शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढी प्रभावित रसुवाको उत्तरगया–२ मा सपना भिलेज सोसल इम्प्याक्टद्वारा राहत सामग्री वितरण


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०८३
  • 40
    SHARES

रसुवा — बाढीबाट प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ मा सपना भिलेज सोसल इम्प्याक्टले स्थानीय सरकारको आधिकारिक पत्रपछि आवश्यक राहत सामग्री उपलब्ध गराएको छ।

 

 

 

उत्तरगया गाउँपालिका कार्यालयको पत्रअनुसार प्रभावित परिवारका लागि २०० थान इकोस्टोभ, १०० थान कम्बल, १०५ बोरा चामल, ५०० प्याकेट बालबालिकाका लागि पौष्टिक आहार, २२० प्याकेट सेनेटरी प्याड, अत्यावश्यक औषधि, २००–२००–२०० थान नुहाउने, कपडा धुने र भाँडा माझ्ने साबुन, १०० थान सरफ, ३०० थान टुथब्रस र १०० थान टुथपेस्ट लगायतका राहत सामग्री उपलब्ध गराइएको हो।

अत्यन्तै कठिन सडक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद चितवनको सौराहाबाट राहत सामग्री लिएर प्रस्थान गरेको सपना भिलेजको टोली करिब दुई दिनको दिनरात यात्रापछि उत्तरगया–२ पुगेको थियो। दुर्गम तथा बाढी प्रभावित समुदायसम्म पुगेर राहत सामग्री हस्तान्तरण गर्नुका साथै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र तत्काल आवश्यकताबारे जानकारी लिइएको थियो।

 

रसुवा जाने क्रममा नुवाकोटको बिदुर नगरपालिका क्षेत्रमा रहेको त्रिशूली कोलोनीस्थित होल्डिङ सेन्टरमा समेत पुगेर प्रभावित तथा विस्थापित नागरिकको अवस्था बुझिएको थियो। त्यहाँ तत्काल आवश्यक सामग्रीबारे जानकारी लिनुका साथै सम्बन्धित सरकारी अधिकारीहरूसँग सहयोगका विषयमा छलफल गरिएको थियो।

उत्तरगया–२ पुगेपछि राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिएको थियो भने औषधि, बालबालिकाका लागि पौष्टिक आहार र सेनेटरी प्याड स्वास्थ्य चौकीमार्फत वितरण गर्न हस्तान्तरण गरिएको थियो। अन्य सामग्री पनि आवश्यकताका आधारमा प्रभावित परिवारसम्म पुर्‍याइएको जनाइएको छ।

सपना भिलेजका अध्यक्ष ध्रुव गिरीका अनुसार, राहत सामग्री पुर्‍याउनुका साथै प्रभावित परिवारको वास्तविक अवस्था र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिनु पनि सहयोगको महत्त्वपूर्ण उद्देश्य हो। स्थानीय बासिन्दाले बाढीका क्रममा आफूहरूले भोग्नुपरेको अवस्था र क्षतिबारे गिरीसँग आफ्ना अनुभव साझा गरेका थिए।

स्थानीयका अनुसार बाढी अत्यन्तै अप्रत्याशित रूपमा आएको थियो। बाढीका क्रममा ढुङ्गा, माटो र पानीको तीव्र बहावसँगै आएको ठुलो आवाजले स्थानीयमा त्रास सिर्जना गरेको थियो। प्रत्यक्षदर्शीहरूले बाढीको आवाज निकै ठुलो रहेको र ढुङ्गा तथा अन्य सामग्री बगाउँदा विस्फोट भएको जस्तो महसुस भएको बताएका छन्।

प्रभावित क्षेत्रको स्थलगत अवलोकन र स्थानीयसँगको कुराकानीबाट धेरै परिवारले घर, सम्पत्ति र जीविकोपार्जनका आधार गुमाएको अवस्था देखिएको सपना भिलेजले जनाएको छ। बाढीका कारण कतिपय परिवारले आफ्ना आफन्त गुमाएका छन् भने कतिपय बालबालिकाले अभिभावक गुमाएका छन्। परिवारका सदस्य गुमाउनुका साथै आम्दानीको स्रोतसमेत गुमेपछि धेरै परिवार थप आर्थिक सङ्कटमा परेको जनाइएको छ।

सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले विपत्तिबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउनु तत्कालको आवश्यकता पूरा गर्ने एउटा प्रयास मात्र भएको बताए। उनका अनुसार प्रभावित परिवारको कुरा सुन्ने, उनीहरूको वास्तविक आवश्यकता बुझ्ने र कठिन परिस्थितिमा उनीहरूको साथमा उभिनु पनि उत्तिकै महत्त्वपूर्ण छ।

“हामी केवल राहत सामग्री वितरण गर्न मात्र आएका होइनौँ। प्रभावित परिवारहरूको कुरा सुन्न, उनीहरूको वास्तविक आवश्यकता बुझ्न र यो कठिन समयमा उनीहरूको साथमा उभिन पनि आएका हौँ,” गिरीले भने।

प्रत्यक्ष प्रभावित क्षेत्रमा पुग्दा बाढीले पुर्‍याएको क्षतिको अवस्था निकै पीडादायी देखिएको उनले बताए। “धेरै परिवारले आफ्ना प्रियजन, घर र जीविकोपार्जनका आधार गुमाएका छन्। यस्तो अवस्थामा उनीहरूलाई तत्काल राहतसँगै आगामी दिनमा पुनः स्थापना र पुनर्निर्माणका लागि पनि सहयोग आवश्यक छ,” उनले भने।

सपना भिलेजले स्थानीय सरकार र समुदायले पहिचान गरेका आवश्यकताका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाएको छ। तत्कालीन राहतसँगै प्रभावित परिवारको घर पुनर्निर्माण, जीविकोपार्जन पुनः स्थापना तथा आधारभूत सेवाको पहुँच पुनः स्थापित गर्न दीर्घकालीन सहयोग आवश्यक रहेको संस्थाले जनाएको छ।

बाढीबाट प्रभावित परिवारहरू अझै पनि पीडा, क्षति र भविष्यप्रतिको अनिश्चिततासँग जुधिरहेकाले सरकारी निकाय, सामाजिक संस्था तथा सहयोगी समुदायबिचको निरन्तर सहकार्य आवश्यक रहेको जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)