दोबाटो
मस्त हुँदा हुँदै, अस्तव्यस्त जिन्दगीहरूका बीचमा उद्देश्य के लिनु ?मानवको न गाँसको ठेगान छ,न सहवासको ? रोग, भोक र शोकले आक्रान्त नगरीमा सबै व्यस्त छन् । कसैले ठोक्यो । आँखा झिलिक्क गर्यो । नौलो दुनियामा प्रवेश गरें । गार्ड सहित पुष्पक विमान आयो । झ्याइकुटी पारी मलाई एक अद्भुत स्थानमा पुर्याए जहाँ महादेव क्रोधित मुद्रामा हुनुहुन्थ्यो ।
पाँउमा चढाउँदै – परमेश्वर ! यो मिहिनेती मनुवा हो । गलत ! हनुवालाई लिएर मनुवा भन्ने । कसरी महाराज ? हामीले त स्वर्गकालागि उठाएका हौँ । रिसले थरथरी काम्दै महादेवले भन्नुभयो- मेरो ध्यान स्थल सगरमाथामा प्रदूषित गर्ने । ज्ञानभूमि र तपोभूमिलाई युद्धभूमि बनाउने । पैसाकालागि हद पार गर्ने, कसरी मनुवा भन्नु ?
मैले वैदिक युगदेखि शान्त मानव र सुन्दर बस्तीकालागि राम पठाए, कृष्णलाई पठाए,त्यसपछि बुद्धलाई पठाए तर सबै क्षणभंगुर । जति सिकाए नि रणभूमि बनाए । कहिले जातको, धर्मको, संविधानको, कहिले अधिकारको, कहिले निर्वाचनको बिबिध नाममा ,नाम बदलेर न्याय र धर्ममाथि प्रहार गरिरहे । त्यसैले यिनीहरूलाई स्वर्ग र नर्ककोबीच दोवाटोमा राख्नु भनी आदेश दिनुभयो । गार्डले भन्यो हे देवादी देव ! यो मनुवा कुनै कुकर्म गरेकै छैन । अलि अन्याय हुन्छ कि ?
महादेवले मुस्काउदै ‘‘कुकर्म नगरेपनि पर्तिरोध नगर्नु महाँपाप हो । त्यसैले मोक्ष मिल्दैन । तथास्तु ! भन्दै बिलिन हुनुभयो । गार्डले मलाई बिमानमा राख्दै थिए । म झल्यास्स ब्युझिए । डाक्टर र वरिपरिका मान्छेका मुहारमा मुस्कान देखियो । म भने दोधारमा परे । उत्थानको बाटो हो वा पतनको? ओहो ! यो कस्तो दोबाटो!
-गोपिराम भण्डारी