ । त्यस्तै शैक्षिक र आकस्मिक कर्जाको सुविधा पनि छ । यसर्थ कर्जामा विविधिकरण भएका कारण पनि अरु लघुवित्तभन्दा फरक छौ जस्तो लाग्छ ।

कर्जामा विविधिकरण छ भन्नुभयो । कम्पनीको उदेश्य अनुसारनै कर्जाको प्रयोग भएको छ त ?

हामीले कर्जा मात्र प्रदान गरेका छैनौ । कर्जा प्रदानसँगै कर्जा सदुपयोगको जरुरी र कर्जा सदुपयोगबाट हुने प्रत्यक्ष फाइदाको विषयमा पनि अवगत गराएका छौ । सदस्यहरुलाई प्रदान गरेको कर्जा शिर्षकको आधारमा गाउँ स्तरमै गएर सचेतना कार्यक्रम समेत सञ्चालन गरेका छौ । यसकै प्रभावले होला अहिलेसम्म हाम्रो खराब कर्जा रहेको छैन् ।

साधना लघुवित्तले प्रवाह गरेको कर्जाले कुनै सदस्यको जीवन परिवर्तन भएको छ ?

भर्खरै कारोबारको  ३ वर्ष पुरा गरेको यस वित्तीय संस्थाले आर्थिक रुपमा जीवनमा परिवर्तन गर्न त सम्भव नहोला । तर कम्पनीले ती सदस्यहरुलाई संस्कार सिकाएको छ । फजुल खर्च गर्न नहुने रहेछ बचत पनि गर्नुपर्ने रहेछ भन्ने चेतना सदस्यहरुमा बढाएका छ । ग्रामिण समूदायका पुरुष कमाउने र महिला घरधन्दामै सिमित हुने परिपाटी कम गराउन यो संस्थाले महत्वपूर्ण भूमिका खेलेको छ । समग्रमा भन्नुपर्दा साधना लघुवित्तले आफ्ना सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराएको छ । यसबाट अहिलेनै केहि सम्भव नभएपनि एक दुई वर्षमा यस संस्थाका सदस्यहरुले जिवनमा केहि परिवर्तन अवश्य गर्नेछन् ।

कम्पनीको आगामी योजना के छ ?

राज्यले लिएको गरिबी निवारणको नीतिलाई लघुवित्त कार्यक्रम मार्फत सहयोग गर्ने हाम्रो प्रतिवद्धता हो । ग्रामिण तथा विकट क्षेत्रमा सेवा विस्तार गर्ने लक्ष्य स्वरुप यस वर्ष ८० वटा शाखा पु¥याउने हाम्रो योजना छ । विपन्न समूदायका ग्रामिण क्षेत्रमा बसोवास गर्ने विशेष गरी महिलाहरुलाई विनाधितो सामूहिक जमानीमा उपलब्ध गराई उत्पादनमूलक काम गर्न प्रोत्साहन गरी आर्थिक रुपले सबल बनाई स्वावलम्बी समाज निर्माणमा सघाउने हाम्रो योजना छ । यसका लागि हामीलाई सबैको साथ आवश्यक छ । हाम्रा संस्थापक तथा शेयरधनीहरुको अटुट विश्वास, संचालकको एकरुपता, व्यवस्थापन एवम् कर्मचारीहरुको मेहेनत र समूह सदस्यहरुको इमान्दारिताका साथै नियमनकारी निकायको रचनात्मक सहयोगले हामी आफ्नो गन्तब्यमा पुग्नेमा पूर्ण विश्वास छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }