आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री – फोटो फिचर


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ९, २०८१
  • 32
    SHARES

लुम्बिनी, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ ।

बुद्ध जयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा लुम्बिनीमा आयोजित फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले बुद्धले शाश्वत वाणीहरू विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताउनुभयो ।

“बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।”

लुम्बिनी आउँदा आफूलाई सँधै खुशी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलको रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त गरेको छ ।”

सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताउनुभयो ।

नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीन कालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गर्नुभयो ।

“हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।”

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीन कालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पार्नुभयो ।

“हाम्रा जनताको आकांक्षाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “उपलब्ध अवसरहरूको सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीको लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।”

स्वागत भाषण गर्दै  नेपालका लागि भारतिय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको बताउनुभयो।  जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताउदै राजदूत श्रीवास्तवले नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरु हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको थियो भन्नुभयो। राजदूत श्रीवास्तवले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिनुभयो।

वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए। हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो।

भारतकी कविता द्विवेदी र वहाँको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा. सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरुको मार्मिक प्रस्तुति र श्री सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }