शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्थिक विकासका लागि श्रमप्रतिको सम्मान आवश्यक छ : राष्ट्रपति पौडेल


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १६, २०८१
  • 131
    SHARES

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उहाँले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताउनुभयो ।

“श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता हो भन्ने मलाई लाग्दछ”, उहाँले भन्नुभयो ।
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उहाँले स्मरण गर्नुभयो ।

“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

यसैवर्ष जुनमा जेनेभामा सम्पन्न ग्लोबल कोलीसन फर सोसीयल जस्टीस सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभरका श्रमिकहरूलाई सम्वोधन गर्दा पनि आफूले सामाजिक न्यायका लागि सबैबीच कसिलो गठबन्धन आवश्यक रहेकोमा जोड दिएको विषय पनि उहाँले स्मरण गर्नुभयो ।

नेपालका श्रमजीवीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, संगठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उहाँले उल्लेख गर्नुभयो ।

“नेपालमा सबैभन्दा ठूलो श्रमिकहरूको संख्या कृषि क्षेत्रमा रहेको हुनाले मैले ‘व्यवसायिक कृषि कार्यक्रम’ र कृषि क्रान्तिको कुरा श्रमिकको जीवनमा क्रान्ति ल्याउनकै लागि गरेको हुँ”, उहाँले भन्नुभयो ।

राष्ट्रपति पौडेलले अहिले भौतिक विकासका रुपमा भएको प्रकृतिको दोहन र मानवीयताप्रतिको बेवास्ताले विश्वमा दिनानुदिन जलवायु परिवर्तनको जोखिम बढेको पनि बताउनुभयो । उहाँले अजरबैजानको बाकुमा सम्पन्न भएको कोप २९ मा आफूले विश्वका औद्योगिक तथा विकसित मुलुकले गरेको उच्चतम कार्वन उत्सर्जनको मार हाम्राजस्ता देशहरू जस्को कार्वन उत्सर्जनमा कुनै भूमिका छैन तर उच्च जोखिम बेहोर्न परेको विषयलाई प्राथमिकताका साथ उठाएको पनि बताउनुभयो ।

“यसको असर विश्वका श्रमिक, त्यसमा पनि अनौपचारिक क्षेत्र र खासगरी महिला श्रमिकहरूमा बढी पर्न गएको छ, तसर्थ जलवायु न्यायका लागि सृजित ग्लोबल फण्डको हिस्सा हाम्रोजस्तो पीडित देश र लक्षित श्रमिकसम्म पु¥याउने चुनौतीकाबीच हामीले आफ्नो दावी बढाउनु पर्ने देखिन्छ”,राष्ट्रपति पौडेलले भन्नुभयो ।

श्रमिकहरूको जीवनस्तर माथि उठाउने र कार्यस्थललाई सुरक्षित र मर्यादित बनाउने जेटियुसीसीको उद्देश्यको उहाँले सराहना गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)