मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१५औं महाधिवेशनमा सक्रिय सहभागिताका लागि सभापति गगन थापाको आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ ३०, २०८३
  • 47
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रसम्मका अधिवेशन प्रक्रियामा कुनै अलमलमा नपरी उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।

 

 

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न हुँदैछ।

थापाले नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा प्रचलित कानूनबमोजिम हुन लागेको महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको वृहत्तर हितका लागि संवाद, सहमति र अधिवेशन प्रक्रियामा सक्रिय रहेका सबै नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्।

उनले लोकतन्त्रमा फरक मत हुनु स्वाभाविक रहेको उल्लेख गर्दै पार्टीभित्रका मतभेद र असमझदारीलाई संवाद, विधि र पद्धतिमार्फत समाधान गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन्। “फरक मतलाई स्वीकार गरेर विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा नेपाली कांग्रेसमा रहँदै आएको छ,” थापाले आह्वानमा भनेका छन्।

सभापति थापाका अनुसार महाधिवेशनमा सबैको सहज र उत्साहपूर्ण सहभागिता सुनिश्चित गर्न तथा कुनै पनि कांग्रेस सदस्य प्रक्रियाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले केन्द्रीय कार्यसमितिले पार्टीभित्र संवाद र सहमतिको वातावरण निर्माण गर्न अधिकतम प्रयास गर्दै आएको छ।
उनले महाधिवेशन नै पार्टीको आन्तरिक जीवनमा सबै सदस्यलाई सहभागी गराउने उत्तम लोकतान्त्रिक विकल्प भएको उल्लेख गर्दै यस प्रक्रियाबाट फरक विचारको सम्मान र उचित विचारको अनुमोदन हुने विश्वास व्यक्त गरेका छन्।

पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्य सहभागी हुन पाउने 

थापाले पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ साल पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको जानकारी दिएका छन्।

उनका अनुसार त्यसैअनुसार सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ। निर्वाचन अधिकृतहरू पनि जिल्लामा खटिइसकेका छन्।

पूर्वकेन्द्रीय कार्यसमितिका सदस्यलाई पनि सहभागिताको व्यवस्था

विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा सदस्यका रूपमा समावेश गर्ने निर्णय भइसकेको थापाले बताएका छन्।

भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट गरिएको उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भएको उनको भनाइ छ।

यसकारण उनीहरूले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन पाउने भन्दै थापाले कुनै द्विविधा नराखी असोज ३ र ४ गते हुने वडा अधिवेशनलगायत निर्धारित कार्यतालिकाअनुसारका सबै अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्।

‘बलियो कांग्रेस निर्माण गरौँ’

सभापति थापाले महाधिवेशनमार्फत सामूहिक प्रयासबाट पार्टीलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रका चुनौती सामना गर्न सक्ने बलियो कांग्रेस निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले असोज ३ गते वडाबाट सुरु हुने महाधिवेशन अभियानलाई असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनसम्म सौहार्दपूर्ण र हार्दिक वातावरणमा सम्पन्न गर्न सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई अपील गरेका छन्।

“वडादेखि केन्द्रसम्मको महाधिवेशनको यो महाअभियानमा हार्दिकता एवं उच्च मनोबलका साथ सहभागी हुन सम्पूर्ण कांग्रेस साथीहरूलाई पुनः आग्रह गर्दछु,” थापाले आह्वानमा भनेका छन्।

42c2b7bc-c210-479c-82d9-d7bcd83bed44-1789483412.jpg

8294807d-dcb0-4692-be27-cd3b1fbc1e75-1789483411.jpg

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)