शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य: प्रचण्ड


  • माउन्टेन खबर
  • शनिबार, भदौ २१, २०८२
  • 151
    SHARES

पोखरा –  नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।”

अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।”

उहाँले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राख्नुभयो।

अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।”

उहाँले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताउनुभयो।

सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।”

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।”

सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाउनुभयो। “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन,” उहाँले भन्नुभयो।

संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको प्रचण्डले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं।”

उहाँले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, “उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।”

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, “नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।”

कार्यक्रमको विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप प्रदान गर्नुभयो।

कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)