बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा लगानी गर्न व्यवसायीलाई महासंघका अध्यक्ष ढकालको आग्रह

नेपाल–चीन व्यापार र लगानी अभिवृद्धिका लागि चीनका प्रतिनिधीसंग छलफल


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०८२
  • 336
    SHARES

 काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको प्रशस्त सम्भावना रहेकोले नेपालमा लगानी गर्न विदेशी व्यवसायीलाई आग्रह गरेको छ । शुक्रवार काठमाडौंमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रममा महासंघको नेतृत्वले नेपालको पर्यटन, जलविद्युत, स्वच्छ ऊर्जा, कृषि र विद्युतीय सवारी साधन जस्ता क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिंदै लगानीको लागि आग्रह गरेको हो ।

नेपाल स्थित चिनीयाँ तथा बंगलादेशी दुतावासका प्रतिनिधी तथा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन नेपाल आएको दुवै देशको प्रतिनिधिमण्डललाई स्वागत गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । “चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । नेपालमा पर्यटन, उर्जा कृषि तथा आइटी जस्ता क्षेत्रमा प्रशस्त सम्भावना छ । ती क्षेत्रमा लगानी गर्न म यहाँहरुलाई आग्रह गर्दछु । ” अध्यक्ष ढकालले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएको र लगानी गर्न चाहने व्यवसायीहरुका लागि सहजकिरण गर्न महासंघ तयार रहेको समेत बताउनु भयो । यस्तै उहाँले नेपाल अन्तरराष्ट्रिय व्यापार मेलामा चीनको निरन्तर सहभागिताको लागि आभार व्यक्त गर्दै मेला केवल वस्तु तथा सेवाको खरिद बिक्रीको स्थलमात्र नभएर आपसी सहकार्य र व्यापार प्रवद्र्धनको उपर्युक्त माध्यम भएको बताउनु भयो ।

यसैबीच नेपाल–चीन आर्थिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै द्विपक्षीय व्यापार असन्तुलन न्यूनीकरण, संयुक्त लगानीका सम्भावनाका बारेमा महासंघमा चिनीयाँ प्रतिनिधीमण्डलसंग छलफल भएको छ । छलफलका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल–चीन सम्बन्धले व्यापार, लगानी, र सहकार्यका लागि ठूलो सम्भावना बोकेको चर्चा गर्दै नेपाली उत्पादनको बजार पहुँच र निर्यात तथा सीमापार व्यापारमा चीनको सहयोग आवश्यक रहेको बताउनु भयो ।

चीनको वाणिज्य मन्त्रालय अन्र्तगतको चाइना ट्रेड ब्यूरोका महानिर्देशक लिउ डायन समले नेपालका विभिन्न क्षेत्रमा चिनीयाँ लगानी भइरहको र अन्य क्षेत्रमा समेत लगानी गर्न तथा दुई देशबीचको व्यापार सम्बनधलाई थप राम्रो बाउन आफुहरु सधै तयार रहेको बताउनु भयो । उहाँले दुई देशबीचको सीमापार व्यापारलाई सहज बनाउन र नेपालको पर्यटन प्रवद्र्धनका लागि थप सहयोग आदान–प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल स्थित चिनीयाँ दुतावासका इकोनोमिक एण्ड कर्मश सेक्सनका सेकेन्ड सेक्रेटरी लि चाउले नेपालको व्यवासाय प्रर्वद्धन तथा चिनीयाँ सहयोगका लागि द्तावास सधैं सकारात्मक रहेको बताउनु भयो ।

छलफलका क्रममा महासंघका उपाध्यक्ष हेमराज शर्माले नेपालको उद्योग तथा व्यवसाय प्रवद्र्धनमा चीनीयाँ प्रविधि, पुँजी र अनुभवले महत्वपूर्ण योगदान दिने बताउँदै त्यसको लागि चिनीयाँ पक्षको सहयोग आवश्यक रहेको बताउनु भयो । यस्तै अर्का उपाध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेकोले यस क्षेत्रमा सहकार्य र लगानीका लागि आग्रह गर्नुभयो । यस्तै महासंघका केन्द्रीय सदस्य एवं व्यापार मेला समितिका सभापनि उमेश डालमियाले चीनमा आयोजना हुने मेलामा नेपाली व्यवसायीहरुको सहभगिताको लागि थप सहयोग एवं सहकार्यका लागि चिनीयाँ पक्षलाई आग्रह गर्नुभयो ।

वैशाख २५ गते देखि सुरु भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा सहभागि हुन यति बेला चिनीयाँ र बंगलादेशी व्यवसायीको समुह नेपालमा रहेको छ । मेलामा शुक्रवार करिब ५ हजार दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)