काठमाडौँ- डोटीको बडिकेदार गाउँपालिकामा रहेको केदार सूर्य बहुमुखी क्याम्पस भवन आइतवार उद्घाटन गरिएको छ ।
बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभएको हो ।
प्रत्येक तलामा सातवटा कोठा र अन्य सुविधा उपलब्ध गराइएको दुईतले क्याम्पस भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा गरिएको दूतावासले जनाएको छ ।
क्याम्पसमा ब्याचलर अफ एजुकेसन (बिएड) र ब्याचलर अफ बिजनेस स्टडिज (बिबीएस) कार्यक्रम सञ्चालनमा छ ।
उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारद्वारा नेपालका ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी विभिन्न क्षेत्रहरूमा करिब ६०० वटा परियोजनाहरु अघि बढाइएका छन्।
तीमध्ये डोटी जिल्लाका ४ वटा परियोजनाहरु सहित ४७ वटा परियोजनाहरु सुदूरपश्चिम प्रदेशमा रहेका छन्। यसको अतिरिक्त डोटी जिल्लामा ९ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सहित भारत सरकारले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई ७८ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ।
