काठमाडौँ- भारतीय प्रधानसेनापति जनरल धिरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज आयोजना हुने विशेष समारोहमा भारतका स्थल सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल धिरज सेठ चार दिने भ्रमणको सिलसिलामा हिजो (आइतबार) काठमाडौँ आइपुग्नुभएको हो ।
नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई २७ मङ्सिर २०८१, बिहीबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको थियो ।
नेपाल–भारतबिचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ ।
मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।
