भक्तपुर – भक्तपुरको कला, संस्कृति, जीवनशैली, र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने मुख्य उद्देश्यका साथ मंसिर २८ गतेदेखि भक्तपुर महोत्सव आयोजना गरिने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ पुस २ गतेसम्म चल्नेगरी पाँचदिने भक्तपुर महोत्सव आयोजना गरिएको हो ।
भक्तपुर महोत्सवको पत्रकार सम्मेलनमा नगर प्रमुख एवम् महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान दिने महोत्सवको उद्देश्य रहेको बताए ।
प्रमुख प्रजापतिले महोत्सवको लागि १ करोड ५० लाख बजेट बिनियोजन गरिएको र महोत्सवबाट ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको जानकारी गराए । महोत्सवको मुख्य लक्ष्य भक्तपुरको कला, संस्कृति, सम्पदा र मौलिक उत्पादनहरूको प्रवद्र्धन गरेर स्वदेशी र विदेशी पाहुनाहरूलाई आकर्षित गर्न सकियोस् भन्ने रहेको छ ।
भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका अमूल्य सम्पदाहरूको संरक्षण, प्रवर्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पारेको जनाएको छ । उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवलाई नगरका गतिविधिहरू प्रदर्शन गर्ने अवसरको रूपमा सञ्चालन गरिने बताइन् ।
महोत्सवमा ३२ वटा विधा ८० स्थानमा सञ्चालन हुने छ । महोत्सवकै अवसर पारेर भक्तपुर नगरपालिकाले स्मारिका र फोटो पुस्तक प्रदर्शनको तयारी गरेको पनि जनाइएको छ ।
२०५४ सालको भक्तपुर महोत्सवपछिको भव्य महोत्सवको रुपमा भक्तपुर महोत्सव २०८१ सञ्चालन हुने जोशीले जानकारी गराइन् । उनले सिंगो नगरलाई उत्सवमय बनाउन सबैले आ–आफ्नो तरिकाले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
बैठकमा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव तयारीको लागि हालसम्म भएको तयारी एवं गतिविधिहरुबारे संक्षेपमा प्रस्तुतीकरण दिएका थिए ।
उनले २०७६ सालमा कोभिडका कारण स्थगित भएको भक्तपुर महोत्सवलाई यो वर्ष भव्य रुपमा सञ्चालन गर्ने बताए । उनका अनुसार महोत्सवको लोगो र स्टिकर नेपालभाषा, नेपालीभाषा र अंग्रेजी गरी तीनवटा भाषामा प्रकाशन गरिएको छ ।
