आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिभावकविहीन बालबालिकाहरुको शिक्षाको जिम्मेवारी पालिकाले लिने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १३, २०७९
  • 456
    SHARES

१३ जेठ, काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिकाले अभिभावकविहीन बनेका बालबालिकाको शिक्षाको जिम्मेवारी लिने भएको छ । सहाराविहीन बनेका बालबालिकाको पठनपाठनका लागि पालिकाले सहयोग गर्ने गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।

अभिभावकको सहारा नपाएका बालबालिकालाई उचित शिक्षा दिलाउने निर्णय पालिकाले गरेको उहाँले बताउनुभयो । बोलीखबर डटकम र कन्दरा न्यूजको सहकार्यमा बिहीबार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले अबको पाँच वर्षमा शिक्षामा विशेष परिवर्तन ल्याउने गरी काम गर्ने योजना रहेको जानकारी दिनुभयो ।

दोस्रो कार्यकालका लागि पुनः पालिका अध्यक्षमा चुनिनुभएका थापाले पाँच वर्षको अवधिमा पालिकाभित्र सबै शिक्षामा एकरुपता ल्याउन संस्थागत विद्यालयलाई सामुदायिक विद्यालय गाभेर पठनपाठन कार्य गरेको बताउनुभयो । धनी र गरिबका बालबालिका एकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न र शिक्षाको नाममा चर्को शुल्क उठाउने कार्यले अभिभावक मारमा परेको हुँदा सामुदायिक विद्यालयलाई सुधार गरी संस्थागत विद्यालयमा नै दिने शिक्षा प्रदान गर्दै आएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

उहाँ भन्नुभयो, “एकैपटक ठूलै परिवर्तन हुन्छ भनेर गफ दिनुभन्दा क्रमिकरूपमा काम गरेर देखाउने हो, अबको पाँच वर्ष यहाँका अभिभावक र बालबालिकाले शैक्षिक क्षेत्रमा केही परिवर्तन पाउनुहुनेछ, विज्ञान र प्रविधिमा जोड, असल जनशक्ति उत्पादन, शिक्षा विकासका काम हुनेछन् ।”

पत्रकार भेटघाटमा अध्यक्ष थापाले नागरिकको आयस्तर वृद्धि गर्न कृषि र पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो । ठाउँअनुसार फरक–फरक खालको कृषि र पशुपालनका कार्यक्रम, बाँझो जग्गालाई सदुपयोग गरी खेतीयोग्य बनाउन सामूहिक कृषि कार्य गरी गाउँमै स्वरोजगार सिर्जना गर्ने र बसाइँसराइ हुने दर कम गर्ने खालका कार्यक्रम पालिकाले अगाडि सारेको छ ।

आधारभूत स्वास्थ्य सेवालाई प्रभाकारी बनाउने, स्वास्थ्य सरसफाइ, स्वास्थ्य सेवा थप वृद्धि गर्न निर्माणाधीन १५ शय्याको अस्पतालको भवन सम्पन्नपश्चात सेवा सञ्चालनजस्ता कार्यक्रम पालिकाले तय गरेको छ । विद्युत् सेवालाई विस्तार गरी काठका पोल हटाउने, टुकीरहित पालिका बनाउने, एक घर एक धारा, सडक व्यवस्थित गर्ने, सडक स्तरोन्नति, सबै सरकारी कार्यालयमा छिटो–छरितो सेवाप्रवाहजस्ता कुरामा जोड दिइएको छ ।

शून्य होमडेलिभरी कार्यक्रमलाई निरन्तरता दिँदै अबको पाँच वर्षमा सुशासनको पाटोमा सहज बनाउने, न्याय सम्पादनमा जोड दिँदै विगत पाँच वर्षमा पूरा गर्न नसकेका अधुरा कामलाई पूरा गरी समृद्ध पूर्वखोला, खुसी गाउँवासी बनाउने सङ्कल्प ल्याएको गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराईले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले निर्वाचनमा कुनै दलको प्रतिनिधिका रूपमा उम्मेदवार भए पनि निर्वाचित भइसकेपछि जनताको प्रतिनिधि भएर काम गर्न सकियो भने नागरिकले विकासको अनुभूति गर्न पाउने बताउनुभयो ।

पूर्वखोलामा गएको पाँच वर्षमा शिक्षा र स्वास्थ्यमा अधारभूत सेवा, महिला सशक्तीकरण, सबै स्वास्थ्य संस्थामा सुत्केरी सेवा, सामुदायिक स्वास्थ्य एकाइ सेवा, प्रयोगशाला, गर्भवतीलाई लक्षित गरेर भिडियो एक्सरे सेवा, सबै बस्तीमा मोटरबाटो संरचना तयार, एक घर एक धारा अभियानजस्ता काम भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)