समालोचकको आँखामा रमेश विकल – गोपी मैनाली
विषय प्रवेश
साहित्यमा समालोचनाको महत्व यति धेरै छ कि यसको अभावमा सर्जकका प्रयोग र दृष्टिकोणको मूल्य निर्धारण हुँदैन । ओथेलोमा विलियम शेक्सपियरले भनेका थिए ‘समालोचनाविना म केही होइन’ (आइ एम नोथिङ इफ नट क्रिटिकल) (चामलिङ, मौलो, पृ ११२) । यस्तै धारणा लक्ष्मीप्रसाद देवकोटाले पनि राखेका छन्–‘सृजनात्मक प्रयासको सुनौला बाली कुन हो मान्छेले जाँचेको छैन, त्यसकारण विना समालोचना हामी उपरफापर गछौं, सहलिया दौडमा छौ, हाम्रो नाम छैन, हाम्रो लगाम छैन….हामी सिर्जनाभन्दा समालोचना चाहन्छौंं’ (ऐ पृ १२०) । दुुई महाकविको धारणाबाट सािहत्य र समालोचनाको सम्बन्ध, सालोचनाको आवश्यकता र अर्थवत्ता सिद्ध हुन्छ । यस्तै दृष्टिकोण टि एस इलियटको पनि छ । समालोचक साहित्यका गहन आस्वादकर्ताका साथै सिर्जनाका प्रेरक र मार्गदर्शक पनि हुन् ।
समालोचनाका सन्दर्भमा छि एस इलियटको मत पूर्ण छ । उनका अनुसार समालोचनाका दुुई किनार छन्, एउटा काव्य के हो भन्ने उत्तर दिने जमर्को गर्छ । अर्को के त्यो असल काव्य हो भन्ने गर्दछ । यसले सौन्दर्यशास्त्रसंग व्यवहार गर्दछ, सािहत्यका मूलभूत सिद्धान्तसित सम्बन्धित छ (मौलो, पृ ११३) । समालोचना समीक्षा होइन । समीक्षाले कुनै वस्तु वा विषयलाई सम्यक रूपले परीक्षा गर्दछ, समालोचना त्यो भन्दा बृहत् कुरा हो, यसले सौन्दर्यका मूल्य निर्धारण र विश्लेषण र निर्णयसम्मलाई बताउँछ ।
समालोचक तथा समीक्षकहरू सिर्जनाको मूल्याङ्कन गर्छन्, विश्लेषण गर्छन् र मूल्य निरूपण गर्छन् । समालोचना सर्जक र सिर्जनाको मूल्य विवेचना गर्ने पद्धति हो । समालोचकहरू द्रष्टा मन लिएर सािहत्यको पुनसिर्जना गदृछन् । अहिले समालोचना संरचनाकेन्द्रित बन्दै गएको छ । मूल्य विवचेना गर्ने काम सापेक्षिक रूपमा जटिल हो, यसले अध्ययन र अनुसन्धानको माग गर्दछ । समालोचनाका पाठक पनि कम हुन्छन्, समालोचनाको आशय पनि फरक हुन्छ । हिजो पनि समालोचनालाई सिर्जनाभन्दा कम महत्व दिइन्थ्यो । आजभोलि समालोचनालाई झनै कम महत्व दिइदैछ ।
कतिपयको अभिव्यक्तिमा सिर्जना गर्न नसक्नेले समालोचना लेख्छन् भन्ने छ, जुन सर्वथा गलत हो । सिर्जनालाई प्रकाश पार्ने, विवेचना गर्ने, सही मूल्यचेतना दिने काम समालोचनाले गर्दछ । समालोचक सिर्जनाको न्यायाधीश हो । न्यायमूर्तिहरू वास्तविक रूपमा न्यायिक मन र न्यायिक सामथ्र्यको उचाइमा रहेमा समालोचनाको महत्ता स्वतः बढ्छ । अहिलेका संरचनाशैली वा निश्चित प्रोटोटाइपमा खालि ठाउँ भरिएका समालोचनाले आफैलाई आलोचना गर्ने ठाउँ दिएको छ । कक्षानोट शैलीका कृति समीक्षा गर्ने प्रवृत्तिको हावीले समालोचनाको ओज घटाएको छ । गहन समालोचनाले समाज, सिर्जना र सर्जकप्रति न्याय गर्न सक्दछ । अर्को, समालोचना सिर्जना मात्र होइन, पुनर्सिजना हो । यसले सिर्जनाका कुना–कोण, दृष्टि–बिम्ब र मूल्य–सिद्धान्तको विवेचना गरी सिर्जनामाथि अर्को सिर्जना गरिदिन्छ । त्यसैले यसलाई सिर्जनाबाट छुट्याउन हुँदैन ।
दोस्रोखाले अभिव्यक्ति पनि छ, हिजो साहित्य जटिल थियो, त्यसैले समालोचना आवश्यक थियो, अहिले सिर्जना सरल भएर गएको छ, यस परिस्थितिमा साहित्य विवेचना गर्न स्वयम् पाठक सक्षम छ भन्ने तर्क छ । यो पनि यस अर्थमा सही होइन कि पाठकीय वृत्ति र समालोचना फरक विषय हो । यो पाठक प्रतिक्रिया होइन, समग्र सिर्जना कार्यको नै मूल्यविवचेना हो । कृतिको मूल्यविवेचना र कृतिकारका प्रवृत्ति विलेषण गर्नसक्ने गहन समालोचनाले नै समग्र साहित्यप्रति न्याय गर्नसक्छ । त्यहीखाले समालोचनाको आवश्यकता अहिले छ । समालोचकले पाठक, बजार र व्यक्ति हेरेर समालोचना विधाप्रति अन्याय गर्नु हुँदैन ।
समालोचक भावयित्री प्रतिभा हुन्, कारयित्री प्रतिभा चाँहि स्रष्टा हो । स्रष्टा प्रतिभा र द्रष्टा चेतना यानेकि कारियित्रीहरू भावयित्री पनि भए सिर्जना सवल हुन्छ । समालोचक आफै सर्जक पनि भयो भने उसले सिर्जनामाथि न्याय गर्न सक्दछ । यस अवस्थामा उसले सिर्जना र सिर्जनामूल्यको प्रयोगको यथार्थ अनुुभूति पाउने गर्दछ । नेपाली साहित्यमा सिर्जना र पुनसिर्जनालाई साथै लैजाने व्यक्तिहरू पनि छन् । जस्तो कि इन्द्रबहादुर राई कथास्था, कठपुतलीको मन र विपना कतिपय मार्फत कथाको सिर्जना साथै कथामूल्य पनि प्रयोग गरिरहेका छन् । आज रमिता छ मार्फत आफ्नै मूल्याङ्कनको औपन्यासिक मूल्य प्रयोग गरिरहेका छन् । सिर्जनाचेत र मूल्यचेतले खारिएकाहरू साहित्यका विधाहरूमा निख्खर खारिन्छन् । समालोचना चिन्तन र सिर्जनाका आफ्ना उचाइमा हुन्छन् । अरूलाई न्याय गर्ने समालोचक आफ्नै सिर्जनालाई कसरी न्याय (प्रयोग) गरिरहेको छ भन्ने हेर्न राईका कथा, उपन्यास, निबन्ध र समालोचना हेर्न सकिन्छ । युवराज मैनालीका लघुकथा उनले समालोचनामा व्यक्त गरेका साहित्य चेतका प्रयोग पनि हुन् । लघुकथा ‘पृथक बाटो’ मा त्यो देख्न सकिन्छ । युवा साहित्यकार महेश पौडेलले प्रयोग र प्रयोग सिद्धान्त दुवैलाई समाएका छन् । नेपाली साहित्यका उज्ज्वल नक्षत्र महाकवि लक्ष्मीप्रसाद देवकोटा र अङ्ग्रजी साहित्यका महान स्रष्टा शेक्सपियरले समालोचनाको महत्व बताउँदै आफ्ना प्रयोगमा त्यसलाई सिद्ध गरेका छन् ।
भिक्टोरियाकालीन अग्रेज साहित्यकार मेथ्यू आर्नोल्ड सर्जक र पुनसर्जक थिए । आधुनिक समालोचकका रूपमा ख्याति कमाएको आर्नोल्ड धुरन्धर कवि पनि थिए । अग्रेजी समालोचनाका पिता कहलाइएका जोन ड्राइडेन सािहत्य सिद्धान्तको प्रतिपादन र त्यसको प्रयोग आफ्ना कविता गर्दथे । स्रष्टा रमेश विकलका आफ्नै मान्यताहरू सम्वार्ताहरूमा दिएका छन् र त्यसैको प्रयोग कथा, उपन्यास, नाटक निबन्धहरूमा गरेका छन् ।
तर सबै सर्जक समालोचक बन्दैनन्, यद्यपि उनीहरू समालोचकीय चेतबाट पृथक रहनु हुँदैन । कला सिद्धान्त र मानकको प्रयोग समालोचना र सिर्जना दुवैमा हुन्छ, हुनुपर्दछ । सिर्जना प्रयोग गर्छ, समालोचना त्यो प्रयोगको विवेचना गर्दछ ।
समालोचनाका विभिन्न पद्धति छन् । तुलनात्मक, विवेचनात्मक, संरचनामूलक, प्रभावमूलक, ऐतिहासिक, अन्वेषणमूल, मिश्रित आदि । समालोचनाका आयामहरू फरक हुनसक्छन् तर समालोचनाको मूल्य खोज, व्याख्या, विश्लेषण मूल्याङ्कन हो । प्रयोग मूल्य, महत्ता, दृष्टिकोण र संरचनाको यौगिक निष्कर्षबाट सिर्जना र सर्जकको समालोचना गर्न सकिन्छ ।
समालोचनामा रमेश विकल
विकलको कृतित्व र व्यक्तित्वलाई समालचोकहरूले कसरी लिएका छन्, सोको आधारबाट उनको प्रवृत्ति र योगदान थाहा पाउन सकिन्छ । विकलका कथा, उपन्यास, बालसाहित्य, नाटक र निबन्ध (संस्मरण तथा नियात्रा) माथि धेरै विद्वान विवेचकहरूले समालोचना गरेका छन् । यसरी समालोचना गर्नेहरूमा उनको पुस्ता, अगिल्लो पुस्ता र पछिल्लो पुस्ताका साहित्यकारहरू रहेका छन् । ती समालोचनामध्ये कतिपयमा सम्यक मन र मूल्यपरक मूल्याङ्कन भएका छन्, कतिपय आग्रहमा अधिमूल्यन वा अवमूल्यन पनि पाइन्छ । विकलका विवेचकहरू सबैको समालोचना, समीक्षा, चर्चा, विवेचना उल्लेख गर्न यहाँ सम्भव छैन, प्रमुख समालोचक र उनीहरूको दृष्टिकोण प्रस्तुत गर्नाले उनीप्रति न्याय अन्याय के भएको थियो भन्ने बोध हुनसक्दछ ।
(क) तारानाथ शर्माको दृष्टिमा कथाकार रमेश विकल : तारानाथ शर्माको ‘घोत्ल्याइँहरू’ समकालीन नेपाली साहित्यका प्रमुख साधकहरूका विषयमा केन्द्रित समालोचना सङ्ग्रहमा नेपाली कथा साहित्य विवेचनामा रमेश विकलप्रति दुुई प्रकारका दृष्टिकोण राखिएको छ । पहिलो दृष्टिकोणमा शर्मा सामाजिक कथाहरूमा विकललाई आशावादी अनुहारका रूपमा देख्छन् भने यौनविश्लेषणात्मक कथाहरूका सम्बन्धमा नकारात्मक धारणामा छन् । उनले भनेका छन् ‘रमेश विकलको प्रतिभा भञ्ज्याङ्को चौतारो, बुढो बकैनाको रुख जस्ता कथाहरूमा लगाउन पाए आधुनिक नेपाली कथा साहित्यले उहाँबाट ठूलो योगदान पाउन सक्ने थियो । तर उहाँ पनि यौन उत्तेजनाका चित्रणतर्फ विशेष रूपमले लागेर बरालिन लाग्नुभएको देखिएको छ ।’ (घोत्ल्याइँहरू, पृष्ठ ८९) ।
तारानाथ शर्मा सिर्जनाको विवेचना गर्दा सर्जकको जाति, समय र समाजप्रतिको इमान्दारितालाई आधार मान्नुपर्ने मान्यतामा छन् । ‘लेखकले आफ्नै समाजको बारेमा र आफ्नै युुगका बारेमा इमान्दारीपूर्वक प्रगतिशील पक्षलाई अँगालेर लेख्यो भनेनै ऊ योग्य ठहरिन्छ र प्रशंसित हुन्छ’ (ऐ प ९९) । तारानाथ शर्मा लेख्छन् ‘विरानो देशमा’ मा सामन्तवादविरोधीका रूपमा देखापर्नु भएको थियो । यस युुगीय समस्यालाई चित्रण गर्ने रूपमा ‘नयाँ सडकको गीत’ मा पनि उस्तै हुनुहुन्छ तापनि केही फरक उहाँमा आइसेकेको छनक पाइन्छ । ….सामन्तवादको विपक्षी भएपनि सोझै फलाको नहालेर बढ्ता कलात्मकता, सीप र सौन्दय पट्टि ढल्को छन्’ (रमेश विकलका कथा, घोत्ल्याइँहरू, पृ १००) ।
तारानाथ शर्मा विकललाई प्रगतिशील लेखकका रूपमा हेर्न चाहन्छन् र उनको प्रगतिशीलता मापो सामाजिक उत्पीडानके भौतिक पक्ष हो । त्यसको आन्तरिक पक्ष, मनोसंरचनात्मक पक्ष होइन । गाउँको विपद मात्र हो, शहर बजारमा वर्षौदेखि खातिएका विकृति होइन । साथै शर्मा आफ्नो भनाइमा स्थिर पनि छैनन् । फुटपाथ मिनिस्टर, मेरी कान्छी माइजू, उसकी स्वास्नीको छोरो जस्ता कथाहरूलाई पनि अघिल्लो मान्यता पर गएर प्रशंसा गर्दछन् । यौन अतृप्तिमा भुतभुतिएको मानिसलाई (जस्तो कि मेरी कान्छी माइजू) विकृत मानसिकता पनि देख्छन्, ‘उसकी स्वास्नीको छोरो’ लाई भने ‘सामन्त कुरीति’ माथि झापट भन्दछन् । ‘यौनमनोविज्ञानमा विकलका कथाहरू त्यति अघि बढ्न सकेका छैनन् तापनि प्रतिंिहंसा, मेरी कान्छी माइजू, आकाशमा तारा छटपटाइरहेका थिए निक्कै राम्रा छन्’ (ऐ पृ ११३) । तर उर्मिला भाउजू, रानी साहेवका् तस्वीर, कमल, मधुमालतीको कथा, फुटपाथ मिनिस्टर, मेरो एकजना विचरा पत्नी पीडित साथी पनि मनौवैज्ञानिक रूपमा त्यत्तिकै सशक्त छन्, सौन्दर्य र वासनाको चेतले यौनमनोवैज्ञानिक बनाएको छ ।
(ख) रत्नध्वज जोशीको दृष्टिमा कथाकार रमेश विकल : रत्नध्वज जोशीको ‘नेपाली कथाको कथा’ प्रतिनिधि कथाकारहरूको प्रमुख संरचनागत प्रवृत्ति (कथा वस्तु र कथानक, कथाकाको भाषा, शीर्षक, आदि र अन्त्य, कथाकारको क्षेत्र, कथाशिल्प र जीवन दर्शन, कथाको पात्र, कथाको परिवेश, श्रेष्ठ कथाका प्रमुख लक्षणहरू, पात्रकार्य र घटना, कथावस्तु आदि) का विषयमा विवेचना गरिएको कृति हो । कृतिमा नेपालका प्रमुख कथाकारहरू पुष्कर शमशेर,गुरुप्रसाद मैनाली, विश्वेश्वर प्रसाद कोइराला, भवानी भिक्षुु, गोविन्दबहादुर मल्ल ‘गोठाले’, रमेश विकल, प्रेमा शाह, हृदयचन्द्रसिंह प्रधान, बालकृष्ण समहरू र विदेशी कथाकारहरू मोपासा, मेरिया रोड आदिको कथा प्रयोगलाई आधार मानेर नेपालीकथा रचनाको विवेचना गरिएको छ ।
रत्नध्वज जोशी कथालाई शिल्प, संरचना र कथा परिवेशबाट मूल्याङ्कन गर्दछन् । उनका अनुसार कथा श्रेष्ठ हुन अखण्ड एकता, बैचित्र्यको चमत्कार, गम्भीर सरलता, उद्दाम वेग, छरितोपन, सन्तुलित भाषा शैली, कथानकको चमत्कार तथा अध्ययन तथा चित्रणको परिपक्वता चाहिन्छ । यी प्रतीकरुग्ण भएका कथाहरू समय र देशको सीमा काटेर अमर भएका पाइन्छ । यी नै आधारको सेरोफेरोमा रहेर उनले नेपालका प्रतिनिधि कथाकारको प्रवृत्ति औल्याएका छन् । उनल रमेश विकलका प्रथम चरणका कथाको विषयमा भनेका छन् ‘रमेश विकलज्यूको ठूलो विशेषता हाम्रो गाउँले जीवनको अभावग्रस्त भागलाई कथा साहित्यमा अभिव्यक्त गर्नु हो । विकलको ‘विहानीपखको बत्ती’ मा यद्यपि शहरी जीवनको झलक पाइन्छ तथापि विकलज्यू यथार्थमा गउँले जीवन र त्यहको अभावग्रस्त दुखि, पीडित, नेपाली जीवनको कथाकार हुनुुहुन्छ’ (नेपाली कथाको कथा, पृ ११) ।
जोशीका अनुसार ‘जुन कुराको अनुुभव लेखकलाई बराबर हुन्छ, त्यही अनुरूपका कथाहरू कथाकारद्वारा लेखिन्छ’ (ऐ पृ ६७) । यसर्थ विकललाई ग्रामिण परिवेश, त्यहाँको सामन्ती संस्कार, त्यसमा पीडित पात्रहरूको दृश्यात्मक अनुुभव छ, घर परिवारको पृष्ठभूमिले पनि त्यही प्रकारको अनुुभव दिएको छ । त्यसलै उनी गाउँले समाजका चिकार हुन्, ग्रामीण यथार्थवाद उनको प्रवृत्ति हो । तर वृत्ति–व्यवसाय, विचार र सामाजिक क्रियाकलापमार्फत शहरी जीवनको पनि अनुुभव राख्छन् । यसै कारण गाउलै जीवनशैली मात्र होइन, शहरको पात्र–परिवेशले उनका काथमा स्थान पाएको छ । त्यसैले उनका कथारचनामा सामाजिक यथार्थवादी प्रवृत्ति पाइन्छ भन्नुपर्ने हुन्छ । भलैकि तुलनात्मक रूपमा शहर कम होला, तर गाउ मात्र छैन ।
कथाको श्रेष्ठताको अर्को प्रसङ्गमा जोशी भन्छन् ‘प्रतिभा दैवी विस्फोट हो, अनियन्त्रित घटना होइन । प्रतिभाको विकास व्यक्तित्वको अरू अङ्गहरूको तुलनामा हुँदैन, यसको परिपाकको फलस्वरूप व्यक्तिका अरू अङ्ग प्राय उसको मानवीय फस्टाउन रोकिन्छ । अरू दष्टिबाट होइन, एक एक कथाकारको दृष्टिबाट जीवनको भिन्न भिन्न भागलाई छुने जुन स्तरका जति थरिका कथाहरू विश्वेश्वरप्रसाद कोइराला र गोविन्दबहादुर मल्ल (गोठाले) बाट नेपाली भाषाले पाएको छ, त्यही स्तरका त्यति कथा अरूले दिएका छैनन् । साथै यी दुवैको विशिष्टता जति मात्रामा रमेश विकलका कृतिमा पाइएको छ त्यति यीभन्दा अगाकिा कथाकारहरूमा पाइन्नन् । ….विकल बिरुवाको चिल्लो पात हो’ (ऐ पृ ७३) ।
तर जोशीको दृष्टिकोणमा स्थायीत्व छैन । विकललाई यति मुुग्धकण्ठले प्रशंसा गर्ने जोशी कृतिको भूमिका खण्डमा निकै आलोचक र अनुदार पनि देखिएका छन् । उनी भन्छन् ‘रमेश विकलजस्ता लेखकको कलमबाट’ अस्तित्वको खोजीमा’ जस्ता भाँडभैलो वस्तु नयाँ कथाको नामले निस्कनु पाठकको समय बरबाद वा अपराधको भागी बन्नु हो । यदि यस्तै हो भने उनीबाट भविष्यमा नेपाली साहित्यले केही पाउने आशा गर्न सक्दैन’ । (ऐ पृ ख) ।
जोशीको दृष्टिकोण पनि तारानाथ शर्माको जस्तै खण्डीकृत र अस्पष्ट (अग्रहपूर्ण ?) छ । जोशी कथाकारको समग्र मूल्याङ्कन गर्नभन्दा पनि खास वा एकाध कथाको आधारमा दृष्टिकोण बनाएको देखिन्छ । विकलको गाउँले जीवनशैलीको कथाको उनी खुुलेर प्रशंसा गर्छन् तर अस्तित्वको खोजीमा भुतभुतिएको, मनोदशामा रहेको दुखी मानिसको कथामा भने निकै आक्रामक छन् । यसले उनको दृष्टिकोणमा सन्तुलन त देखिदैन, त्यसभन्दा पनि बढी समालेचकीय न्याय र निष्ठा राख्न नसक्दा सर्जकमाथि अन्याय हुने स्थिति पनि देखिएको छ । विकल त यस धर्तीमा छैनन्, उनका सिर्जना मात्र छन्, जीवित हस्तारक्षरका लागि समालोचकीय न्याय गर्न सकिएन भने त्यसले सिर्जनालाई आशाको बाटोमा लैजादैन ।
(ग) प्रतापचन्द्र प्रधानका दृष्टिमा कथाकार रमेश विकल : कथा प्रवृत्ति औल्याउँदा समालोचक प्रतापचन्द्र प्रधान विकललाई समाज र समयका सर्जक भन्न रुचाउँछन् । साहित्य सर्जकहरू समाजका चेतनशील वर्ग हुन् । त्यसैले उनीहरू जनअसन्तोष र क्रान्तिका भावहरूलाई साहित्यमा व्यक्त गर्दछन् । ‘राजनैतिक अस्थिरता र असन्तुलन, सामाजिक तथा आर्थिक विषयमता र कठिनाई, सामन्त मनोवृत्ति, शोषण, अन्याय र अत्याचारको विरोधमा नै साहित्य लेखन थालिरहेका हुन्छन्’ (नेपाली कथावलोकन, पृ १०७) । विकलको लेखकीय व्यक्तित्व निर्माणको समय २००६–०७ का सन्दर्भमा उनी भन्छन् ‘पारिवारिक बोझले विक्षिप्त उनको मानसिकतामा अझ त्यसबेलाको राजनीतिक उग्रताले गहिरो छाप पारेको हुनाले उनमा पनि प्रगतिवादी धारणा झन झन उग्ररूपले बढेर आउँछ । …मैनाली झै उनका पिता पनि अमिन भएकाले आफ्ना पिताका साथ नेपालका विभिन्न गाउँ–ठाउँमा घुम्ने अवसर पाएका विकलको अवचेतन मनमा ग्रामीण परिवेश रहिरहेकै हुन्छ । ..प्रारम्भदेखि नै आफेना कथामा ग्रामीण जीवनको चित्र उतार्नमा उनी सफल भएको देखिन्छ’ (ऐ पृ १०८) ।
प्रधान सहमत भएर विश्लेषण गर्दा प्रतिभा परिवेश र पर्यावरणको पनि उपज हुन्छ भन्ने सहज निष्कर्ष निकाल्न सकिन्छ । सिर्जनालाई सर्जकको पारिवारिक पृष्ठभूमि, बाल्यकालदेखि अवचेत तहममा रहेको भावना, उसले देखेभोगेको कुराले व्यक्तित्व विकास र जीवनशैलीमा प्रभाव पार्ने भएकाले नै शोषण उत्पीडनका विषय र ग्रामीण जीवनशैली विकलका प्रधान विषय बनेका छन् । उनका कथाहरू विरानो दशेमा, नयाँ सडकको गीत, आजफेरि अर्को तन्न फेरिन्छ, एउटा बुढो भ्याइलिन आशावरीको धुनमा, उर्मिला भाउजू, शव सालिक सहस्र बुद्ध, हराएका कथाहरू, हिमालको छहरा, समुद्रको छाल, कथादेखि कथासम्म, वा उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुन् मात्र होइन बाल साहित्यका कृतिहरू विक्रम र नौलो ग्रह (किशोर उपन्यास), अगेनाको डिलमा, एउटा कथा भन्नुन हजुर आमा, हजुर आमाका कथाहरूमा समेत त्यसको स्पष्ट प्रभाव देखिन्छ । साथै उनका संस्मरण र निबन्धहरू सात सूूर्य एक फन्को, मेरो अविरल जीवन गीत, नीलगिरिको छाँयाँमा पनि अरूति प्रभावहरू झनै उन्मुक्त भएर, अझ स्पष्ट दृष्टिकोणमा आएका छन् ।
विकलको प्रवृत्ति औल्याउँदै प्रधान भन्छन् ‘सातसाले क्रान्तिको आसपासको असन्तुलित राजनैतिक–सााजिक पृष्ठभूमिमा उदय भएका कथाकार रमेश विकल प्रारम्भमा नै प्रगतिवादी प्रवृत्तिका कथाकारका रूपमा देखा पदछन् । निम्न र मध्मवर्गीय जनजीवनमा आधारित उनका प्रारपम्भक कालस्न कथाहरूमा कथाकार मैनाली झै उनी पनि ग्रामीण समाजका द्रष्टा र चित्रकारका रूपमा कथा–पाठक समक्ष परिचित हुनपुुग्छन् । यस प्रसङ्गमा उनको पहिलो कथासङ्ग्रह विरानो दशेमा नाम पुस्तकभित्रका सङ्कलित कथाहरूमा सामाजिक तत्व र ्िरगतिवादी धारणाहरू एकसाथ मूर्त रूपमा स्पष्टिन आएका छन् । ..देस्रो कथाङ्ग्रह नयाँ सडकको गीत मा पनि प्रगतिवादी आदर्शहरू नपाइने होइन, तैपनि सामाजिकतातिरै बढ्ता उन्मुख यस सङ्ग्रहमा उनको प्रगतिवादी धारणा केही शिथिल हुन थालेको पाइन्छ’ .ऐ प १०९) ।
प्रधानले औल्याएका कुरामा हामी सहमत हुनसक्छौ कि विरानो देशमा पछि उनका कथाहरूमा सामाजिकतासाथ मनोश्लिेषण पक्षको हावी बढ्दै जान्छ । मनोदशाको रुमानी मानिस देखिन थाल्छ । त्यो पनि सामाजिकताकै आयम हो, तर भौतिक आयाम भने होइन । उनका दोस्रो चरणका आख्यानमा त्यो झनै मुखरित हुन्छ । सर्जकको मनोभाव, प्रभाव र सामाजिक वृत्तिले पनि ती कुरा सिर्जनामा आउने भए । यसलाई प्रगतिशीलताबाट पर गएकी भन्ने सन्देह राख्नुुभन्दा प्रतिभा परिपक्वताले आयामिक बनाएको हो भन्नु पर्छ जस्तो मलाई लाग्दछ । यो कुरालाई प्रधान अर्को प्रसङ्गमा स्वीकार्छन् ‘आफ्ना कथामा सामाजिक अनभूतिलाई यथावत रूपमा टिप्न सम्ने र कथागत रूप तत्वको प्रयोजनमा सचेततासमेत भएका कथाकार विकल नयाँ सडकको गीत कथा सङ्ग्रहमा ग्रामीण जिन्दगानीको गर्भ र ढुकढुकी व्यक्त भएको छ, …फेरि अर्को तन्ना फेरिन्छ का माध्यमबाट रतिरागात्मक चित्रणका साथ अमूर्त शैली अपनाउँदै …भिक्षुु, विश्वेश्वर गोठालेका कथामा पाइने यौनमनोविश्लेषणत्मक र रतिरागात्मक पक्षका क्षीण रूपहरू विकलका कथामा अझ उग्र हुनुपुग्छन्’ (ऐ प ११०) । र निष्कर्ष दिन्छन् ‘वास्तवमा उनको समुच्च कथाकारितालाई हेर्दा कथाकार विकलको कथाकारिताको मापदण्ड के हो त भन्दा मूलतः मैनाली, भिक्षु र गोठालेको कथाकारिताको अभीष्टता नै उनको उनको कथाकारिताको मापदण्ड हो । कथाकार मैनालीको सामाजिकता, भिक्षुको रतिरागात्मकता र गोठालेको मनोविश्लेषणत्मकताका सम्भावित क्षितिजहरू विकलका कथाकारितामा उघ्रिएको पाइन्छ’ (ऐ पृ १११) । यसरी प्रतापचन्द्र प्रधान कथाकार विकल (र उपन्यासकार विकलको पनि) समग्र सिर्जना मूल्यप्रति न्याय गर्न पुुग्छन् ।
(घ) डा.ईश्वर बरालका दृष्टिमा कथाकार रमेश विकल : नेपाली कथाको विकासक्रम, व्याख्या, विश्लेषण र सम्वादनमा डा. ईश्वर बरालको अग्रणी भूूमिका छ । ‘झ्यालबाट’ (संशोधित संस्करण २०२९) मा कथाका सम्बन्धमा आफ्ना दृष्टिकोण र अन्य विद्वान् र विवेचकहरूको मान्यताहरू समावेश गरी नेपाली कथाका आधुनिक कालका प्रथम चरणका प्रयोक्ताको कथा विवेचना एवम् सम्पादन समेत गरेका छन् । उनले पूर्वीय कथा अथ्र्याउने विद्वान् अमरसिंहको विचारदेखि पश्चिमी हथर्नबाट कथाको परिभाषा गर्दै आधुुनिक कथाको तत्वहरूको उल्लेख गरेका छन् । डा. बरालले कथाका उपकरण (तत्व) का रूपमा कथानक, क्रियाकलाप, चरित्र, घटना, सङ्घर्ष, परिवेशलाई उल्लेख गरेका छन् र यसैका आधारमा प्रमुख प्रयोक्ताहरूगुरुप्रसाद मैनाली, पुष्करशमशेर, बालकृष्ण सम, रूपनारायणसिंह, भिक्षु, लक्ष्मीप्रसाद देवकोटा, बदरीनाथ भट्टराई, पूर्णदास श्रेठ, भीमनिधि तिवारी, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद चापागार्इँ, विश्वेश्वरप्रसाद कोइराला, केशवराज पिंडाली, हृदयचन्द्रसिंह प्रधान, शिवकुमार राई, गंगाविक्रम सिजापति, पूर्णप्रसाद ब्राह्मण, तारिणीप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, विजयबहाुदर मल्लको कथा विवरण र छोटो विवेचना गरेका छन् । कालक्रमका रूपमा हेर्दा शारदा प्रकाशन समयदेखि २०१२ सम्मका कथा र कथाकार समावेश छन् । २००६ देखि नै नेपाली कथामा प्रवेश गरेका विकल भने यहाँ अटाएका छैनन् ।
तर पछि उनले विकलको कथाकारिताको वस्तुुतथ्यलाई औल्याएका छन् । विकलका कथामा सामाजिक चेतना र रोमान्सीय गरी दुुई प्रवृत्तिलाई औल्याएका छन् । उनका अनुसार ‘विकलका कथाको आदिश्वर हो–सामाजिक चेतना । यिनमा समसामयिक समाजमा हुन थालेका पारिवारिक विघटन औं पारम्परिक सम्बन्धभञ्जनका अनेक रूप पाइन्छनन् । यसले युुगबोध औ जीवनबोधको तीक्ष्णता जति उघारिएको छ, त्यति नै व्यक्तिका आन्तरिक सङघर्ष औ जीवनसङ्ग्रामको तुमुलता पनि प्रष्ट्याएको छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ८४) ।
हो, विकल सामाजिक चेतना र जीवन सङ्ग्रामलाई अभिव्यक्त गर्दछन् । उनको पहिलो गरिब, दोस्रो आँसुले भिजेको हासो र त्यसपछि लेखिएका कथाहरू जुन विरानो देशमा कथासङ्ग्रहमा समावेश छन्, नव्वे–दशकको समयचेत छ । त्यसपछिको नयाँ सडकको गीत र आज फेरि अर्को तन्ना फेरिन्छमा अर्को दशकको समयचेत छ । तीसको दशकमा लेखिएका कथा तथा उपन्यासमा त्यतिखेरको सामाजिक उकुसमुुकुस छ । अस्तित्वको खोजीमा पनि कथाघटना अघि बढेका छन्, केहीमा त विसङ्गतिवाद पनि देखिएको छ । समयले समाजलाई बदल्दै लगेको छ र जीवन सङ्घर्षका नयाँ पाटाहरू उघ्रिएका छन् । चालिसको दशकपछि जीवन यान्त्रिकतामुखी भयो, मनोग्रन्थी र पारिवारिक विग्रह, विरोध, वासना र आशक्ति–अनशक्तिका नयाँ रूपहरू देखिएका छन् । सामाजिक मानिसभन्दा मनभित्रको मानिसका छटपटी र उद्बुधीहरू घनत्वपूर्ण हुँदै आएका छन् । पचासको दशकपछि भने उनको रचना प्रवृत्ति धेरै कुराको यौगिक बनेको छ । लाग्छ रचनाकार समयसँग आफूपनि हिडिरहेको हुन्छ, त्यसको बिम्ब र बोध रचनामा देखिने नै भयो ।
विकल सामाजिक चेतनाका साथ रोमान्सीय प्रवृत्तिमा पनि उत्तिकै प्रखर छन् । उनी भन्छन् ‘यथार्थवादले निलिएका पात्रका संवेग औ संवेदनामा पनि उहाँको रोमान्सीय प्रवृत्ति परिलक्षित हुन्छ । समसामयिक विधिविधान औ मूल्यका घानमा परेका पात्रको चरित्रचित्रण औ तिनका वैयक्तिकताको प्रस्फुटन गरी जीवननिरीक्षण गर्ने प्रणालीका अन्तरालमा पनि विकलले आफ्ना रोमान्सीय प्रवृत्तिको प्रदर्शन गर्नुभएको छ’ (ऐ) ।
उनले रोमान्सीय प्रवृत्तिका प्रखर दृष्टान्तमा बिहानी पखको बत्ती, मेरी कान्छी माइजू जस्ता कथाहरूलाई अगि सारेका छन् । विशेषतः विकलका कथा रचनाको दोस्रो चरण (२०२० देखि २०३६ सम्म) का कथाहरूमा रोमान्सीय प्रवृत्ति देखिन्छ । जे होस्, डा.बराल विकलका दुुई प्रवृत्ति सामाजिक चेतना र रोमन्सीय चेतना हुुन् । दुवैमा सङ्घर्ष छ । पहिलोमा सामाजिक सङ्घर्ष, दोस्रोमा मानसिक वा अन्तरमनको सङ्घर्ष ।
डा. बरालले विकलका मूल्याङ्कनलाई संक्षिप्त विस्तृतता प्रदान गरेका छन् । बराल धेरै फँुुदा नगाँसी विवेचना–मूल्याङकनमा सटिक सूत्र उल्लेख गर्दछन् । यस दृष्टिमा डा. बरालको दृष्टिकोणमा विकल देखिएका छन् ।
(ङ) डा.दयाराम श्रेष्ठको दृष्टिमा कथाकार विकल : नेपाल प्रज्ञा प्रतिष्ठानको परियोजना अन्तर्गत समालोचक डा. दयाराम श्रेष्ठले तयार पार्नु भएको कृति नेपाली कथा र कथाकार (२०७०) मा नेपाली कथाका क्षेत्रमा विशेषतः आधुनिक कालदेखि उत्तर आधुनिककालसम्मका धेरै कथाकारहरूको संक्षिप्त विवरण र संक्षिप्त विवेचना भएको कृति हो । यसले कथाकारहरूको सम्पूर्ण विवरण र कथाकारको आयामिक मूल्याकन गर्न नसके पनि मूलभूत पक्षको धर्काैचित्र कोरेको छ ।
डा.श्रेष्ठ रमेश विकललाई मूलत आलोेचनात्मक यथार्थवादी सामाजिक कथाकारका रूपमा हेर्दछन् । उनले भनेका छन् ‘समाजका जटिल आर्थिक एवं मानवीय जीवनको पर्यवेक्षण गर्दै प्रगतिशील सामाजिक रूपान्तरणमा गहिरो आस्था राख्ने आलोचनात्मक यथार्थवादी कथाकार हुन रमेश विकल । …उनको सामाजिक चेतना प्रगतिवादी स्वरूपको भएकाले उनका कथाका पात्रहरूमा अधिकांश निम्न र मध्यम वर्गका हुनु स्वाभाविकै हो । मगन्ते, किसान, नोकर, साधारण गृहस्थी, निम्न तहको जागिरे, असह्य नरनारी, यौन व्यवसायी, बेरोजगारी, अशिक्षित नारी, गरिब जस्ता पात्रहरूका जीवनका पीडालाई उनले विभिन्न स्थितिमा राखेर यथार्थ चित्रण गरेका छन्’ (नेपाली कथा र कथाकार, पृ १०८) ।
डा. श्रेष्ठले विकलको प्रवृत्ति विश्लेषण गर्दा निकै संक्षिप्त, सङ्किर्ण र सतही दृष्टिकोण राखेका छन् । उनलाई आलोचनात्मक यथार्थवादी कथाकार भन्नु युक्तिसङ्गत हो तर सामाजिक चेतनामा प्रगतिवादी हुन गरिब, निम्न वर्ग, किसान, नोकर, मगन्ते जस्ता पात्रहरू मात्र पर्याप्त होइन, फेरि उनका उम्दा मानिएका कथाहरूमा यसकोटिका पात्रहरू मात्र छैनन् । रमेश विकल यथार्थवादी र प्रगतिशील प्रवृत्तिमा छन्, तर प्रगतिशीलताको अर्थ साँघुरो छैन । नेपाली साहित्यमा प्रगतिशीलता र प्रगतिवादलाई हेर्ने संक्षेत्र र भनिने भाष्य पुनर्वुझाइको पर्खाइमा रहेको यसबाट स्पष्ट हुन्छ । फेरि उनी भन्छन् ‘रमेश विकल प्रगतिवादमा प्रतिबद्ध कथाकार भएकाले कथामा गरिबी र यसबाट उत्पन्न हुने अनेक जटिल परिणामबारे सङ्केत गरिएको हुन्छ’ (ऐ पृ १०९) ।
साहित्य जीवनवादी हुन्छ र जीवन प्रगतिशील हुन्छ, त्यसका कोणहरू चेतनको सापेक्षमा रहन्छन् भन्ने भुल्नु हुन्न । उर्मिला भाउजू कि उर्मिला विपन्न होइन, मेरी कान्छी माइजू कि कान्छी माइजू पनि त्यति विपन्न होइन, उनीहरूले गरेको सङ्घर्ष गोरे, लिखुरे, सोभिते, किटी, लुरे आदिले गरेभन्दा कम छैन । हुनतः परियोजना कार्य अन्तर्गत तयार गरिएको कति भएकाले त्यहाँका शर्त सीमाहरूले पनि विस्तृत विवेचना–विश्लेषण गर्न सकिएन होला, जसको सङ्केत प्राक्कथनमा समालोचकले गरेका पनि छन् । तर के चाँहि सत्य हो भने विकलका मनोवैज्ञानिक कथाहरूलाई छुुटाएर मात्र उनको मूल्याङ्कन गर्दा सम्पूर्णता पनि समेटिदैन, उनीप्रति न्याय पनि पुग्दैन । चरित्र कार्यको विश्लेषणको आधारमा प्रगतिशीलतालाई हेर्दा पनि मनोदशामा भुतभुतिएर मुक्तिमार्ग खोज्ने, आन्तरिक सङ्घर्ष गर्ने, अग्रगामी चाहचेततर्फ अगि बढ्ने सोचवृत्तिलाई पनि छुटाउनु हुँदैन । विकलका बारेमा निष्कर्ष दिने सन्दर्भमा डा.श्रेष्ठ भन्छन् ‘वास्तवमा सामाजिक परिवेश र मानसिक अन्तःवृत्तिबीच अन्तर्सम्बन्ध देख्न सक्ने प्रतिभा जुन उनमा छ, त्यो महान् छ’ (ऐ पृ १०९) । यसले समालोचकीय सङ्गति देखाउँदैन ।
सुलेख मासिकको रमेश विकल अङ्क (२०७९) मा भने डा.श्रेष्ठ केही फराकिलो र यथार्थवादी दृष्टिकोण प्रस्तुत गर्दछन् । ‘निष्कर्षमा के भन्न सकिन्छ भने कथाकार रमेश विकल युुगीन यथार्थका एक कुशल शिल्पी हुन् । युुगीन धाराअनुसार आफूलाई आत्मसात गरेर जीवनको विसङ्गतिबोधलाई आफ्नो कथा साधनाको एक महत्वपूर्ण अङ्ग बनाउन सफल हुनु उनको उदारता र महानता हो’ (सुलेख, पृ३३) ।
(च) डा.खगेन्द्रप्रसाद लुुइटेलका दृष्टिमा रमेश विकल : भाषिक, सिर्जनात्मक, अन्वेषण र समालोचनामा वेगल स्थान राख्ने डा.लुइटेल समालोचकीय प्रवृत्तिमा भने संरचनावादी दृष्टिकोण राख्दछन् । नेपाली साहित्यमा संरचनात्मक समालोचनाका प्रतिष्ठाताका रूपमा रहेका डा.लुुइटेल समालोचनामा सरल, सम्पे्रष्य र सटिक रूपमा प्रस्तुत हुुने गर्दछन् ।
डा.लुइटेलले विकलका कथा, उपन्यास, नाटक, निबन्ध, बालसाहित्य सबैमा आफ्नो दृष्टिकोण राखेका छन् । विकलका कथाको प्रवृत्ति उल्लेख गर्दा तीनखाले प्रवृत्तिको चर्चा गर्दछन् । उनका अनुुसार ‘रमेश विकलका २०२० साल पूर्व र २०३६ पछिका कथाहरू सामाजिक यथार्थवादी धारामा केन्द्रित छन् र बीचका केही कथाहरूमा भने मनोवैज्ञानिक यथार्थवादी धाराभित्र पर्दछन्’ (नेपाली साहित्यका विशिष्ट साहित्यकारः रमेश विकल, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ २६) । पहिलो चरण (२०२० अघि) विकलका कथाहरू निख्खर सामाजिक यथार्थताको चित्रण गर्न केन्द्रित छन् । विरानो देशमा (२०१६) र नयाँ सडकको गीत मा सङ्ग्रहित कथाहरू तत्कालनि समाजको वस्तुुगत चित्रण गर्दछन् । तत्कालीन समाजको तहसोपानीय पक्ष र त्यसबाट प्रताडित मानिसको भोगाइहरूले सरल अभिव्यक्ति यस चरणका कथाहरूको विशेषता हो । दोस्रो चरण वा २०२० देखि २०३६ तिर भने मानिसको अन्तर्मनको सङ्घर्षले स्थान पाएका छन्, जसमा सामाजिक मनोविज्ञान, यौनमनोविज्ञान, मनोविकृत र यौनविकृतिहरूलाई चित्रण गरिएको छ, भनौं मनोदशाको मानिसलाई मुक्ति दिन खोजिएको छ । २०३६पछिका प्रयोगमा भने आन्तरिक र बाह्य द्वन्द्व, विद्रोह, सामाजिक सङ्क्रमणलाई निकास दिने अभीष्ट छ ।
विकलका तीन उपन्यास सुुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुनका सम्बन्धमा पनि डा. लुुइटेलको स्पष्ट दृष्टिकोण छ । सुुनौलीका सम्बन्धमा उनी भन्छन् ‘उति सुुगठित बस्तुुविन्यास र शिल्पसंरचना नपाइने यस उपन्यासमा सामाजिक यथार्थभन्दा बढी यौनिक उन्मादले प्रश्रय पाएको छ’ (ऐ पृ २९) । अविरल बग्दछ इन्द्रवतीका बारेमा उनको दृष्टिकोण छ ‘शोषणरहित सभ्य समाजको निर्माण गर्ने उद्देश्य भएको यस उपन्यासको कथानक तीव्र गतिमा प्रवाहित भएको पाइए तापनि उद्देश्य प्राप्तिको दृष्टिले यसको अन्त्य सशक्त हुन सकेको छैन’ (ऐ ऐ) । सागर उर्लन्छ सगरमाथा छुन का सन्दर्भमा भन्दछन् ‘..तत्कालीन पञ्चायती निरङ्कुशतको चित्रण र त्यसका विरुद्धमा सुरु भएको जनआन्दोलनको वर्णन छ । यसमा तत्कालीन पञ्चायती व्यवस्थाका आडमा हुने गरेका विकृति र विसङ्गतिहरूलाई उदाङ्गो पारेर देखाइएको छ’ (ऐ ऐ) ।
हो विकलको पहिलो उपन्यास सुनौलीमा शिल्पसन्धान कमजोर छ, दोस्रो अविरल बग्दछ इन्द्रावती मा उद्देश्य प्राप्त भएको छैन, त्यतिमात्र होइन, कतिपय निष्कर्ष पाठकले खोज्नुपर्नेगरी इन्द्रावतीकै अविरलतामा उपन्यास बगेको छ । उपन्यास अन्त्य भएको छैन । तेस्रो उपन्यास सागर उर्लन्छ सगरमाथा छुन मा ‘…परिवर्तनको दिशाबोध भएको’ छ । निष्कर्षमा डा.लुइटेल स्पष्ट छन् ‘वर्गद्वन्द्वको चित्रणभन्दा वर्गीय वैषम्यको चित्रण गर्न बढी रुचाउने रमेश विकल मूलतः सामाजिक यथार्थवादी उपन्यासकार हुन् । प्रवृत्तिगत आधारमा उपन्यासकार विकल कथाकार विकलबाट प्रभावित देखिन्छन् ।…कथाका तुलनामा उपन्यास केही शिथिल नै देखापर्छन’ (ऐ पृ ३१) । यो मूल्याङ्कन वस्तुवादी र न्यायपूर्ण छन्, समालोचकीय धर्म स्पष्ट छ । संरचनावादी समालोचक भएपनि संरचनाका सबै आयामको विश्लेषण भने गरिएको छैन ।
निबन्धकार रमेश विकल ‘..नियात्रामूलक, हास्यव्यङ्ग्यतात्मक र आत्मकथात्मक अभिव्यजना’ (ऐ पृ ३३) मा छन् । ‘विकलका नाटक एकाङ्कीमा पनि कथ्यलाई सरल ढङ्गले अगाडि बढाई आफ्ना सामाजिक यथार्थवादी दृष्टिकोण प्रस्तुत गर्नेतर्फ प्रवृत्त भएको देखिए पनि अन्य विधाका तुलनामा यिनको नाटक÷एकाङ्की सिर्जना अलि पछि नै परेको छ’ (ऐ पृ ३४) ।
बालसाहित्यका कृतिहरू ‘बालबालिकाहरूलाई शिक्षा र मनोरञ्जन प्रदान गर्ने उद्देश्यबाट अभिप्रेरित छन्…सामाजिक यथार्थवादी दृष्टिकोण कुनै न कुनै रूपमा मुखति भएको पाइन्छ’ (ऐ पृ ३५) ।
डा.लुइटेलले विकलालाई मूलतः कथाकारका रूपमा हेरेको देखिन्छ । कथाकार विकलको प्रवृत्तिको प्रभाव अन्य विधामा पनि परेको छ । कथाकार व्यक्तित्व फराकिलो र विशिष्ट छ । अन्य विधा पनि कथाजस्तै भएको भए हुने भन्ने गर्भित आशय उनको विश्लेषणमा रहेको छ । यो यथार्थ पनि हो । यसर्थ डा. लुइटेल डा ईश्वर बराल जस्तै सच्चा मूूल्याङ्कनकर्ता भएका देखिन्छन् ।
(छ) डा.कृष्णहरि बरालका दृष्टिमा कथाकार रमेश विकल : नेपाली साहित्य समालोचनामा सामाजिक र प्रगतिशील धार समाउने डा. कृष्णहरि बरालका अनुसार ‘..कथ्य र विषयको सुन्दर अनि कलात्मक संयोजनद्वारा वर्गविभेद देखाउने रणनीति नै रमेश विकलको मूूल प्रवृत्ति हो र यस अर्थमा उनी उत्कृष्ट आलोचनात्मक यथार्थवादी कथाकार सिद्ध हुन्छन्’ (विकलका कथामा आलोचनात्मक यथार्थवाद, रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ४५) । समालोचनाको क्रममा उनले उनी र नेत्र एटमले संयुक्त रूपमा उल्लेख गरेका आलोचनात्मक यथार्थबादका विशेषताहरू पनि उल्लेख गरेका छन् ः
(क) सामाजिक विकृति र विसङ्गतिहरूको यथार्थ चित्रण गर्नु,
(ख) समाजलाई पतनमा लैजाने तत्वहरूको सुुक्ष्म अन्वेषण गरी प्रकाशमा ल्याउनुु,
(ग) शोषण, दमन र भेदभावयुक्त प्रवृत्तिको विरोध गर्नु,
(घ) कुरीति, अन्धविश्वास, भ्रम तथा सडेगलेका विचारको निन्दा र आलोचना गर्नु,
(ङ) जनविरोधी, उछृङ्खल र व्यक्तिवादी प्रवृत्तिको भण्डाफेर गरी अरूतिसँग जुध्न चेता दिन,
(छ) यथार्थवादी जीवनदृष्टि प्रस्तुत गर्नु,
(ज) भाषाको स्वभाविकतामा जोड दिनु । (ऐ, पृ ३९) ।
डा. बरालले उल्लिखित आधारमा रहेर विकलका सिर्जनाको विश्लेषण गरेको छन् । धेरैजसे कथाहरूमा विकृत यथार्थप्रति आलोचना गरेको पाइन्छ, गरिब–दुखी, शोषित–पीडित पात्रहरूको समस्या मूल रूपमा उठान गरिएको छ । सामाजिक समस्याका कारणका रूपमा रहेका विभिन्न पक्षको उजागर गरिएको पाइन्छ । त्यसैले उनले भने झै सामाजिक समस्या समाधानको रणनीति विकलको आलोचनात्मक यथार्थवादको सार हो । तर डा.बरालको मूल्याङ्कनले पनि विकलको रचनाकारिताको सवै आयामलाई विश्लेषण नगरी आलोचनात्मक याथर्थवादमा मात्र केन्द्रित छ ।
(ज) डा. केशवप्रसाद उपाध्याका दृष्टिमा नाटककार रमेश विकल : विकलका नाटकहरूको विविध आयाममा रहेर डा.उपाध्याले विश्लेषण गरेका छन् । विकलको पहिलो एकाङ्की ‘मोडर्न हस्वैण्ड ः आइमिन आधुनिक पति’ (२०२०) देखि पचासको दशकसम्म लेखिएका सबै नाटकहरूको कथावस्तु, दृश्य, संयोजन, सन्देश, परिवेश सबैको रौचिरा विश्लेषण गर्दै डा.उपाध्याय निष्कर्ष निकाल्छन् ‘विकलको नाट्यकलामा प्रतीक र रूपकविधानको प्रवृत्ति विद्यमान छ र त्यो निकै सार्थक र सफल छ । उनी एकाङ्कीको शीर्षक राख्नमा पनि निकै सिपालु छन् । उनले राखेको शीर्षक, साङ्केतिक र अभिव्यञ्जनात्मक छन्, सुन्दर छन् र सार्थक छन्’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३६१) । मानव स्वभावका कारण समाजमा रहेको स्वार्थी, लोभी, घमण्डी, जातिवादी, वर्गवादी, अवसरवादी, पूजीवादी, सामन्ती,अर्धसामन्ती, साम्रज्यवादी जस्ता प्रवृत्ति समाज सुसांस्कृत छैन । विकल सामाजका यिनै पाटामा सुधार गर्न नाटक÷एकाङ्कीमा पनि केन्द्रित छन् । उनका मूल्याङ्कनमा ‘विकलका एकाङ्की नेपाली समाजको ऐतिहासिक विकासक्रम प्रस्तुत गर्ने सिर्जनात्मक प्रयासका प्रारम्भिक अभिलेखका रूपमा रहेका छन् । यिनमा समकालीन जीवनको चित्रणअन्तर्गत मुलुकमा क्रमिक रूपमा हुँदै आएको परिवर्तन र त्यस परिवर्तनसँगै देखापरेका सकारात्मक तथा नकारात्मक उपलब्धि एवम् समस्याहरूको चित्रण भएको छ । यिनमा नेपाली जीवनका सङ्घर्ष, व्यथा, वेदना, आशा, निराशा तथा हर्ष र विषदको प्रस्तुति र अभिव्यक्ति भएको छ’ (ऐ अन्तिम पृष्ठको उद्धरण) ।
डा.उपाध्यायले विकलको नाटक÷एकाङ्की प्रवृत्तिमा सामाजिक परिवर्तन, चेतना र यसले ल्याएका राम्रा नराम्रा पक्षको चित्रण गर्दै समाजका विकृति र बिब्ल्याटाहरू सुधार गर्ने सन्देश दिएको छ । प्रयोगमा स्थानीयता र आलोचनात्मक चेत राखिएको छ । निष्कर्षमा डा.उपाध्याय भन्छन् ‘विकलका एकाङ्की वस्तु, संरचना, दृश्यविधान एवम् शैलीशिल्पका दृष्टिले केही सामान्य छन्, केही मध्यम छन्, केही उच्च र उत्कृष्ट पनि छन्’ (पृ ३६३) ।
यसर्थ उनको नाटक÷एकाङकी कथा प्रयोगको भावभूमिमा रहन्छन् । तर कथा उपन्यास जत्तिकै सशक्त भने छैनन् । विकलको कथा व्यक्तित्व निकै उच्च भएकाले नै उनका अन्य रचनाकर्ममा पनि यसको स्वाभाविक प्रभाव रहेको छ, नाटक÷एकाङ्की त्यसको अपवाद होइन ।
(झ) युवराज मैनालीका दृष्टिमा उपन्यासकार रमेश विकल : वरिष्ठ समालोचक युवराज मैनाली सिर्जनाको सटिक र वस्तुपरक मूल्यविवेचना गर्छन्, र अफै त्यसलाई प्रयोग पनि गर्छन् । लुघकथा पृथक बाटो उनको समालोचकीय दृष्टिकोणमा उनकै प्रयोग हो । त्यही दृष्टिबिम्बमा महान् आख्यानकार रमेश विकलको पनि मूल्याङ्कन गदछन् । विकलको उपन्यास यात्रालाई शिखरमा पु¥याउने कृति ‘अविरल बग्दछ इन्द्रावती’ को वस्तु यथार्थताको आयामबाट मूल्याङ्कन गर्दै उनी भन्छन् ‘..जीवन जगत् र आभ्यान्तरको अभिव्यक्ति, …एक युुगीन सन्दिग्धता–कला अन्तरङ्गका सरल प्रकाशन..मानवीयताको जाहेरी, प्राकृतित्वको पुनस्र्थापन र अन्तरजनित व्यक्तिताले व्यक्तिने पथ समातेको’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३०१) छ । उनका उपन्यास प्रवृत्तिमा मैनालीले भने झै जीवन छ, जगत् छ, सन्दिग्धता छ, अन्तरसङ्घर्ष छ र एउटा मुक्तिको मार्ग खोज्ने प्रयास छ । नेपाली उपन्यासको प्रगतिवादी प्रयोगमा पारिजात र विकलनै त्यो स्थानमा छन् जसले पात्र, परिवेश र प्रकृतिको संयोजित संरचनामा विशिष्ट प्रयोगको साहस राख्दछ । अविरल बग्दछ इन्द्रवती र पर्खालभित्र र बाहिरको तुलना गर्दै उनी भन्छन् ‘दुवैमा प्राकृतिक आदर्शता छ, दुवै निर्वोध झै लाग्दछन्, दुवैमा प्रतिरोध, प्रतिहिंसा र प्रतिवादको भावोत्कर्षता प्रतिगामीप्रति छ’ (ऐ पृ ३०२), त्यसैले दुवै शीर्ष प्रगतिवादी प्रतिष्ठाता हुन् ।
उनका अनुसार अविरल बग्दछ इन्द्रावतीमा पात्र चयन, पात्रकार्य र परिवेश चित्रणले उपन्यासलाई वस्तुुयथार्थतामा पु¥याएको छ । इन्द्रावतीका माझीहरूको सिधासाधा जीवनशैली, काजीखलकको सम्भ्रान्त व्यवहार, एक्लो साछीको रूपमा निन्तर बगिहेको इन्दावती र त्यो बगाइले मागेको प्राकृतिक जीवनलाई समालोचक जीवनवादी दृटिकोण भन्न रुचाउछन् । साथै कमजोरी औल्याउने क्रममा समालोचकीय धारणा छ ‘उत्तराद्र्धमा केही फितले प्रतीत हुन्छ ।कथाभित्र कथाका धेरै प्रवेशले द्वन्द्वात्मक विचारशृङ्खलामा हुनुपनै रूपमा कायम हुन सक्दैन भने काव्यात्मकताको प्रभावले प्रवाहात्मकतामा पनि न्यून छ । यस हिसावमा कथाकार रमेश विकल जति विशिष्ट छन्, उपन्यासमा केही फिक्का प्रतीत हुन्छ तर सामाजिक असमानता, ग्राम्यजीवनका विविध अप्ठ्यारा परिवेशको निदान, गवेषण, यथार्थता र आञ्चलिक उपक्रमले कथावस्तुमा कृत्रिमताको लेस मात्र पनि रहन्न । ती हाम्रै परिवेशबाट टिपिएका हाम्रै दैनन्दिनीका भत्कोसहरू हुन्’ (ऐ प ३०४) ।
समालोचक मैनालीको निष्कर्ष समालोचकीय धर्म र न्यायिक मनमा देखिन्छ । विकलका कथाहरू जति विशिष्ट छन्, त्यत्तिकै विशिष्टता उनका चार उपन्यासले प्राप्त गर्दैनन्, अपितु ती सामाजिक यथार्थका वस्तुुगत चित्रण र मानव स्व खोज्ने जीवनसङ्घर्ष नै हुन् । विकलको शीर्ष पहिचान कथामा भएकाले कथाकै शीर्षस्थतामा उपन्यास र अन्यविधा हेर्ने समालोचकीय प्रवृत्तिले पनि यस्तो लेखाएको हुनुसक्छ ।
(ञ) कृष्णचन्द्रसिंह प्रधानका दृष्टिमा उपन्यासकार रमेश विकल : नेपाली साहित्य समालोचनामा शीर्ष स्थान राख्ने समालोचक उपन्यासको भाषा, शैलीशिल्प, संरचना, बोधगम्यता, सन्देश र प्रभावका आधारमा कृतिको विश्लेषण गर्दछन् । प्रधान विकलको उपन्यास अविरल बग्दछ इन्द्रावतीलाई सामाजिक यथार्थवादको प्रयोगको प्रमुख रूपमा लिने गर्दछन् । वैचारिक प्रगतिशीलता र कला शिल्पसाधनाको सन्तुलित रूप अविरल बग्दछ इन्द्रवती लाई लिन्छन् । उनी भन्छन् ‘अविरल बग्दछ इन्द्रावती मा सतत गतिशीलता रहे पनि त्यहाँको ग्रामीण जीवनमा यो आइसकेको थिएन । धेरैपछि मात्र यसको मन्थर रूप गाउँका केही युवाहरूमा देखा पर्छ । यही झिनो गतिशीलताले ल्याएको गाउँको हलचल, भुुइँचालो र जीवनलाई प्रस्तुत उपन्यासले टिपेको छ, त्यसलाई बोली दिएको छ’ (नेपली उपन्यास र उपन्यासकार, पृ ११३) ।
समालोचक समयको गतिसँग इन्द्रावतीको माझीबस्ती सतत गतिशील नभएको अन्तर्वस्तु केलाउँदछन्, पछि देखिएको चेतनाले पनि धेरै ठूलो प्रागतिकता ल्याएका छैन । हलचल केही त ल्याएको छ तर त्यो फलाप्तिमा देखिएको छैन । ‘प्रकृतिमा इन्द्रावतीको प्रकोप र विकरालता, मान्छेमा त्रिलोचनसिंहको उद्दण्डता र अमानुषिकता माझी–दनुवारहरूको जीवनलाई क्षतविक्षत गर्ने अभिशाप बन्छ’ (ऐ) । प्रकृति पनि बस्तीका लागि कम चुनौतिपूर्ण छैन, यो विषयलाई धेरै समालोचकहरूले वास्ता गरेका छैनन् । इन्द्रवती पनि माझी–दनुवारहरूको पसिनामाथि आक्रमण गर्छ, काजीहरूले त शोषण गरेकै थिए । प्रकृतिले पनि पसिना बगाइदियो, त्रिलोचनसिंहहरूले पनि परिश्रमीको पसिना शोषेको छ । यी दुवैको मारमा रहेका गरिबहरूको व्यथा नै अविरल बग्दछ इन्द्रावती हो । प्रधानको समालोचकीय विहङ्गमदृष्टि तीक्ष्ण छ । अझै विहङ्गमदृष्टि दिन्छन् ‘अविरल बग्दछ इन्द्रावतीले परम्परागत शैली नै पछ्याएको छ, तर त्यही शैली पनि निकै टकशाली छ–ओजपूर्ण, मुुग्धकारी, नयाँ अनुुभूति दिने खालको प्राञ्जल र परिष्कृत । स्थिर बोधोपना हैन, गतिशील, अत्यन्त क्षिप्र र जीवन्त पनि, चित्रात्मकता अँगालेर प्रवाहित हुने वर्णनले सहजतया जीवनको अन्तराल छोएर वस्तुसित रागात्मक सम्बन्ध राखेको छ’ (ऐ, प ११६) ।
निष्कर्षमा उनी भन्छन् ‘समष्टिमा भन्ने हो भने लेखकले वैचारिक प्रगतिशीलताप्रति सद्भावना राखेका छन् र साहित्यिक कला, सीप, मर्यादा, सौन्दर्य तथा गरिमाप्रति निष्ठा’ (ऐ) । यसरी प्रधानले सामाजिक यथार्थवादी प्रयोगमा खैरनीघाटका शङ्कर कोइराला, ध च गोतामेको घामका पाइला, दौलतविक्रम विष्टको एक पालुवा अनेकौ याम, ताना सर्माको ओझेल पर्दा, लीलबहादुर क्षेत्रीको बसाइँ, इन्द्र सुन्दासको नियति र विकलको अविरल बग्दछ इन्द्रावतीलाई लिएका छन् ।
‘सागर उर्लन्छ सगरमाथा’ छुन मा पनि अविरल बग्र्दछ इन्द्रावती कै निरन्तरता दिइएको निष्कर्ष प्रधानको छ । स्थितिमा आएको परिवर्तनले उपन्यासलाई पछ्याएको छ । ‘एउटै उद्देश्यका अलग पाटा हुन् उपन्यास । दुवैको औपन्यासिक स्वरूप एउटै हो, औपन्यासिक पद्धति एउटै हो, औपन्यासिक शैली संरचना एउटै हो ।’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३०८) । त्यसैले सिर्जनात्मक आयाममा नौलोपन नआएको ठम्याइ उनको छ । साथै कतिपय घटना र पात्रवृत्ति पनि अलि अमिल्दा देखिन्छन् प्रधानको दृष्टिमा । साहित्यलाई नित्य नवीन आयाम दिइरहनुपर्ने आग्रह पनि उनको छ ।
(ठ) राजेन्द्र सुवेदीका दृष्टिमा उपन्यासकार रमेश विकल : समालोचक राजेन्द्र सुवेदी विकलको रचना यात्रालाई तीन कालखण्डमा विभाजन गरी प्रत्येक खण्डको प्रवृत्तिगत विेशेषता औल्याउँछन् । उनका अनुसार ‘आरम्भदेखि २०२१ सम्म आलोचनात्मक यथार्थवादको चरण, दोस्रो २०२२ देखि २०३१ सम्म अमूर्तग्रस्त, यौन र प्रयोगशील चरण र २०३२ देखि सबै अवधि अधिकतर समाजवादी यथार्थवादी चरण’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ २२६) ।
उपन्यास रचनाका सन्दर्भमा सुनौली दोस्रो चरणको प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछ भने अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन तेस्रो चरणको प्रवृत्तिलाई प्रतिनिधित्व गर्दछ । सुनौली उपन्यसामा ‘न्यून चेतना र वर्गीय विसङ्गतिका कारण आफूशोषित बनेका नारीको दशा दयनीय रहेको पुरुषहरूको यौनतिर्खाको निराकरणको कारण बनेर सामाजिक संवेदना उपन्यासले प्रतिपादन गरेको छ’ (ऐ पृ २२७) । त्यसपछिका दुुई उपन्यासको उनले विश्लेषण नगरे पनि प्रवृत्तिगत चरणले त्यसलाई सङ्केत गर्दछ । अविरल वग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन अधिकतर समाजवादी यथार्थवादी प्रवृत्तिमा छन् । बल्कि विषयवस्तु र उठान गर्न खोजिएको विषय भने फरक छ । पहिलोमा सामाजिक तहसोपान र वर्गविभेदको मन्द द्वन्द्व छ, दोस्रोमा त्यो बहुुआयामिक भएर फराकिएको छ । पहिलो सामाजिक विषय परिवेशमा छ, दोस्रो सामाजिक, सांस्कृतिक, शासकीय र यौनिक पक्षमा फैलिएको छ ।
(ड) रामप्रसाद ज्ञवालीका दृष्टिमा उपन्यासकार रमेश विकल : ज्ञवाली विकललाई सामाजिक यथार्थवादी आख्यानकारका रूपमा लिन्छन् । ‘मानवीय संवेदना र जीवनदायी मूल्यहरूको पक्षपोषण गर्न कलात्मक भूमिका निर्वाह गर्ने विकलका आख्यानहरूमा सामाजिक यथार्थ मानसिक उद्वेलनका मार्मिक पक्षहरूको सौन्दर्यात्मक प्रस्फुटन पाइन्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ २८१) भन्ने अभिव्यक्तिका साथ विकलको काव्यकारिताको समग्र मूूल्याङ्कन गर्दछन् । वास्तवमा ज्ञवालीले औल्याएजस्तै विकलको प्रधान प्रवृत्ति सामाजिक यथार्थ र मानसिक उद्वेलनको प्रस्तुति हो जसका लागि सौन्दर्यशिल्प विधानलाई अपनाएका छन् ।
समालोचक ज्ञवालीले ‘अविरल बग्दछ इन्द्रवती’ उपन्यासको सामाजिकता, वर्गीय अन्तरविरोध र वर्गद्वन्द्वको विश्लेषण गर्दै भनेका छन् ‘अविरल बग्दछ इन्दावती’ मोटामोटीमा नेपाली समाजको वर्गीय जीवनस्थितिको वस्तुुपरक प्रत्यङ्कन गर्ने प्रगतिशील उपन्यास हो’ (ऐ पृ २८२) । विश्लेषणका क्रममा उनले उपन्यास आख्यानधर्मी साहित्य भएकाले यसका संरचनागत अपयवहरू कथानक, पात्र, चरित्रकार्य, घटना, विचार र शिल्पसन्धान सबै पक्षबाट विश्लेषण गरेका छन् र उनले समग्रमा निष्कर्ष निकालेका छन् ‘….वर्गीय शोषणका सांस्कृतिक–राजनीतिक संयन्त्रहरू नवोदित सचेत वर्गको चैतन्य र सामन्तवादका विरुद्धको विद्रोह, वर्गीय सङ्घर्ष उत्पन्न हुनु पछाडि रहेका ऐतिहासिक–सामाजिक कारणहरू आदिको प्रस्तुति दिनुका साथै वर्गसङ्घर्षको अन्तिम परिणाम सङ्गठित, सामूहिक, सचेत र सङ्घर्षशील वर्गको विजय नै हो भन्ने निष्कर्ष दिएकाले सामाजिक अन्तर्विरोध र वर्गद्वन्द्वको प्रस्तुतिका दृष्टिले उपन्यास प्रगतिशील, उच्चकलात्मक र नेपाली उपन्यासयात्राको प्रतिनिधिमूलक उपलब्धि हो भन्न सकिन्छ’ (ऐ पृ २९७–२९८) ।
ज्ञवालीको विश्लेषणले विकलप्रति समालोचकीय न्याय नै गरेको छ । तर प्रगतिशीलताको परिणाममा ज्ञवाली तटष्थ छन् । उपन्यास प्रगतिशील हुँदाहुँदै पनि सङ्घर्षशील पक्षको विजय हुन चाँहि बाँकी छ । खलपात्र त्रिलोकसिंहको सेखी झण्डै तोडिएपनि लालगेडी र सोभिते इच्छित स्थानमा पुगेका छैनन्, प्रगतिशीलता देखाएको छ, वर्गसङ्र्षको फल प्राप्ति हुन भने बाँकी छ । त्यसैले इन्द्रावतीको बगरैबगर सोभिते अनन्त यात्रा गर्छ, यात्रा कहिले टुङ्गिने हो कुन्नि थाहा छैन ।
(ढ) डा लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीको दृष्टिमा कथाकार रमेश विकल : ‘नेपाली कथाको इतिहास’ नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा द्वय समालोचकबाट गराइएको अध्ययन हो । यस अध्ययनमा कथाको सैद्धान्तिक अवधारणा, नेपाली कथाको विकासक्रम र प्रमुख प्रवृत्तिहरूको संक्षिप्त विवरण उल्लेख छ । यस अध्ययनले प्राज्ञिकता र प्रामाणिकता दुवैलाई प्रतिनिधित्व गर्ने मान्यता राख्नु पर्ने समेत देखिन्छ ।
डा गौतम र अधिकारीले रमेश विकललाई समाजवादी यथार्थवाद वा प्रगतिवादका प्रमुख नेतृत्वकर्ताका रूपमा लिइएको छ । द्वय समालोचक भन्दछन् ‘रमेश विकलबाट सुरु भएको समाजवादी यथार्थवाद वा प्रगतिवादी धारामा कलम चलाउने कथाकारहरूले सामाजिक असमानता, वर्गीय द्वन्द्व र आर्थिक शोषणको विरोध गरेर कथा लेखेका छन्’ (नेपाली कथाको इतिहास, पृ ९५) । समालोचक द्वयले माक्र्सवादी वैचारिक दर्शनप्रतिको प्रतिवद्धता यस धाराका कथाकारहरूको मूल विशेषता मानेका छन् ।
विकलको कथा प्रवृत्ति उल्लेख गर्ने सन्दर्भमा उनीहरूको निष्कर्ष छ ‘उनका पूर्वाद्धका कथाहरूमा सामाजिक यथार्थवादी प्रवृत्तिका देखिन्छन् । …समाजका सम्पूर्ण विभेद, अन्याय, अत्याचार, शोषण जस्ता विकृतिहरू आर्थिक असमानताकै कारणले हुन्छ भन्ने विचार उनका कथामा अभिव्यक्त पाइन्छ । उच्चवर्गीय सामन्त शोषकहरूप्रति आक्रोस पोख्दै निम्नवर्गमाथि सद्भाव र सहानुुभूति व्यक्त गरिएका उनका कथामा प्रगतिवादी चेतना प्रवल रूपमा प्रकटित भएको छ । विरानो देशमा र नयाँ सडकको गीत कथासङ्ग्रहका कथाहरूमा सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य, अन्याय, शोषणप्रति तीव्र विरोध, प्रगतिवादी चिन्तनप्रति समर्थन तथा समतामूलक समाजको स्थापनामा जोड आदि प्रवृत्ति सशक्त रूपमा आएका देखिन्छन् । …नेपाली कथाको सामाजिक यथार्थवादी धारा र प्रगतिवादी समाजवादी–यथार्थवादी धारामा उनको योगदान अतिविशिष्ट छ’ ऐ पृ ९६,९७) ।
समालोचक द्वयले अन्य समालोचकले झै विकललाई सामाजिक यथार्थवादी र प्रगतिवादी धाराका प्रयोक्ताका रूपमा लिएका छन् । तर विकलका कथाको निकै महत्वपूर्ण प्रवृत्ति मनोवैज्ञिानिकतामा त्यति ध्यान दिएका छैनन् । मेरी सानी भतिजी प्रतिमा, उर्मिला भाउजू, फुटपाथ मिनिस्टर, अपाङ्ग बर्ष, एउटा बुढो भ्वाइलिन ः आशावरीको धुनमा, उसले नजन्माएको छोरो, आकाशमा ताराहरू छटपटाइरहेका थिए, एउटा फूलदानभित्रको रोमान्स, सिंगारी बाख्रो, आजफेरि अर्को तन्ना फेरिन्छ, मेरी कान्छी माइजू, रानी साहेवको तस्विर मनोदशामा अस्मेल रहेको मानिसहरूका कथा हुन्, जुन भौतिक–आर्थिक रूपमा देखिएको समस्या जत्तिकै गढेर रहेको समस्या हो । ती समस्याहरूको उजागर गर्नाले पनि सामाजिक मानकहरू परिवर्तन भै न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि बल पुुग्दछ । सामाजिक मानकहरू परिवर्तनको दिशा भौतिक, सामाजिक, सांस्कृतिक र मानसिक हुने गर्दछन् । सामाजिक यथार्थको चित्रण गर्न रमेश विकल जत्ति कुशल छन्, त्यत्तिकै मिहिन रूपमा सामजिक मनोविज्ञान विश्लेषण गर्न पनि सफल छन् ।
विकललाई प्रगतिवादी भन्ने सन्दर्भमा व्याख्या गर्दा धेरैजसो समालोचकहरूले शोषण, अन्याय, अत्याचार, गरिबीको चित्रण, गरिब र निमुुखा पात्रहरूको प्रयोगलाई आधार मान्ने गरेका छन् । यो प्रगतिवादको एउटा पक्षमात्र हो, तर अर्को पक्ष मनभित्रको सङ्घर्ष, मनोव्यङ्ग्यात्मकता र मानसिक आन्दोलनलाई उल्लेख गरिने गरिएको छैन । समालोचक द्वय यसको अपवाद होइनन् । उसले नजन्माएको छोरोका सवित्री,उर्मिला भाउजूकी उर्मिला, मेरी कान्छी माइजू कि कान्छी माइजू, एउटा बुढो बकैनाको रुखको म पात्र, कमलकी कमल, फुटपाथ मिनिस्टरकी किटीहरू गरिब, लाहुरी भैंसी, तर कोपिला फक्रेन का पात्र र परिवेशभन्दा कम प्रगतिशील छैनन् । यसले प्रगतिवादलाई हेर्ने आयामलाई कसरी लिने भन्ने प्रश्न पनि उजागर गरेको छ ।
(ण) प्रमोद प्रधानका दृष्टिमा बालसाहित्यकार रमेश विकल : बालसाहित्य सिर्जना र समीक्षा दुवै क्षेत्रमा उत्तिकै प्रखर प्रमोद प्रधानका शब्दमा ‘विकल घटना र चरित्रका माध्यमबाट बालबालिकाहरूलाई एकातिर आदर्श नागरिक बन्न पे्ररित गर्दछन् भने अर्कोतिर समाजमा व्याप्त रुढिवाद, अन्धविश्वास र विकृतिलाई समाप्त गर्नुपर्ने तथ्य औल्याउछन्’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, अन्तिम कभर पृष्ठ) । बालसाहित्यले गर्ने काम नै बालबालिकालाई शिक्षा, प्रेरणा र नैतिक आदर्श हो । बालबालिकाको मस्तिष्कमा परेको छाप अमिट हुन्छ र त्यसले उसको व्यवहार र व्यक्तित्व विकासको निर्धारण गर्दछ । प्रधानले भने झै बालकथा, चित्रकथा, नाटक र किशोर उपन्यासका माध्यमबाट विकल बालबालिकालाई ज्ञानको भोक जगाउने, आदर्श नागरिक बनाउने र शिक्षा दिने काम गर्दछन् । कथाकार विकलको व्यक्तित्व जस्तै बालकथाकार विकलको व्यक्तित्व पनि त्यत्तिकै उच्च छ । सबैभन्दा पहिला प्रकाशित अँगेनाको डिलमा देखि पञ्चतन्त्रका कथाहरू, एक्काइस रमाइला कथा, कथा कुसुम, ते¥ह रमाइला कथा, केही मूर्खहरूको काथ, हिउदे छुट्टी, सङ्गत प्रतीकगुनको बुद्धि, एउटा कथा भन्नुन हजूरआमा, रमेश विकलका उत्कृष्ट बालकथाहरू, बुद्धिको घैँटोमा घाम, मलाई किताव मनपर्छ, गौतमबुुद्ध र पानीको संस्कार, हजुरआमाको कथा, रमेश विकलका उत्कृष्ट बालकथाहरू .अर्को), बाल नाटकहरू सात थङु्गा, अब तिमी नरोउ किरण, बालगीत बा¥ह महिनाको गीत, किशोर उपन्यास विक्रम र नौलो ग्रह, केही चित्रकथाहरू सबैले उमेर समूहगत रूपमा बालबालिकालाई मनोरञ्जन र शिक्षा दिइन्छन् ।
विक्रम र नौलो ग्रह अप्रामाणिक विज्ञान कथा हो । ‘….प्रामाणिक विज्ञानकथा नहुँदानहुँदै पनि यो उपन्यास किशोर–किशोरीहरूमा विज्ञानप्रतिको चाख, जगाउन र विज्ञानबाट भविष्यमा हुनसक्ने संभाव्य खोज, अन्वेषण र अनुसन्धानबारे जानकारी दिन सफल मान्न सकिन्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ३९०) । सबै विज्ञानकथा प्रमाणिक हुँदैनन्, सुपरम्यान प्रमाणित थिएन । तर यसले कौतुहल र ज्ञानको अभिरुचि जगाई नवोन्मेषका लागि बालमस्तिष्कलाई आधार दिन्छ । विक्रम र नौलो ग्रह त्यसै प्रकारको उपन्यास हो ।
उमेर समूहगत रूपमा बालसाहित्य सिर्जना गर्ने विकलले ससाना बालबालिका (प्रि अर्ली रिडर) का लागि मान्छे, भैसी र मुरी चामलको कथा चित्रकथा पनि प्रकाशन गरेका छन् । उनलाई बालसाहित्य सिर्जना गर्न उनको बाल्यकालका अनुुभूति र पेसागत जिम्मेवारीले पनि सघाएको देखिन्छ । त्यसैले उनले अपाङ्ग वर्ष, मेरी सानी भतिजी प्रतिमा र फुटपाथ मिनिस्टर जस्ता बालकका विषयमा पनि कथा लेखेका छन् भने उल्लेख भए अनुरूप दर्जन बढी बाल साहित्य पनि प्रकाशित गरेका छन् । त्यसैले उनले दोहोरो भूमिका निर्वाह गरेका छन् ।
(त) मोहन सिटौलको दृष्टिमा नियात्राकार रमेश विकल : रमेश विकलको सात सूर्य एक फन्को नियात्रा भावना र भौतिक यात्रा हो, रहस्यको खोजी र यथार्थको प्राप्तिको यात्रा हो । नियात्राकार एउटा उत्साह र खुल्दुलीको यात्रा गर्दछन्, त्यो पनि साम्वाला प्राप्तिका लागि, साँ–ग्रिलाको खोजीमा । नियात्राका सन्दर्भमा समालोचक सिटौला भन्दछन् ‘शोषणरहित समाजमा वैयक्तिक, सामाजिक र शास्वत मानवीय समानता, प्रेम, जनशक्ति प्रदत्त स्वाभिमानी साझा राष्ट्रियता र सुरक्षा, सहभागिता र सम्मानको प्रवृत्ति अनि समावेशी संस्कृतिको सामाञ्जस्यका साथसाथै न्याय अनि भाइचाराको व्यवहार एवम् उत्पादनको आवश्यकताअनुसार न्यायिक वाँडफँडका नीति तथा बौद्धिक र सिर्जनाशील प्रखरता जस्ता आदर्श कार्यगत सफलतामा मात्र भूःस्वर्ग किंवा साँग्रिलाको प्राप्ति हुन्छ भन्ने कुरा नै यो खोजमूलक यात्राको निष्कर्ष हो ।साँग्रिलाका प्राप्ति पक्कै हन्छ भन्ने स्वयंमा एउटा आदर्श हो र यो एक व्यावहारिक सम्भावना पनि हो’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ४२८) । सात सूर्य एक फन्को सात दिनको नियात्रा मात्र छैन, सैयौं दृष्टिबिम्ब र सैयौं अनुुभूुतिको सङ्कलन हो । निष्कर्षमा सिटौलाले भन्नुभए जस्तै आशाको बिम्ब हो । रहस्य फेला परेपछि यात्रा सकिन्छ, तर जीवनको यात्रामा यस्ता रहस्य सँधै बाँकी हुन्छन्, जति फन्को यात्रा गरे पनि ।
नियात्रामा ‘सामाजिक, सांकृतिक, ऐतिहासिक, पौराणिक कथा र किंवदन्ती लगायत उखान र तुक्काहरू समापेश छन्’ (ऐ) । साथै ‘मनोवैज्ञानिक अध्ययनको सूक्ष्म रोशनी’ (ऐ पृ ४२९) पनि हो ।
नियात्रामा विकल भौतिक र प्राकृतिकभन्दा मनभित्रको यात्रा बढी गर्छन् । भौतिक यात्रामा मात्र रमाउदैन, मनभित्रको यात्राको आयतन झनै रोमाञ्चक रस्थूल देखिन्छ, सात सूर्य एक फन्को हेरौं कि नीलगिरिको छाँयामा । यात्राका दृश्यिक अनुुभूतिहरू मनभित्र माझिएर, उर्लिएर यात्रालाई अरू रोमाञ्चक बनाएको छ । कतिपय भाषा प्रकतिमय छन्, दृश्यबिम्बहरू उतारिएका छन्, उखान तुक्का र स्थानीयतामा रङ्गिएका छन् ।
(थ) जगत् उपाध्याय ‘प्रेक्षित’ का दृष्टिमा आत्मसंस्मरणकार रमेश विकल : लेखक आफै नायक भएर आफैमाथि लेखिएका आत्मानुुभूतिले समाजलाई शिक्षा र अनुुभव बाँड्छ, कतिपय अवस्थामा यसले नलेखिएको इतिहासलाई पनि अनुुभूतिको माध्यमबाट दिएर आउने पुस्ताका लागि ठूलो गुुण लगाउँछ । आत्मकथाले पाठकलाई एैतिहासिक यथार्थमा पु¥याएर ज्ञानको भोक जगाउँछ । विस्तृत दायरा भएको आत्मकथाले त समाज र समयका सबै पाटालाई बोक्छ । आत्मकथा सामाजिक ज्ञान निर्माणको कच्चा पदार्थ पनि हो । रमेश विकलको मेरो अविरल जीवन गीत मा यस्तै विशेषता भएको प्रेक्षित को भनाइ छ । यसमा विकलका वैयक्तिक पाटाका सिलसिला मात्र छैनन्, समाज विकासको बदलिदो शृङ्खला पनि उनको आत्मकथा साथ डोरिएको छ । ‘जीवनानुुभवमा आधारित घटनाप्रतिघटनाहरूका आख्यानशृङ्खलामा तीव्रतम अनुुभूतिको मिश्रण र सूक्ष्म रेखाङ्कन गर्दै सरस, कवितात्मक, रोचक, मनोहरि, र कलापूर्ण भाषाशैलीका माध्यमबाट आत्मकथा पस्किने विकलको सीप उच्चस्तरको छ । यो उनको आत्मकथाको प्राप्ति हो । ठाउँ–ठाउँमा पुनरुक्ति देखिनु, कतै कतै पूर्वापर प्रसङ्गहरू बाझ्नु अनि कतै कतै घटना वर्णन र यथार्थमा विरोधाभास पाइनुउनका आत्मकथाका सीमा हुुन’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेक, पृ ४७४) ।
धेरैजसो व्यक्तिहरू आत्मकथालाई आत्मरति र आत्मश्लाघा प्रस्तुतिको माध्यम बनाउछन् । धेरैजसो आत्मकथा दोस्रो लेखक (घोष्ट राइटर) ले लेख्ने गर्दछन्, जसले आत्म नभएको कथा बनाइदिन्छ । यस खाले आलेख आत्मकथा नभएर घटनाका आग्रही विवरण पनि बन्ने गरेका छन् । तर विकलको मेरो अविरल जीवन गीत आत्मानुुभूतिको यात्रा हो, त्यसैले यसमा आफ्नो अन्तरबोध छ । ‘घटनामा यथार्थता, प्रस्तुतिमा अलङ्कारपूर्ण, विचारमा प्रगतिशीलता, अभिव्यक्तिमा सरलता, सहजता र सरसता, बस्तुविन्यासमा सामाजिकता, युुगीनता र आञ्चलिकता, स्वभावमा निश्छलता अनि निस्कर्षमा बुद्धिमत्तापूर्ण तार्किकता र न्यायपूर्ण निर्णयात्मकता रमेश विकलका आत्मकथात्मक वा आत्मन्यासगत विशेषता हुन्’ (ऐ पृ ४७५) । यी आधारबाट कथामा जस्तै आत्मकथामा पनि विकलको स्थान शीर्ष रहेको पे्रक्षितको निष्कर्ष छ ।
(द) ज्ञानेन्द्र विसका दृष्टिमा चित्रकार रमेश विकल : विकल चिकार पनि थिए भन्ने कमैलाई थाहा होला । तर उनले सिर्जनाका धेरै क्षेत्रमा हात हालेका थिए । साहित्य त उनको वैशिष्ट्यको क्षेत्र थियो नै, सङ्गीत, चित्रकला, मूर्तिकलामा पनि उनको रुचि र केही सिर्जना पनि भएको देखिन्छ । बहुमुखी प्रतिभाशाली व्यक्तिको धेरै व्यक्तित्व हुन्छ, एक क्षेत्रको व्यक्तित्वले अर्को क्षेत्रलाई ओझेलमा पार्न सक्छ । विकललाई त्यसैले साहित्यकार, त्यसमा पनि आख्यानकारका रूपमा धेरैले लिने गरेका छन् । ‘पचासभन्दा बढी कृतिका प्रकाशक विकलका ५८ वटा चित्र रमेश विकल प्रतिष्ठान र नेपाल ललितकला प्रतिष्ठानले प्रदर्शनी गरेको थियो’ (ज्ञानेन्द्र विवस, नेपाल लाइभ डट कम, कात्तिक १३, २०७८) । विकलका छोराहरू विजय चालिसे र महेन्द्र चालिसेको भनाइ उल्लेख गर्दै विवस भन्छन् एकोहोरो लेखनमा मस्त र व्यस्त रहने रमेश विकल लेखनबाट दिक्क लाग्यो भने चित्र बनाउन थालिहाल्थे । ‘शब्दको अभिव्यक्तिले साकार रूप वरण गराउँदा चित्त नबुुझे वा उपयुक्त भावना नफुरे चित्रसँग आफनो मनोभावना साँट्ने’ (ऐ) बानी विकलको थियो । उनका चित्रकारितामा बढी त प्रकृति बोल्छ, हिमाल पाखा–पखेरा, नदी, ताल जस्ता प्रकृतिका रूपलाई रङ्गको संयोजनबाट जीवन्त बनाएका छन् । केही व्यक्ति चित्रहरू पनि छन् । आफ्ना बुुबा, श्रीमती र आफन्तका चित्र बनाएका कुरा पनि विवसले उल्लेख गरेका छन् । उनका चित्रसिर्जना रमेश विकल प्रतिष्ठानका भित्ताभरि सजिएका छन् ।
विवसले उल्लेख गरे अनुसार विकलले २०१८ मा रचना पत्रिकाको कभर डिजायन पनि गरेका थिए । चिकारितामा रवि चालिसे भनेर देखिएका विकल चित्रकलामा आफ्नो सिर्जनाबाट त्यति सन्तुुष्ट नभएर हुनसक्छ, त्यति खुलेका थिएनन् । मिाजले पनि विकललाई मूलतः आख्यानकार नै मान्यो तर उनका चित्रकलाहरू हेर्दा विकल कलम र मसीमा मात्र होइन, कुची र रङ्गमा पनि त्यत्तिकै अव्वल थिए ।
(ध) घनश्याम सुवेदी ‘श्रमिक’ का दृष्टिमा आञ्चलिक उपन्यासकार रमेश विकल : ‘श्रमिक’ को दृष्टिमा उपन्यासकार विकल आफ्ना उपन्यासमा स्थानीयता र आञ्चलिकतालाई सम्बोधन गरिरहेका छन् । ‘सुनौलीमा आञ्चलिकताको सङ्केत पाइन्छ र अविरल बग्दछ इन्द्रावतीमा चाँहि आञ्चलिकताको सघन प्रयोग पाइन्छ’ (रमेश विकल बिम्ब एक प्रतिबिम्ब अनेका, पृ ३२७) ।
सुनौलीको ‘गोरे बम्जनले लगाउने पोसाक, उनको गरिबी, गाउमा लाग्ने मादेवस्थानको मेला, उकाली–ओराली, काँधमा केदाली लिएर हिड्ने विषय, गाग्रोमा पानी बोक्ने चलन, गाउँका हर्ताकर्ता कर्णेलको हैकमजस्ता विषयले आञ्चलिक विशिष्टतालाई बोध गराउछ’ (ऐ) । उपन्यासका एकदेखि चार परिच्छेदसम्म ग्रामीण र ५ देखि २२ सम्मका परिच्छेदले सहरिया परिवेशको चित्रण गर्दछ । परिश्रमी भन्छन् ‘यो उपन्यास आञ्चलिक होइन र पनि आञ्चलिक विशिष्टताका केही सङ्केतहरूका कारण यस उपन्यासमा धेरथोर आञ्चलिक महत्व राख्दछ’ (ऐ पृ ३२८) ।
उनका अनुसार ‘अविरल बग्दछ इन्द्रावती’ मा भने ‘आञ्चलिक विशिष्टताको राम्रो चित्रण छ । आञ्चलिकताको सघन पृष्ठभूमिमा उपन्यासकारले प्रगतिवादी दृयिटकोण राखेको यस उपन्यासमा इन्द्रावती नदीकिनारा र त्यसमा पनि माझीगाउँको आञ्चलिकता छ । यसमा आञ्चलिक उपन्यासमा जस्तो निश्चित अञ्चल छ, अनिश्चित र सीमित कालखण्ड छ । यसमा अन्य कथ्य अञ्चलको सामाजिक प्रेमजस्ता साधारण विषय पनि विशिष्ट बनेका छन् । यिनै कारणले प्रस्तुत उपन्यास आञ्चलिक बनेको छ’ (ऐ) ।
‘श्रमिक’ ले अविरल बग्दछ इन्द्रावतीमा निश्चित अञ्चल, निश्चित भूूगोल, प्रकृति, जीवनशैली, संस्कृति, रीतिरिवाज सबै विशिष्ट छन् र तिनको चित्रण गरिएकोले आञ्चलिक बनेको छ । उनले आञ्चलिकताको परिभाषालाई पनि फराकिलो पारेका छन्, जुन आवश्यक पनि हो ।
हो, आञ्चलिकतालाई क्षेत्रीय भाषा र भूूगोलले मात्र सम्ट्दैन । कुनै स्थानको नाम, जात, समुदाय वा प्र्रकृति चित्रणले मात्र आञ्चलिकतालाई अथ्र्याउन सक्दैन । आञ्चलिकतालाई साँघुुरो अर्थमा मात्र नलिई स्थानीय रङ्ग वा स्थानीयतासम्म विस्तारको अर्थमा लिनुपर्दछ । निश्चित समुदायको संस्कृति, जीवनशैली, आथिक–सामाजिक अवस्था, भाषिक विशिष्टता, लवज, प्रविधि, पृष्ठभूमि, सौन्दर्यबोध र चिन्तनवृत्तिसम्मका कुरा यसमा समेटिने गर्दछन् ।
स्वच्छन्दता, ऐतिहासिकता, प्राकृतिकता, मनोवैज्ञानिकता जस्ता धारहरूका विषयमा धेरै व्याख्या विश्लेषण भएपछि मात्र स्थानीयता (आञ्चलिकता) को चर्चा भएको हो । अमेरिकी साहित्यमा स्थानीयता बढी प्रयोग भएपनि नेपाली साहित्मा भने आञ्चलिकता शब्दको बढी प्रयोग भएको पाइन्छ । नेपाली उपन्यासको आधार नामको समालोचनात्मक कृतिमा इन्द्रबहादुर राईले खैरनी घाट लाई आञ्चलिक उपन्यासका रूपमा विश्लेषण गरेपछि मात्र आख्यानलाई हेर्ने नयाँ संक्षेत्रले प्रवेश पाएको हो । अमेरिकामा भने इश्वीको बीसौं शताब्दी सुरुतिरबाट नै साहित्यमा स्थानीय रङ्गको चर्चा हुन थालेको थियो । मार्क ट्ीन, ब्रेट हार्ट, विल्ला क्याथरहरूले यसलाई राम्रो प्रयोग गरे । रिचर्ड ब्रोड हेड र आमी काप्लान साहित्यमा स्थानीय रङ्गको प्रयोगले राष्ट्रको पुनएकीकरण गर्ने साधनको रूपमा लिने गर्दछन् । उनीहरूका अनुसार साहित्य प्रयोगमा संरचना, विषय, चरित्र, कथानक, घटना र सम्वादबाट साहित्यमा स्थानीय रङ्ग पोतिएको हुन्छ ।
यसर्थ स्थानीय रङ्का रूपमा संस्कृति, भाषा, लवज, कार्यव्यवहार, प्रकृति चित्रण सबैमा स्थानीय विशिष्टता हुनुपर्दछ । यसले विकलका आख्यानमा आर्थिक–सामाजिक व्यवहार, सम्बन्ध संरचना, सम्वादशैली, इतिहास, पृष्ठभूमि र परिवेशले स्थानीयता बोकेको छ । देश, काल, समाज, परिस्थिति र प्रकृतिको प्राकृतिक संयोजनले नै कृतिले स्थानीयता पाउँछ भन्ने उदाहरण विकलले दिएका छन् । तर उनका सबै कथा÷उपन्यासमा पूर्ण स्थानीयता पाइने भने होइन । केहीमा पूर्ण र केहीमा आंशिक स्थानीयता छ । विशेषतः ग्रामीण परिवेशलाई आधार बनाएर लेखिएका कृतिहरू स्थानीयत्व प्रष्ट छ, रोमान्सेली रुमानीका कृतिहरूमा स्थानीयत्व त्यति छैन ।
(न) विष्णुुप्रसाद ज्ञवालीको दृष्टिमा सांस्कृतिक चेतना र रमेश विकल : मानिस समाज र संस्कतिको उपज हो । संस्कृति एकल विषय नभै धेरैखाले विषय व्यवहार र रीतिथितिको यौगिक हो । सामाजिक प्राणी भएकाले मानिस पृष्ठभूमि, इतिहास, आर्थिक–सामाजिक सङ्गठन–प्रणालीमा अन्तरक्रिया गर्दै परिष्कारमा रहन्छ । चेतनवृत्तिले उसका सोच–संस्कार र मूल्य व्यवहारमा परिवर्तन गर्दै लगेको हुन्छ । त्यसैले संस्कृति एकल नभै यौगिक हो भनिएको हो । विष्णुुप्रसाद ज्ञवालीले विकलका उपन्यासको सांस्कृतिक विचरण गरेका छन् ।
ज्ञवालीको विकलप्रतिको सांस्कृतिक अध्ययनमा प्रवेश गर्नु अघि सांस्कृतिक अध्ययनले निकाल्ने निष्कर्षका विषयमा उल्लेख गर्नु सान्दर्भिक हुन्छ । ज्ञवालीको समालोचना ‘सांस्कृतिक अध्ययन र विकलका उपन्यास’ को भूमिकामा डा.नेत्र एटमले उल्लेख गरे अनुसार सांस्कृतिक अध्ययनले यी विषयलाई उद्घाटन गर्दछ भनेका छन् ः
ड्ड आम मान्छेहरू संस्कृतिको अङ्ग बन्ने प्रक्रिया,
ड्ड सांस्कृतिक दृष्टिले कुनै वस्तुको अर्थ व्याख्या गर्ने अरूतिरका,
ड्ड अतितबारे बुुझाइको पद्धति,
ड्ड संस्कृतिहरूबीचको अन्तर्सम्बन्ध,
ड्ड उच्च र निम्न भनिने सांस्कृतिक मूल्यहरूको उत्पादन हुने अवस्था,
ड्ड संस्कृति र शक्तिको सम्बन्धका आधार,
ड्ड साहित्यमा संस्कति प्रतिबिम्बनको ढाँचा,
ड्ड संस्कृतिले निर्माण गर्ने हाम्रो संस्कति । (विकलको अध्ययन र विष्णुको अध्ययन, सांस्कृतिक अध्ययन र विकलका उपन्यासको भूमिका) ।
ज्ञवालीले विकलका उपन्यासको सांस्कृतिक आयामको विश्लेषण गर्ने सन्दर्भमा सामाजको शक्ति सम्बन्ध, परम्परादेखि स्विस्कार्दै अपनाउदै र सीमान्त रूपमा परिष्कार गरिदै आएका आर्थिक, सामाजिक र सांस्कृतिक मूल्य–मानकहरूको विवेचना गरेका छन् । उनले सिर्जनालाई समाजको प्रतिबिम्बका रूपमा लिएका छन्, सुनौली होस् कि अविरल बग्दछ इन्द्रावती वा सागम उर्लन्छ सगरमाथा छुन, सबै उपन्यासमा मानिस समाजको उपज, संस्कृतिको उपजका रूपमा उभिएको छ । समाजमा शक्ति र सम्बन्ध संरचनाले मानिसहरूमा वैषम्यता, तहसोपन, लैङ्गिक–जातिय मानकहरू निर्धारित हुने गर्दछन् भन्ने उनको विश्लेषणले देखाएको छ । साथै त्यो मानक र मूल्यसंरचना परिवर्तन सीमान्त जनजीवनको आवाज, बौद्धिक वर्गको भूमिका, प्रतिनिधित्व प्रणाली र स्वामित्व संरचनाले गर्दछ । त्यो रेखीय र सूत्रात्मक ढाँचामा हुँदैन, जसरी इन्द्रावतीको माझीबस्तीमा भएको छैन । संस्कृति उछालवादी (रिभोल्युसनरी) नभै सीमान्त अभिवृद्धिवादी हुन्छ, भनौ विकासवादी (इभोल्युसनरी) हुन्छ । साहित्य–कलाले राम्रा संस्कृति भनौं समाजले सम्मति दिएका, समाजलाई फाइदा पुुयाउने संस्कृति संरक्षण र सम्वद्र्धन गर्छ, अहितकारी चाँहि विस्थापन वा विनिर्माण गर्दछ । विकलका उपन्यासमाथि ज्ञवालीको यही आशय छ ।
विकलका उपन्यासमा तहसोपानका तल्ला भागमा सीमान्त गरिब र विपन्न छन् भन्ने यथार्थ ज्ञवालीले देखाएका छन्, शक्ति संरचनामा प्रभुुत्व जमाउने तरमारा वर्गलाई देखाएका छन्, महिलाप्रतिको दृष्टिकोणको सांस्कृतिक भूमि देखाएका छन्, जातियतालाई देखाएका छन् र आर्थिक संगठनहरूको स्वामित्वलाई देखाएमा छन् । उनका अनुसार विकलका तिनवटै उपन्यासमा सांस्कृतिक पक्ष बढी उद्घाटित भए पनि अविरल बग्दछ इन्द्रावतीमा त्यो पक्ष गाढा छ । ज्ञवाली भन्छन् ‘रमेश विकलका तिन उपन्यासमध्ये सांस्कृतिक चिन्तनका हिसावले अविरल बग्दछ इन्द्रावती महत्वपूर्ण देखिन आउँछ । सांस्कृतिक भ्रष्टताको प्रतिबिम्बनका हिसावले सागर उर्लन्छ सगमाथा छुन शक्तिशाली देखिए पनि सांस्कृतिक चेतना र त्यसतर्फको तत्परताका दृष्टिले अविरल बग्दछ इन्द्रावती नै अगाडि देखिन्छ’ (सांस्कृतिक अध्ययन र विकलका उपन्यास, पृ २१५) ।
‘रमेश विकलका उपन्यासमा तत्कालीन समाजका सामाजिक, सांस्कृतिक, राजनैतिक, शैक्षिक आदि अवस्थाको चित्रण भएको छ । उपन्यासमा प्रतिबिम्बन भएको समाजमा यथाअवस्थाको चित्रणभन्दा परिवर्तनको आकाङ्क्षा तीव्र रूपमा आएको छ’ (ऐ २१२) । यसरी ज्ञवालीले विकलका उपन्यासको सांस्कृतिक पक्षको रौचिरा विश्लेषण गरी समाचोकीय न्याय गरेका छन् । यसरी यसअघि कृतिको समग्र सास्ंकृतिक पक्षको विश्लेषण गरिएको पाइदैन ।
(प) ठाकुर शर्मा भण्डारीका दृष्टिमा रमेश विकलका कथा : समालोचक ठाकुर शर्मा विषयस्तुको मिहीन विश्लेषणबाट समालोचकीय धर्म पूरा गर्छन् । मूलत ः संरचना र विचारका आधारमा समलोचना गर्ने ठाकुरले विकलका कथालाई पनि त्यही रूपमा विवेचना गरेका छन् । उनले ‘चार पुस्तका कथा भित्रका कथाहरूको समीक्षण’ (सुलेख रमेश विकल विशेषाङ्क, २०७९) शीर्षकमा विकलको चार कथाहरूको विश्लेषणका क्रममा समग्र कथा प्रवृत्ति औल्याएका छन् ।
ड्ड सामाजिक यथार्थवादी कथा लेखनका क्रममा गरिबी र विपन्नताको अनुुभूूति उतार्नु । उनले निष्कर्ष निकालेका छन्, ‘गरिबलाई कसैले सहयोग गर्दैन, सबै बलेको आगो ताप्छन्’ (ऐ पृ ८७) । मानबहादुर मात्र होइन, सामाजिक उत्पीडनका सबै पात्रहरू मानबहादुरकै हविगतमा छन् ।
ड्ड नयाँ सडकको गीत को दृष्टिबिहीन पात्र बाध्यताग्रस्त विपन्न वर्गको अर्को बिम्ब हो । कथामा समर्पण, सन्देह र व्यङ्ग्य छ । विकलका के ग्रामीण वा के शहरी सबै निम्नवर्गीय चरित्रहरूमा कुनै विषयको समर्पण छ, केही सन्देह पनि छ र कथाले प्रत्यक्ष वा परोक्ष रूपमा समाज व्यवस्थालाई व्यङ्ग्य गरिरहेको हुन्छ ।
ड्ड विकलका कथा पात्रको अर्को विशेषता भ्रममा बाँच्नु हो । त्यो भ्रम कहिले आशासम्म पुुग्छ त कहिले त्यत्तिकै सकिन्छ । ‘एउटा बूढो भ्याइलिन आशावरीको धुनमा’ को लुरेको अवस्था जुन भ्रममा छ, कथाका सबै प्रधान पात्रहरूले त्यस्तै भ्रम पाल्ने गर्छन् । भ्रम एउटा जीवन बाँच्ने त्राण पनि हो, कही प्रष्ट देखिन्छ, कही अनुुभूूति हुन्छ । समाज भ्रम र स्पष्टता, आशा र निराशाको उकाली ओरालीमा नै अडेको हुन्छ भन्ने कुरा विकलका कथाले देखउने गर्दछ ।
ड्ड शहरीकृत समाज र पढलेखा वर्ग दम्भ, कुण्ठा, कृत्रिमता र अस्वाभाविकतामा बाँच्छ । त्यो उसको वाध्यता र चाहना दुवैको उपज हो । उर्मिला भाउजू र माधव यसका पर्याय हुन् । शहरी परिवेशका सबै कथा यही मनोदशाको चित्रण गर्दछन् ।
ड्ड विकलको अर्को कथा प्रवृत्ति शासकीय विधानप्रति सुधारको आग्रह हो । प्रजावत्सल राजा (शासक), न्यायपूर्ण समाज व्यवस्था र कत्र्तव्यमुखी प्रजा (नागरिक) आदर्श राज्य व्यवस्था (आधुनिक अर्थमा सुशासन) चरित्र हुन् । तर राजनेताहरूमा भनाइ र गराइमा पाइने भिन्नता, उनीहरूको अहङकार, दम्भी र दुुष्ट चरित्रका कारण शासन निरङ्कुश र जनता निरीह–निमुखा हुन्छन् भन्ने सन्देश पौरणिक कथावस्तुुमा आधारित कथा ‘विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी’ कथा मार्फत देखिइएको छ ।
विकलका ‘चार पुस्ताका कथा’ (विकल, विजय, महेन्द्र, आलोक र आयुुषाका कथाहरू समेटिएको) कथासङ्ग्रहका पाँच कथाले विकलको जीवनभरिको कथा यात्रालाई पनि समेट्छ, कथा प्रवृत्तिको पनि प्रतिनिधित्व गर्दछ । पहिला कथा गरिब देखि अन्तिम कथा ‘विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी’ मा विकलले गरेको कथा यात्रा मुलतः ग्रामीण गरिबी, शहरी सम्भ्रान्त विकृति, सामाजिक मनोदशा, भ्रम र शासकीय विकृति हो । समालोचक ठाकुर शर्मा भण्डारीले सरल र संक्षिप्त सङ्क्षेत्रमार्फत विकलका समग्र कथा प्रवृत्तिको प्रतिबिम्ब उतारेका छन् ।
(फ) डा.जीवेन्द्रदेव गिरीका दृष्टिमा रमेश विकलका बालगीत र किशोर उपन्यास : विकलले बालसाहित्यका सबै उपविधामा राम्रो उपस्थिति देखाएका छन् । बालकथा, बालगीत, बाल नाटक, बाल उपन्यास, चित्रकथा सबैमा उनको विशिष्ट स्थान छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रकृतिको चित्रण गर्दै बालबालिकालाई शिक्षा दिएजस्तै विकल पनि बा¥ह महिनाको गीत मा गीतिभाकामा बाह महिनाको वर्णन गर्दै ऋतुको विशेषता उल्लेख गर्दछन् । डा गिरी भन्छन् ‘..महिनाको प्रकृति झल्किने सुन्दर र चित्रसहितको रोचक वयान सरल, सरस र स्वाभाविक छ । तिनको तल दिएका पङ्कतिहरू दृष्टिगत गरे तिनको विशेषतालाई आत्मात गर्नसकिन्छ–
‘जेठो महनिा बैशाखको गर्मी चढ्न थाल्छ
कुुहुकुहु कोइलीले गीत गाउन थाल्छ ।
…… ….. …..
फागुण महिना लखन्तरे जाडो आफै थाक्छ
आजैदेखि कोइलीले वसन्तलाई डाक्छ ।’ (रमेश विकल बिम्ब एब प्रतिबिम्ब अनेक, पृ ३८२)
विक्रम र नौलो ग्रह नेपाली साहित्यको पहिलो किशोर उपन्यास हो । यसपछि बालबालिका र किशोरलाई लक्ष्य गरेर उपन्यास लेखिएको छैन । किशोर अवस्था शारीरिक, मानसिक र जैविक विकासको महत्वपूर्ण चरण हो । मासिक रूपमा यस अवस्थामा नयाँ कुराहरू सिक्ने, ज्ञानको कौतुहल जाग्ने, केही गर्ने उत्साह सिर्जना हुने र नवोन्मेषका भावनाहरूले अङ्कुरण पाउने समय हो । जीवनको यो चरण (१२–१७ ÷१८ वर्ष) लाई व्यवस्थापन गर्न सके विश्व सुन्दर बन्दछ, विपरीतमा व्यक्ति आफै उद्देश्य र आचरणबाट स्खलित पनि हुनसक्छ । विकलले यही महत्वपूर्ण अवस्थालाई ध्यानमा राखेर विक्रम र नौलो ग्रह लेखेका छन् । विक्रम कौतुहलको प्रतिक हो, उमेरको त्यो समूहलाई उसले प्रतिनिधित्व गरिरहेको छ । ‘किशोरकिशोरीको रुचिलाई अस्वस्थ पठनपाठनबाट मोडेर नेपाली साहित्यतिर तान्ने र स्वस्थ मनोरञ्जन दिने मनसाय’ (ऐ यृ ३७७) उपन्यासले राखेको छ । ‘वैज्ञानिक कामकुरालाई आख्यानीकरण गरेर उपन्यासकारले नेपाली बालसाहित्यमा नौलो स्वाद पस्केका छन्’ (ऐ) । यसले किशोरकिशोरीलाई ज्ञानको भोक जगाई भविष्यमा वैज्ञानिक आविस्कारक बन्ने, निर्माणको नवपाइला सार्ने तर्फ प्रेरणात्मक बाटो देखाएका छन् । ‘उपन्यासले स्वेरकल्पनाको सहारा लिएर अनेक रमाइला र रोचक पक्षहरूमा किशोर–किशोरीहरूलाई निमग्न तुल्याउने काम गरेको छ । ..वैज्ञानिक उन्नतिका निम्ति चेतना छर्ने र धरति तथा अन्य ग्रहका निवासहरूबीच सुसम्बन्ध स्थापित गर्ने उपन्यासको उन्नत चिन्तन सरल बोधगम्य भाषामा अभिव्यक्त छ’ (ऐ पृ ३७८) । यसर्थ डा गिरीले प्रत्यक्ष परोक्ष रूपमा उपन्यासले मनोरञ्जन, कौतुहल, चेतना, शिक्षा र सन्देश दिएको उल्लेख गरेका छन् ।
उपसंहार
नेपाली साहित्यका शीर्ष सर्जक र बहुआयामिक प्रतिभा रमेश विकलका लेखन वृत्ति र प्रवृत्तिमा धेरै समालोचक एवम् विद्वान्हरूले कुनै कोण र आफूलाई परेको प्रभावको आधारमा मूल्याङ्न, विश्लेषण र विवेचना गरेका छन् । मूल्याङ्कन–विश्लेषण संरचना, शिल्पशैली र कलाविधान, प्रभाव, उद्देश्य, समय, समाज तथा सांस्कृतिक चित्रण जस्ता आयाममा आंशिक रूपमा केन्द्रित भएको पाइन्छ । सबै कोण र संक्षेत्रलाई एकै स्थानमा राख्दा विकलका रचनाकर्मको स्थूल चित्र देखिन्छ । यसले विकलले नेपाली साहित्यको कथा, उपन्यास, नाटक, बालसाहित्य, निवन्ध, चित्रकारिता र स्वैरकलाका सिर्जनात्मक पक्ष उद्घाटित र विवेचित भएको छ । तर कतिपय आयामहरुमा समालोचकहरु पुगिसेका छैनन् । विकलको प्रगतिवादी दृष्टिकोण, विज्ञान प्रविधि र साहित्यको सम्बन्ध, समाज र साहित्यको सापेक्ष्यिकता, सिर्जनाभित्रको स्थानीय रङ्ग बैचारिक दर्शनका आयाम लगायतका कोणबाट विकल त्यति विश्लेषित छैनन्, आउने दिनहरुमा यी आयमहरु उघ्रिने नै छन् ।
