आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागलुङमा नेपालको दोस्रो लामो पुलको निर्माण प्रक्रिया सुरु


  • माउन्टेन खबर
  • बुधबार, माघ १२, २०७८
  • 556
    SHARES

१२ माघ, काठमाडौं । ‘सिङ्गल स्पान’ प्रविधिमा एक टापुबाट अर्को टापुमा जोड्ने नेपालकै दोस्रो लामो झोलुङ्गे पुल निर्माणको प्रक्रिया यहाँ सुरु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्नेगरी कालीगण्डकीमाथि ‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो (५६७ मी लामो) पुल निर्माण गरेको ‘सस्पेन्सन ब्रिज डिभिजन’ले अर्को लामो पुल निर्माणको तयारी थालेको हो ।

बागलुङ नगरपालिकाको निरन्तर प्रयासपछि डिभिजनले बागलुङ नगरपालिका–४ गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका–८ नागलीबाङ जोड्ने लामो पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । प्रारम्भिक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएपछि झोलुङ्गेपुल निर्माणका लागि बोलपत्रको प्रक्रिया सुरु भएको हो ।

कालीगण्डकीमाथि ५२४ मिटर लामो र १७२ मिटर उचाइमा बन्ने पुल प्रभावित क्षेत्रमा डिभिजनका प्राविधिकहरुको समूहले स्थलगत अध्ययन गरेको छ । “हामी पुल निर्माणका लागि ठेक्का प्रक्रियामा जाँदैछौँ, प्रभावित क्षेत्रमा विवाद रहे नरहेको र परामर्शदाताले काम गर्दा स्थलगत अवलोकन गरे÷नगरेको विषयमा जानकारी लिएका छौँ,” इञ्जिनियर टोपबहादुर बानियाँले भन्नुभयो, “यो नेपालमा ‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो पुल हो ।”

प्रभावित क्षेत्रका सर्वसाधारणमा उत्साह देखिएकाले बोलपत्रको प्रक्रिया तत्काल सुरु हुने उहाँले बताउनुभयो । पुल निर्माणका लागि नेपाल सरकारले रु १२ करोड विनियोजन गरेको छ । ठेक्का लागेको दुई वर्षमा पुल तयार हुनेछ । “बागलुङमा संसारकै लामो पुल तयार हामीले नै गरेकाले यो पुल तयार गर्न समस्या हुँदैन,” बानियाँले भन्नुभयोे, “प्रविधि त्यही हो, निर्माण व्यवसायीले निर्धारित समयमा काम सक्दा समयमै पुल बन्छ ।”

यो पुल निर्माणका लागि नगरपालिकाले पहल गर्दै आएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “बजेट विनियोजन भइसकेपछि पनि काममा ढिलाइ भएकाले खबरदारी गरिरहेका थियौँ,” पौडेलले भन्नुभयो, “डिभिजनको समूहले स्थलगत अध्ययन गरेकाले अब काम छिट्टै अघि बढ्छ ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)