रसुवा, २२ असोज । रसुवामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि मुख्य राजनितिक दलले उम्मेदवार टुङ्ग्याएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि भोली (आइतबार) उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएसँगै जिल्लामा रहेका मुख्य राजनितिक दलले उम्मेदवारको नाम टुङ्गो लगाएका हुन् ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट ई. मोहन आचार्यले उम्मेदवारी दिने भएका छन् । उनी २०७४ सालको निर्वाचनमा पनि प्रतिनिधि सभा सदस्यका लागि रसुवाबाट निर्वाचित भएका थिए ।
त्यसैगरि प्रदेश सभा क्षेत्र क मा नेपाली कांग्रेसका प्रभात लामाले उम्मेवादी दिने भएका छन । भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन् ।
त्यसैगरि नेकपा एमालेले पनि संघ र प्रदेशका उम्मेदवारको नाम टुङ्गो लगाएको छ । प्रतिनिधि सभा सदस्यका लागि छोवाङ तेन्जिन तामाङलाई उम्मेदवार बनाउने भएको छ । प्रदेश सभा क्षेत्र क मा कुलप्रसाद भट्ट र प्रदेश सभा क्षेत्र ख मा तेम्ब्रेल तामाङले उम्मेदवारी दिने भएका छन् ।
जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका गतिविधिहरु सुरु भइसकेका छन् । मुख्य दलले मनोनयन दर्ताका लागि तोकिएको समयावधिभित्रै मनोनयन दर्ता गराउने तयारी गरेको जनाएका छन् ।
