आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशसभा सदस्य दवाडीद्वारा आफ्नो तलबभत्ता कोरोना नियन्त्रणमा सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ११, २०७८
  • 737
    SHARES

११ माघ, काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले आफूले प्राप्त गरेको तलबभत्तालगायतको सरकारी सुविधा बापतको पारिश्रमिक सामाजिक कार्यमा खर्च गर्नुभएको छ । विसं २०७४ मा नेपाली कांग्रेस पार्टीका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि सरकारबाट प्राप्त हुने सबै सुविधाबापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्नुभएको छ ।

प्रदेशसभा सदस्य दवाडीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी गत वर्ष पुसदेखि हालसम्म प्रदेशसभा सदस्यलाई सरकारबाट तलबभत्ता बापत प्राप्त भएको रु सात लाख ८२ हजार ३५६ र व्यक्तिगत रु पाँच लाख ८१ हजार ४३५ गरी कूल रु १३ लाख ६३ हजार ८०० गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्तिलाई औषधि खरिद र बिरामीको उपचार सहायतामा खर्च गरेको जानकारीदिनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता दवाडीले यसवर्ष विशेषगरी कोभिड नियन्त्रणका लागि गाउँका स्वास्थ्यचौकीमा स्वास्थ्य उपकरण र औषधि खरिद र सहयोगमा सुविधाको रकम खर्च भएको बताउनुभयो । कोरोनाका समयमा आफैँले औषधि किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका समयमा वृद्धवृद्धालाई आवश्यकपर्ने औषधि बोकेर घर–घरमा पुगेर वितरण गरेको उहाँले जानकारीदिनुभयो ।

उहाँले भन्नुभयो,“नागरिकको स्वास्थ्यको ग्यारेण्टी सरकारको मुख्य दायित्व हो । यससँगै सांसद र सचेत नागरिकको पनि उत्तिकै भूमिका आवश्यक छ, भनेर सहयोग गरेको हुँ ।” प्रदेशसभा सदस्य दवाडीले विभिन्न बिरामीको उपचारका लागि अस्पतालमै पुगेरसमेत सहयोग गर्नुभएको थियो ।

प्रदेशसभामा निर्वाचित भएलगत्तै सरकारी सुविधाबापतको रकम निर्वाचन क्षेत्रका जनताको हित र सामाजिक कार्यमा खर्चिने प्रतिबद्धता उहाँले जनाउनुभएको थियो । उहाँले हरेक वर्ष कार्यक्रम गरेर आफ्नो खर्च सार्वजनिक गर्दै आउनुभएको छ ।

यस वर्ष प्रदेशसभा सदस्य दवाडीले विभिन्न मितिमा गोरखाका विभिन्न सङ्घ संस्था तथा व्यक्ति, स्वास्थ्यचौकी गरी ३१ संस्थालाई सहयोग गर्नुभएको छ । कोरोना औषधि खरिद, विद्यालयमा शैक्षिक सामग्री खरिद, क्यान्सर रोगका बिरामीको उपचार, अक्षयकोष तथा छात्रवृत्ति, आमा समूह भवन, आमा समूहलाई फर्निचर खरिद, किसानको घर निर्माण लगायतमा न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु तीन लाख २० हजार सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)