रसुवा ,पौष ८ शुक्रबार
-आशिष तामाङ
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा स्थानीय स्तरमा हुने बिपद जोखिम न्युनिकरणको असल अभ्यास,चुनौती र अन्तर पहिचान एवं पूर्वतयारी सम्बन्धी दुई दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
युरोपेली युनियन मानविय सहयोग विभागको आर्थिक सहयोगमा संचालित प्रतिबद्ध -२ परियोजनाले उक्त कार्यशाला गोष्ठीको आयोजना गरेको हो।
परियोजनालाई सामुदायिक आत्मनिर्भर केन्द्र,पिपुल इन निड,सेभ द चिल्ड्रेन र स्कट विल्सन नेपालको कार्यन्वनमा संचालित छ्न।
कार्यशाला नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्बु स्याङ्बो घलेको सभापतित्वमा सम्पन्न भएको हो।
स्थानीय स्तरमा भएको साना साना बिपत्ति देखि लिएर ठुल्ठुला बिपदको घटनाहरुलाई अबको दिनमा पूर्वतयारी गरेर अघि बढ्नुपर्ने नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङ्बो घले ले बताउनुभयो।
विकास निर्माणको सम्पूर्ण संरचनाहरु निर्माण गर्दा पनि दिगो हिसाबले गर्नुपर्ने र भौगर्भिक अध्ययन एवं प्राविधिक अध्ययन अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
कार्यशालामा गाउँपालिक उपाध्यक्ष चन्द्र बहादुर तामाङ,प्रमुख प्रशासकीय अधिकृत,सवै वडाको वडाध्यक्षहरु र गाउँपालिका स्थित बिषयगत शाखाहरुको शाखा प्रमुखहरुको उपस्थिति थियो।
साथै स्थानीय प्रहरी चौकी ईन्चार्ज, स्थानीय संघ संस्थाका आमा समूह,पत्रकार तथा युवा क्लबका प्रतिनिधिहरुहरु गरी ५१ जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि भए गरेका विद्यमान नीति नियम,बजेट तथा कार्यक्रम र यसको कार्यान्वयनको पाटोमा देखिएका चुनौती एवं प्रदेश र संघीय सरकारसँग गर्न सकिने सहकार्यको विषयमा छ्लफल भएको थियो।
विपद्ले विद्यमान सामाजिक सुरक्षा कार्यक्रममा पारेको असर र त्यसको समाधान, विपद्को समयमा सामाजिक सुरक्षा कार्यक्रम छिटो छरितो कम र खर्चिलो बनाउने उपायहरू विषयमा पनि छलफल भएको थियो।





