
रसुवा – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं रसुवाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार ईन्जिनियर मोहन आचार्यले राजनीतिक स्थायित्व र विकासकालागि गठबन्धनलाई भोट दिन आग्रह गर्नुभएको छ । रसुवामा आयोजित चुनावीसभामा उहाँले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताउनुभयो ।
रसुवाको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेद्वारहरूलाई जिताउनुको विकल्प नरहेको भन्दै उहाँले रसुवाको विकास र समृद्धिका लागि नै आफु राजनितिमा आएको बताउनुभयो ।
विगतमा एमाले सरकारले आफुले अगाडि बढाएका सबै आयोजनाहरूलाई राजनीतिक ढंगबाट मात्र हेरेर रोक्ने प्रयास गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले कांग्रेस नेतृत्वको सरकार बनेपछि सबै आयोजनाले गति लिन थालेको बताउनुभयो । विकासका काममा बढी राजनीति गर्ने परिपाटीले विकासमा रसुवा पछाडि परेको भन्दै आफ्नो एक मात्र उदेश्य रसुवाको सवृद्धि र रसुवालीको समुन्नती रहेको बताउनुभयो ।
कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।
अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो ।
त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उहाँले बताउनु भयो ।
बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।
भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताउनु भयो।
रसुवाको विकास र समृद्धिका लागि आफुले उम्मेदवारी दिएको उहाँले बताउनुभयो । रसुवाली जनताको जीवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उद्देश्य रहेको समेत उहाँले बताउनुभएको छ । निर्वाचन पछि बन्ने सरकारले रसुवामा अधुरा रहेका सबै विकास आयोजनाहरूलाई पूर्णता दिने समेत उहाँले बताउनुभयो ।
पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन बनेको बताउदै उहाँले देशमा सुशासन कायम गरि भ्रष्टाचार नियन्त्रणका लागि पाँच दलीय गठबन्धन अपरिहार्य रहेको बताउनु भयो।