भक्तपुर, १९ कात्तिक
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार भक्तपुरको थिमीस्थित नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको हो । उहाँले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उहाँको योगदानको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘उहाँले ऋणमा रहेका नेपालीहरुलाई ऋणबाट मुक्त गर्नुभयो, उहाँ जस्तो देशका लागि योगदान पुर्याउने व्यक्ति बिरलै पाइन्छन्, उहाँको प्रेरणाबाट हामीले सिक्न जरुरी छ, आज मात्रै सार्वजनिक भएको नेपाल संवतको विद्युतीय पात्रो मोबाइल अब नेपाल संवतको निर्माणले हाम्रो दैनिक जीवनमा विविध सांस्कृतिक बोध गराउँछ, सरकारी कामकाजमा पनि सहयोग हुने विश्वास लिएको छु ।’
प्रधानमन्त्री देउवाले नेपाल संवतको विद्युतीय पात्रो सार्वजनिक भएकोमा खुशी व्यक्त गर्दै पात्रोले सांस्कृतिक कुराहरुको बोध गराउने बताउनुभयो ।
