
काठमाडौं । बागमती प्रदेशका सामुदायिक विद्यालयमा सिक्दै कमाउँदै एवं कमाउँदै सिक्दै कार्यक्रम सुरु गरिने भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालय हेटौँडाले चालु आर्थिक वर्षमा यो कार्यक्रम लागू गर्न लागेको हो ।
शिक्षा व्यावहारिक र जीविकोपार्जनसँग जोड्ने उद्देश्यले प्रदेशका विद्यालयमा निर्देशनालयले कूल १ करोड ८१ लाख ५० हजार रुपैयाँ खर्च गरेर विद्यालयमा आएका विद्यार्थीलाई जीविकोपार्जनमा जोड्ने गरी कार्यक्रम गर्न लागेको शिक्षा विकास निर्देशनालय हेटौँडाका निर्देशक पूर्णबहादुर दर्जीले जानकारी दिए । यो कार्यक्रम लागू गर्न कार्यविधि बन्ने चरणमा रहेको छ ।
विशेषगरी विद्यार्थीलाई कृषि र प्रविधिसँग जोड्ने कार्यक्रमका लागि लगानी गर्ने र त्यसबाट भएको आम्दानीको ५० प्रतिशत विद्यालयको कोषमा राख्ने र ५० प्रतिशत विद्यार्थीलाई उपलब्ध गराउने गरी कार्यक्रम गर्न लागिएको निर्देशक दर्जीले बताए । सामुदायिक विद्यालयले विद्यार्थीलाई कृषि र पशुपालनसँग सम्बन्धित काम गराउनका लागि सहज हुने र यसै कार्यक्रममा पनि जोड दिइएको उनले बताए।
गत आर्थिक बर्षमा यो कार्यक्रम सामाजिक विकास मन्त्रालयले गरेको र चालु आर्थिक बर्षमा भने यो कार्यक्रम निर्देशनालयले गर्न लागेको जनाइएको छ । विद्यार्थी विद्यालयमा पढेर बाहिर निस्कँदा जीविकोपार्जन गर्न सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गर्न लागिएको बताइएको छ । अबको दिनमा कुन काम गर्न चाहेको हो विद्यालयसँग आवेदन माग गरेर यो कार्यक्रम लागू गरिने निर्देशनालयले जनाएको छ ।