खलङ्गा- प्रभु बैङ्क लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ३१२ औँ शाखा कार्यालयको रूपमा सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नं. ०४ स्थित खलङ्गामा दार्चुला शाखा खोली सञ्चालनमा ल्याएको छ । बैङ्कले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँहरूमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरिरहेको छ । प्रभु बैङ्कको यो अभियानले देशैभर बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।
बैङ्कको दार्चुला शाखा कार्यालयको समुद्घाटनको क्रममा बैङ्कका सुदूर पश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृत, कर्णाली प्रदेश प्रमुख लगायत स्थानीय बासिन्दा, सर्वसाधारणहरूको उपस्थिति रहेको थियो । बैङ्कको दार्चुला शाखा कार्यालय सञ्चालनमा आए पश्चात् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले प्रभु बैङ्कको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनुहुनेछ र प्रभु बैङ्कको दार्चुला शाखा सञ्चालनमा आएबाट यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने बैङ्कले विश्वास लिएको छ । साथै, दार्चुला शाखा कार्यालय सञ्चालनमा आएसँगै प्रभु बैङ्क लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा बिस्तार भएको छ ।
