मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा फेरि लकडाउन हुन सक्छ : स्वास्थ्य मन्त्रालय

भारतमा संक्रमित बढेसँगै यहाँ पनि महामारीको सेकेन्ड वेभ आउने सम्भावना छ


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 586
    SHARES

काठमाडौं ,१२ चैत्र।

नेपालका जनस्वास्थ्य विद्हरु भन्छन्– पहिले पनि नेपालमा कोरोनाको प्रकोप भारतबाटै आएको हो । भारतमा कोरोनाले महामारीको रुप लिएको महिना दिनपछि यता पनि प्रभाव पर्न थालेको हो ।

स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार सो मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले भन्नुभयो– भारतमा कोरोनाको प्रकोप बढिरहेको छ, पहिले पनि नेपालमा कसरी महामरी भित्रियो र बढ्यो भन्ने कुरा त सबैलाई थाहा नै छ । अब महामारी बढेपछि गर्ने भनेको त लकडाउन नै हो, अरु के विकल्प छ र ?

स्वास्थ्य मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाइन र आइसोलेसनको अवस्था के कस्तो छ भनी तीन दिनभित्र लेखी पठाउन मंगलबार पत्राचार पनि गरेको छ । यसरी सरकार अब देशभरिको क्वारेन्टाइनको अवस्थाको मूल्यांकन गर्ने तयारीमा जुटेको छ ।

हुन पनि कोरोना महामारीको दोस्रो लहर सामना गरिरहेको छिमेकी मुलुक भारतको अवस्था अहिले त्यस्तै भएको छ । यहाँ संक्रमण तीव्र गतिमा फैलिएको छ ।

भारतको पछिल्लो तथ्यांक अनुसार ११ मार्चमा १० हजार ९८३ मा झरेको नयाँ संक्रमितको संख्या बुधबार ४७ हजार २६२ पुगेको छ । नोभेम्बरको सुरुआतपछि पहिलो पटक एकैदिन धेरै संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतको संक्रमण दर पछिल्ला दिनहरुमा डरलाग्दोगरी बढ्दै छ । यो महामारी पहिलेकै अवस्थामा पुग्न सक्ने भारतका स्वास्थ्य अधिकारीहरु बताउँछन् । त्यसैले भारतमा उच्च दरमा संक्रमण बढिरहँदा नेपालमा पनि संक्रमण बढेको देखिएको छ ।

नेपालमा पनि केही दिन यता सानो संख्यामा भए पनि संक्रमितहरु बढ्दै छन् । बुधबार १४५ जनामा संक्रमण देखिएको छ । तर अघिल्लो हप्तासम्म भने यहाँ दुइ अंकमा मात्र संक्रमण सीमित हुन पुगेको थियो ।

उता पोखराको लामाचौरस्थित इन्जिनियरिङ कलेजका धेरै विद्यार्थीमा यो संक्रमण देखिएपछि परीक्षा नै स्थगित भएको समाचार आजमात्र आएको छ ।

जसरी पहिलो लहरमा भारतमा संक्रमण तीव्र गतिमा फैलिएको एक महिनापछि नेपालमा बढ्यो, दोस्रो लहरमा पनि त्यही अवस्था आउन सक्ने विज्ञहरुले बताएका छन् ।

बुधबारको  प्रेस ब्रिफिङमा काठमाडौं विश्वविद्यालय जनस्वास्थ्य विभागका सहप्राध्यापक डा. अर्चना श्रेष्ठले भन्नुभयो ‘नेपाल, भारतभन्दा एक महिना पछाडि परेको र अहिले भारतमा संक्रमण बढ्दै गरेको तथ्यांकलाई एक ठाउँमा राख्दा हामी के अनुमान गर्न सक्छौं भने नेपालमा पनि अबका केही हप्ता संक्रमणको संख्या बढ्दै जाने सम्भावना देखिन्छ ।’

उहाँले भनेजस्तै केही दिनमात्र अघिसम्म दुई अंकमा सीमित भएको नेपालमा कोरोनाको दैनिक पहिचान भएका सक्रिय संक्रमितको संख्या तीन अंकमा पुगेको छ । बुधबार ३ हजार ९६३ नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ । बुधबार एक जनाको मृत्यु पनि भएको बताइएको छ ।

अस्पतालहरुमा पनि पछिल्लो समयमा संक्रमित देखिन थालेका छन् । कोरोना संक्रमितहरुको उपचार गराइरहेको शिक्षण अस्पतालमा गरिने परीक्षणमा संक्रमण दर १८ प्रतिशत पुगेको बताएको छ ।

यता टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिन यता लक्षणसहितका संक्रमित भर्ना हुन थालेका बताइएको छ । अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार त्यहाँको संक्रमणदर २० प्रतिशत पुगेको छ । पाटन अस्पताल र बलम्बुस्थित एपीएफ अस्पतालमा पनि संक्रमित बिरामी बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)