काठमाडौं – नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत असोज ३ गते हुने वडा अधिवेशन नरोकिने स्पष्ट पार्नुभएको छ ।
बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजकले सामाजिक सञ्जालमा अधिवेशन सर्ने भन्दै भइरहेका प्रचारमा सत्यता नभएको बताउनुभएको हो । उहाँले संवैधानिक व्यवस्था, सर्वोच्च अदालतको फैसला र निर्वाचन कार्य तालिकाअनुसार वडा अधिवेशन निर्धारित मितिमै अघि बढ्ने दाबी गर्नुभयो । उहाँकाअनुसार ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ भने उनीहरूले सम्बन्धित जिल्लामा पुगेर जिल्ला सभापति तथा स्थानीय पार्टी नेतृत्वसँग समन्वय गरिरहेका छन् ।
प्रत्येक वडामा मतदान अधिकृतसमेत खटाइसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले काँग्रेसको अधिवेशनलाई पार्टीको आन्तरिक निर्वाचन मात्रै नभई संवैधानिक सर्वोच्चता र विधिको शासनसँग समेत जोडेर हेर्नुपर्ने बताउनु भयो । सर्वोच्च अदालतको फैसला विपरीत काँग्रेस अघि नबढ्ने भन्दै उहाँले अधिवेशन नरोकिने स्पष्ट पार्नुभयो । निर्वाचन व्यवस्थापनमा सङ्घीयताको अभ्याससमेत गरिएको उहाँको भनाइ छ ।
सातै प्रदेशमा कमान्डर तोकिएको र उनीहरूकै सिफारिसका आधारमा ७७ जिल्लामा निर्वाचन अधिकृत नियुक्त गरिएको उहाँले बताउनु भयो ।
जिल्लामा समेत स्थानीय तहअनुसार निर्वाचन व्यवस्थापनको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।
बाढी तथा विपद्बाट प्रभावित केही जिल्लामा अधिवेशन प्रभावित हुने अवस्था रहे पनि स्थलगत जानकारी र निर्वाचन अधिकृतहरूको रिपोर्टका आधारमा अधिवेशन सञ्चालन गर्न सकिने निष्कर्षमा पुगेको उहाँले बताउनु भयो । विशेष गरी धादिङ र नुवाकोटका केही क्षेत्रमा समस्या रहेको उल्लेख गर्दै उहाँले प्रभावित क्षेत्रबारे स्थलगत अध्ययन तथा सम्बन्धित प्रतिनिधिसँग छलफल भइरहेको बताउनुभयो ।
धादिङको एक क्षेत्रमा एउटै परिवारका ठुलो सङ्ख्यामा सदस्यको मृत्यु भएको जानकारी आएको भए पनि अन्य क्षेत्रमा अधिवेशन सञ्चालन गर्न सकिने रिपोर्ट प्राप्त भएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘आगामी ३ गते हुने वडा अधिवेशन निर्धारित कार्य तालिकाअनुसार नै अघि बढ्छ, यो स्थगित हुँदैन । यसको मुख्य आधार संवैधानिक सर्वोच्चता र विधिको शासन हो । पार्टीको संवैधानिक व्यवस्थाअनुसार चार वर्षे कार्यकाल पूरा हुने अवस्थामा पाँच वर्षभन्दा पर अधिवेशनलाई लैजान मिल्दैन ।
त्यसै गरी, सर्वोच्च अदालतले सम्बन्धित रिट खारेज गर्दै निर्वाचनसम्बन्धी कार्य तालिका समेत सार्वजनिक भइसकेको अवस्थालाई आफ्नो फैसलामा आधार मानेको छ ।
नेपाली काँग्रेस संविधान, विधिको शासन र सर्वोच्च अदालतको फैसलाप्रति प्रतिबद्ध भएकाले अदालतको निर्णय विपरीत जाने प्रश्न उठ्दैन । त्यसैले निर्धारित कार्य तालिकाअनुसार ३ गतेको वडा अधिवेशन सम्पन्न हुन्छ ।’
जिल्ला र प्रदेश अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी यसअघि नै कार्यपालिका तय गरिएको उहाँले स्पष्ट पार्नुभयो । वडा, क्षेत्र र प्रदेश तहबाट महाधिवेशनका लागि आवश्यक मतदाता तयार भएपछि केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रक्रिया अघि बढाइने उहाँले बताउनु भयो ।
निर्वाचन समितिका संयोजकले सञ्चारमाध्यममार्फत अधिवेशन सर्ने विषयमा फैलिएका भ्रम चिर्न आग्रहसमेत गर्नुभयो ।
काँग्रेस महाधिवेशनका लागि ९ हजार निर्वाचन अधिकृत फिल्डमा
काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचनका लागि करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा खटिइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका सदस्यसचिव राजु कटुवालले ३ र ४ गते हुने वडा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको दाबी गर्नुभयो । उहाँको का अनुसार ७७ जिल्लामा ७७ जना, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १६५ जना, ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३० जना, ७५३ पालिकामा ७५३ जना र ६ हजार ७४३ वडामा ६ हजार ७४३ जना निर्वाचन अधिकृत खटाइएको छ । उनीहरूलाई सहयोग गर्न सोही अनुपातमा मतदान अधिकृतसमेत परिचालन हुनेछन् ।
कटुवालका अनुसार १५ औँ महाधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिसहित करिब साढे ३ लाख प्रतिनिधि चयन हुने प्रारम्भिक अनुमान छ ।
हालको अनुमानअनुसार वडा तहबाट मात्रै करिब २ लाख ९६ हजार ६९२ जना प्रतिनिधि तथा पदाधिकारी चयन हुनेछन् । उहाँले महाधिवेशन प्रतिनिधिको सङ्ख्या पनि करिब ७ हजारको हाराहारीमा पुग्ने अनुमान रहेको बताउनु भयो ।
१५० क्रियाशील सदस्यको सिलिङका आधारमा १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट ५ हजार ४४५ जना, प्रदेशसभा क्षेत्रका पदेन प्रतिनिधि ३३० जना र पालिका सभापतिबाट ७५३ जना महाधिवेशन प्रतिनिधि आउने प्रारम्भिक हिसाब रहेको उहाँले बताउनु भयो ।
विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट आउने प्रतिनिधि थपिएपछि सङ्ख्या अझ बढ्न सक्ने उहाँको भनाइ छ ।
निर्वाचन समितिले करिब ८ लाख ७० हजार क्रियाशील सदस्यको डिजिटल विवरण प्राप्त गरिसकेको जनाएको छ ।
रसुवा, नुवाकोट र धादिङलगायत केही जिल्लाको विवरण अन्तिम रूप दिन बाँकी रहेकाले ती जिल्लाको विवरण पछि थपिने कटुवालले बताउनु भयो ।
निर्वाचन समितिले क्रियाशील सदस्यको नामावलीलाई पीडीएफ फाइलमा तयार गरी सम्बन्धित जिल्लामा पठाउने तयारी गरिरहेको छ ।
उहाँकाअनुसार तीन जिल्ला बाहेक ७४ जिल्लामा नामावली पठाउने काम अघि बढेको छ । कटुवालले यस पटकको महाधिवेशनलाई केही हदसम्म डिजिटल बनाउने योजना रहेको पनि बताउनु भयो ।
निर्वाचन निर्देशिकामा ‘अनुसूची २५’ मार्फत वडा कार्यसमिति, क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिको सङ्ख्या र विभिन्न समुदायको प्रतिनिधित्वसम्बन्धी व्यवस्था सहज रूपमा बुझ्न सकिने गरी तालिका राखिएको उहाँको भनाइ छ ।
महाधिवेशनलाई महिलामैत्री बनाउने उद्देश्यले निर्वाचन अधिकृतको भूमिकामा महिला कानुन व्यवसायीको सहभागिता बढाइएको समितिले जनाएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका १५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १८ जना महिला कानुन व्यवसायी निर्वाचन अधिकृतका रूपमा खटिएका छन् । यस्तै अर्घाखाँचीमा अन्जु रेग्मी निर्वाचन अधिकृतका रूपमा खटिएकी छन्। यससँगै १९ जना महिला कानुन व्यवसायी प्रत्यक्ष रूपमा निर्वाचन अधिकृतको भूमिकामा सक्रिय रहेको कटुवालले जानकारी दिनुभयो । उहाँले ३ र ४ गतेको वडा तहको निर्वाचन निर्धारित समयमै हुने दाबी गर्दै महाधिवेशन सर्ने विषयमा कुनै दुबिधा नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
