बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाकाबाट धमाधम भित्रिन थाले समानका कन्टेनर


  • माउन्टेन खबर
  • आइतवार, अशोज २, २०७९
  • 440
    SHARES

२ असोज, काठमाडौं । रसुवागढी नाकाबाट चिनियाँ सामग्री आयात हुन थालेपश्चात सीमा क्षेत्रको चहलपहल बढ्न थालेको छ । केरूङ क्षेत्रमा कोभिड सङ्क्रमण बढेको जनाउँदै चिनियाँ पक्षले गत साउन २१ देखि आफ्नो सीमानाका बन्द गराएको थियो । आयात पुनः सञ्चालन भएसँगै सुनसान रहेको रसुवागढी क्षेत्रमा सवारी चालक तथा सामान पल्टी गर्ने कामदारको बाक्लो उपस्थितिले चहलपहल बढाएको हो ।

गत भदौ ३० बाट आयात पुनः सुरु भएपश्चात तीन दिनको अन्तरालमा ५६ चिनियाँ मालवाहक कन्टेनरले रसुवागढीस्थित नेपाली भू–भागमा मालसामान ल्याइरहेको सीमा सुरक्षाकर्मीले बताएका छन् । गत बिहीबार १४, शुक्रबार तथा शनिबार २१–२१ चिनियाँ कन्टेनरले रसुवागढीमा मालसामान ल्याएका बताइएको छ ।

सामान आयातमा विगतको अभिलेख हेर्दा दैनिक १४ कन्टेनरमात्र पठाइरहेको चिनियाँ भन्सारले पछिल्लो समय २१ कन्टनेरबाट सामान उपलब्ध गराएको जनाइएको छ । यसबाट उपभोक्ताको माग आपूर्तिमा सहज भएको तथा पालो कुरेर बेरोजगार बसिरहेका यहाँका सयौँ सवारी चालकलाई थप रोजगारी मिलेको छ ।

बडादशैँलाई केन्द्रित गरी नेपाली व्यवसायीले आयात गराएको सामग्रीमध्ये दुई कन्टेनर दाँतेओखर र ४६ कन्टेनर तयारी पोशाक रहेको प्रहरीले जनाएको छ । यस्तै अन्य सात कन्टेनरमा भने नेपालमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाका सामग्री रहेको भन्सार अधिकारीले जनाएका छन् ।

व्यापारीलाई परेको मर्का समाधान गरी रोकिएर बसेको सामग्री कूटनैतिक पहलबाट दशैँअगावै आयात गर्न सहजीकरण गरिदिनुहुने परराष्ट्रमन्त्रीलगायत सबै अधिकारीमा व्यापारीका तर्फबाट धन्यवाद ज्ञापन गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिनुभयो । नेपाल भित्रिएका सामान ढुवानीका लागि सयौँ कन्टेनर रसुवागढी तथा टिमुरे क्षेत्र पुगिसकेको र चिनियाँ एक कन्टेनर सामग्रीले नेपाली दुई कन्टेनरलाई वजन पुग्ने सीमा प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनबाट आयात भएका सामग्री पासाङल्हामु मार्ग अवरूद्व भएपछि सबै कन्टेनरलाई स्याफ्रु, मैलुङतर्फबाट काठमाडौँ पठाइएको बताउनुभयो । भारी वर्षाका कारण मैलुङ खण्डको जीर्ण राजमार्गलाई गल्छी, त्रिशूली, रसुवागढी सडक सुधार आयोजनाको रेखदेख गरिरहेको छ । अर्काेतर्फ समस्या पर्दा दुई सय १६ मेगावाट अपरत्रिशूली वान जलविद्युत् आयोजनाको समेत सहयोग मिल्ने भएका कारण मालवाहक कन्टेनर डिब्बा मैलुङतर्फबाट काठमाडौँ पठाइएकोे छ ।

गत साउन २४ गते रातिको वर्षाले क्षतिग्रस्त रसुवाको बनुवा घुम्ती खण्डको पासाङल्हामु मार्ग भने छिटो छरितो पुनःनिर्माण भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । ग्यावियन जाली भर्ने काम ८५ प्रतिशत पूरा भएको प्राविधिकले जानकारी दिएका छन् । सडक सतहमा माटो भर्ने, रोलरले माटो थिच्ने र ढुङ्गा सोलिङ गर्ने प्रक्रिया अगाडि बढेको बताइएको छ ।

बनुवा घुम्तीको पासाङल्हामु मार्ग बन्द भएपश्चात् उत्तरी रसुवाको विकास निर्माणका कार्य ठप्प हुनुका साथै उपकरण ढुवानी गर्न नपाउँदा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनासमेत प्रभावित भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)