शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्राउन प्लाजा लुम्बिनी सञ्चालनको तयारी: लुम्बिनी हेरिटेज होटल र आईएचजीबीच सहकार्य


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १७, २०८२
  • 311
    SHARES

काठमाडौँ –  अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एण्ड रिसोर्टस् र लुम्बिनी हेरिटेज लिमिटेडबीच भारतको राजधानीमा नयाँ दिल्लीमा एक विशेष समारोहमा सहकार्य सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्य र आइएचजी होटल्स एण्ड रिसोर्टस्का दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।

यस सम्झौतासँगै आइएचजीले पहिलो पटक काठमाडौँ बाहिर सेवा विस्तार गर्दै लुम्बिनीमा आफ्नो प्रिमियम ब्रान्ड क्राउन प्लाजा सञ्चालन गर्नेछ । हाल लुम्बिनीमा सञ्चालनमा रहेको लुम्बिनी हेरिटेज होटललाई पुनःब्रान्डिङ गरी ‘क्राउन प्लाजा लुम्बिनी’ नाम दिइने छ।

यसअघि ‘पवन प्यालेस लुम्बिनी’का नाममा सञ्चालनमा रहेको यो होटललाई अधिग्रहणपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुनःरूपान्तरण गरिएको हो। होटलमा कुल १४७ कोठा, जसमा ७ स्वीट रुमसहित, आधुनिक बहुउद्देश्यीय हल, रेष्टुराँ, फिटनेस सेन्टर, स्वीमिङ पूल र अन्य प्रिमियम सुविधा रहनेछन्। साथै, आगामी आठ महिनाभित्र क्यासिनो सेवा सुरु गर्ने योजना समेत कम्पनीले जनाएको छ।

लुम्बिनी हेरिटेज लिमिटेडको होटल भगवान गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट करिब ९ किलोमिटर दूरीमा अवस्थित छ। कम्पनीले सन् २०२६ भित्र सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने योजना पनि अघि सारेको छ।

लुम्बिनी हेरिटेज लिमिटेडका अध्यक्ष सुभाष अमात्यले भने, “आइएचजीसँगको सहकार्यले लुम्बिनीको आतिथ्य सेवा नयाँ स्तरमा पुग्नेछ र यस क्षेत्रको पर्यटन सम्भावनामा थप ऊर्जा भर्नेछ ।”

त्यसैगरी, आइएचजीका प्रबन्ध निर्देशक सुदीप जैनले भने, “क्राउन प्लाजा लुम्बिनीसँगै नेपालमा हाम्रो उपस्थितिलाई पुनः सुदृढ गर्न पाउँदा हामी खुशी छौं। आधुनिक डिजाइन र उत्कृष्ट सेवासहित, यो होटल स्वदेशी तथा विदेशी पाहुनाहरूका लागि उत्कृष्ट गन्तव्य बन्नेछ।”

आइएचजीको क्राउन प्लाजा ब्रान्ड पहिले नेपालमा सोल्टी होटल काठमाडौंमा सञ्चालित थियो। सो सम्झौता १४ मे २०२१ मा समाप्त भएपछि लुम्बिनी हेरिटेजमार्फत क्राउन प्लाजा पुनः नेपाल फर्किएको छ।

यस सम्झौताले पर्यटन प्रवर्द्धन, रोजगारी सृजना र अन्तर्राष्ट्रिय लगानी आकर्षणमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)