बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्तिबारे रास्वपा सांसदलाई प्रश्न गर्न मतदातालाई सभापति थापाको आह्वान


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 136
    SHARES

रूपन्देही –  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेशस्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्नुभयो।

“हाम्रो देशले पनि अरूको सिमाना मिचेको छ भन्ने जस्तो राष्ट्रघाती अभिव्यक्तिमा समर्थन जनाउन सांसदहरूलाई जनताले संसदमा पठाएका होइनन्,” उहाँले भन्नुभयो, “त्यसका विरुद्ध बोल्न र जवाफदेही बनाउन मतदाताहरूले दबाब दिनुपर्छ।”

प्रधानमन्त्रीले नबुझी बोलेको भए चिन्ताजनक र बुझेरै बोलेको भए झन् खतरनाक हुने टिप्पणी गर्दै सभापति थापाले उक्त अभिव्यक्तिले नेपाली जनताको शिर निहुरिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीलाई तत्काल संसदमा गएर आफ्नो अभिव्यक्ति फिर्ता लिन र जनतासँग माफी माग्न सुझाव दिनुभयो।

“सरकारले राम्रो काम गर्दा सघाउने र गलत काम गर्दा खबरदारी गर्ने वा सच्याउन बाध्य पार्ने प्रतिपक्षको धर्म हो, र त्यो जिम्मेवारी काँग्रेसले निर्वाह गर्छ,” सभापति थापाले भन्नुभयो। प्रधानमन्त्री शाहलाई यस विषयमा माफी नमागी जनताले नछाड्ने उहाँको दाबी थियो।

सभापति थापाले संसदबाट जबरजस्ती प्रतिनिधि सभा नियमावली २०८३ पारित गरिएको भन्दै त्यसप्रति पनि कडा आपत्ति जनाउनुभयो। सभामुख र सत्तारुढ दलले यस विषयमा पुनर्विचार नगरे अदालत जाने संकेत गर्दै उहाँले उक्त घटनालाई संसदीय इतिहासकै कालो दिनको संज्ञा दिनुभयो।

पार्टीको आन्तरिक विषयमा बोल्दै उहाँले आगामी निर्वाचनमा उम्मेदवार बन्न नेताहरूलाई रिझाएर होइन, कार्यकर्तालाई विश्वासमा लिएर अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो। क्रियाशील सदस्यता अध्यावधिकको मुख्य उद्देश्य उम्मेदवार छनोट प्रक्रियामा क्रियाशील सदस्यहरूको मतलाई आधार बनाउनु रहेको उहाँले बताउनुभयो।

“सम्बन्धित पदका लागि कुन व्यक्ति उपयुक्त हुन्छ भनेर हामी सर्वेक्षण गर्नेछौं र त्यसैका आधारमा उम्मेदवार चयन गर्नेछौं,” उहाँले भन्नुभयो, “अध्यावधिकको मुख्य उद्देश्य पनि यही हो।”

सभापति थापाले भ्रातृ संस्थाहरूको अधिवेशन प्रक्रिया तीव्र गतिमा अघि बढेको जानकारी दिँदै आगामी चैतभित्र सबै भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्ने गरी तयारी भइरहेको बताउनुभयो। पार्टीको औपचारिक संरचनाभन्दा बाहिर रहेका व्यक्तिहरूलाई पनि समेट्ने कार्यक्रम ल्याइने उहाँले जानकारी दिनुभयो।

“मैले तपाईंहरूको शिर निहुरिन नदिने अठोट गरेको छु, तर त्यसका लागि तपाईंहरूको साथ चाहिन्छ,” उहाँले भन्नुभयो। चार पुस्तालाई समेट्दै सबै वर्ग र समुदायलाई साथ लिएर अघि बढ्नुपर्ने भएकाले केही कमी–कमजोरी भए पनि सिक्दै र सुधार्दै अगाडि बढ्ने उहाँको भनाइ थियो।

एक वर्ष राम्रोसँग काम गर्न सके चुपचाप पार्टी छोडेर गएकाहरू हल्ला गरेर फर्किने सभापति थापाले दाबी गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)