आइतवार, कार्तिक ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गगन थापाको डिजिटल नेपाल खाकाः पाँच वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाख रोजगारीको लक्ष्य [भिडियो]


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ४, २०८२
  • 210
    SHARES

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन् । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा । पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ । दुई लाख भन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ ।’

केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटप चलाएरै मासिक ३-४ लाख कमाउन सकिन्छ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको उनले स्पष्ट पारे ।

अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै उनले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औंल्याए ।

थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्रै करिब ४ खर्ब रुपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने दाबी गरे ।

उनको योजनामा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ ।

उनले भने, ‘२ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने,कम्तीमा २०० नेपाली आईटी कम्पनीलाई विश्वबजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्न सकिन्छ ।’

यसका लागि उनले स्थिर कर नीति, सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादनका लागि ‘ट्यालेन्ट हब’ निर्माण, र सार्वजनिक (निजी साझेदारीको मोडल अघि सारेका छन्। अब नेपाल फ्रिल्यान्सिङ र बीपीओमा मात्र सीमित नभई आफ्नै डिजिटल उत्पादन निर्माण र निर्यातमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । सरकारले पनि स्वदेशी प्रविधि र उत्पादनलाई प्राथमिकताका साथ प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

सभापति थापाले भने, ‘आईसीटीको क्षेत्रमा रहेको करको दायरलाई स्थिर बनाउनुका साथै केही कानूनी अड्चनहरू हटाउनु जरूरी छ। यसले गर्दा आईसीटी सेक्टरले केही वर्षभित्रै व्यापक सुधार ल्याउन सक्छ।

‘https://www.facebook.com/reel/904361789120879

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)