काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले रसुवा बाढीपीडित नागरिकलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजीकरण गर्न सरकारलाई सचेत गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले राहत र पुनस्र्थापनामा ढिलाई गरेर प्रभावित नागरिकलाई अन्योलमा नराख्न आग्रह गर्नुभएको हो । उहाँले बाढीमा परी बेपत्ता भएका नागरिकका आफन्तले फेला पर्ने आशा त्यागेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेको बताउनु भयो । उहाँले बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको मृत्युको औपचारिक पुष्टि तथा आवश्यक कागजी प्रक्रिया टुंगो नलाग्दा प्रभावित परिवारले दोहोरो पीडा भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘रसुसा बाढीमा फसेका तथा मृत्यु भएकाका परिवारले फेला पर्ने आश मारेर कुशको आकृति बनाएर अन्तिम संस्कार गरिरहेका छन् । तर आश्रित परिवारको पुनरुत्थानमा भने अनेक बाधा परेको देखिन्छ । आफन्तजनको मृत्युले औपचारिकता र निश्चित कागजी प्रक्रियाको टुंगो नपाउँदा प्रभावित परिवार दोहोरो मारमा छन् । नागरिकको कानूनी हैसियत, सम्पतीको हक हस्तान्तरणलगायत राज्यबाट प्राप्त हुने सेवा सुविधाको उपभोगमा तत्काल न्यायिक तथा प्रशासनिक बाटो प्रशस्त गरिनुपर्छ । राहत र सामाजिक सुरक्षा उपलब्ध गराउने कार्यविधि तोक्न विलम्व गरेर नागरिकलाई अन्योलमा राखिरहने छुट सरकारलाई हुनुहुँदैन ।’
उहाँले बाढीपीडित नागरिकको कानुनी हैसियत कायम गर्ने, सम्पतीको हक हस्तान्तरण गर्ने तथा राज्यबाट प्राप्त हुने सेवा–सुविधा उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल
