रसुवा, ७ मंसिर
रसुवामा टाटासुमोले पैदलयात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने चालक सहित ७ जना घाइते भएका छन् । जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ ठाडेबाट धुन्चेतर्फ आइरहेको ना १ ज ६१७६ नम्बरको टाटासुमोले धुन्चेबाट ठाडेतर्फ गइरहेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । टाटासुमोको ठक्करबाट ठाडेकी ४ वर्षीया बालिका नैनी घलेको मृत्यु भएको छ । उनकी फुपु वर्ष ३० कि उर्जा घले र दाई वर्ष ८ का करन घले घाइते भएका छन् । धुन्चेबाट ठाडे तर्फ जादै गरेका उनीहरु तिन जनालाई टाटासुमोले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पैदलयात्रीलाई ठक्कर दिएको सुमो सडकबाट करिब ५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । सुमोमा सवार चालक सहित चार जना पनि घाइते भएका छन् । प्रहरीका अनुसार सुमो चालक जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका छिरिङ दोर्जे तामाङ, गाडिमा सवार यात्रु रमेश लोप्चन, याङसेन घले र गाडि साहुँ घाइते भएका छन् । गाडि साहुँको नाम भने खुलेको छैन् ।
मृतक बालिका सहित उर्जा घले, करन घले, सुमो चालक छिरिङ दोर्जे तामाङ र गाडि साहुँलाई उपचारका लागि नुवाकोट लगिएको छ । सुमोमा सवार यात्रु रमेश लोप्चन र याङसेन घलेलाई उपचारका लागि सदरमुकाम धुन्चे ल्याइएको प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले बताए । मारग्याल्बो घलेलाई सामान्य चोट लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ करिब सवा ५ बजे सडकमा हिँडिरहेका पैदलयात्री जोगाउन खोज्दा १ ज ६१७६ नम्बरको टाटासुमो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । काठमाडौंबाट धुन्चे आउँदै गरेको उक्त सुमो ठाडे नजिकै दुर्घटना भएको हो । सुमो सडकबाट करिब ५० मिटल तल भिरमा खसेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
