काठमाडौँ – करिब साढे चार वर्षअघि सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्षको कार्यकाल पुरा गरेका किरण थापा मगर बागमती प्रदेशको मूख्यमन्त्री नियुक्त भएका छन् । वडाध्यक्ष पछिको साढे चार बर्षमा उनी बागमती प्रदेशसभा सदस्य बने, दुईपटक प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हाले र अब बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
नेपाली राजनीतिमा यति तीव्र गतिमा जिम्मेवारीको उचाइ पुग्ने नेताहरू अपवादमा मात्रै हुन्छन् । स्थानीय तहको नेतृत्वबाट प्रदेशको सर्वोच्च कार्यकारी पदसम्मको उनको यात्रा राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ ।
नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले थापालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय गरेसँगै उनको राजनीतिक यात्राले अर्को महत्वपूर्ण मोड लिएको छ । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेपछि बागमती प्रदेशको नेतृत्व एमालेको भागमा परेको हो ।
मुख्यमन्त्रीका लागि एमालेभित्रै तीव्र प्रतिस्पर्धा र आन्तरिक छलफल चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत निरन्तर चासो र छलफलपछि थापाको नाममा सहमति जुटेको थियो । पछिल्लो समय थापालाई अध्यक्ष ओलीका विश्वासपात्र नेताका रूपमा समेत हेर्ने गरिएको छ । एमालेभित्र उनको बढ्दो राजनीतिक प्रभाव र पार्टी नेतृत्वसँगको निकट सम्बन्धले पनि मुख्यमन्त्रीको दौडमा उनलाई बलियो बनाएको हो । तर थापाको राजनीतिक उचाइ एकैपटक बनेको भने होइन ।
राप्रपाबाट एमाले, एमालेबाट सत्ताको केन्द्रसम्म
किरण थापाको राजनीतिक पृष्ठभूमि भने अहिलेको दल एमालेबाट सुरु भएको होइन । उनी यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमालेमा प्रवेश गरेको एक दशकमा उनले पार्टीबाट धेरैवटा महत्वपूर्ण अवसर र जिम्मेवारी प्राप्त गरिसकेका छन् । स्थानीय राजनीतिमा सक्रिय थापा एमाले प्रवेश गरेपछि सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष बने । स्थानीय जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर पाएपछि उनको राजनीतिक यात्रा स्थानीय तहबाट प्रदेश राजनीतितर्फ अघि बढ्यो ।
पाँच बर्षसम्म वडाध्यक्ष रहेका उनी त्यसपछि बागमती प्रदेशसभामा पुगे । प्रदेशसभा सदस्य बनेपछि उनको राजनीतिक उचाइ अझ तीव्र गतिमा बढ्यो । प्रदेश सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । अझ रोचक कुरा–उनी दुईपटक स्वास्थ्य मन्त्री बने । स्थानीय तहको वडाध्यक्षबाट प्रदेश सांसद, त्यसपछि दुईपटक मन्त्री र अब मुख्यमन्त्री ।
वडा अध्यक्षको कार्यकाल सकिएको करिब साढे चार वर्षको यो यात्रा हेर्दा थापाको राजनीतिक आरोहण असाधारण देखिन्छ ।
स्वास्थ्य मन्त्रालयमा काम गर्ने अवसर
थापाको राजनीतिक यात्रामा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि महत्वपूर्ण अध्याय हो । स्वास्थ्य मन्त्रीका रूपमा उनले आफ्नो जिम्मेवारीलाई सकारात्मक ढंगले अघि बढाउने प्रयास गरेका थिए । प्रदेशमा काम गर्ने मन्त्रीका रुपमा उनको मात्रै चर्चा हुन्थ्यो । प्रदेशका स्वास्थ्य संस्था, स्वास्थ्य सेवा विस्तार र नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयलाई उनले प्राथमिकतामा राखेर काम गरेका थिए ।
मन्त्रीका रूपमा छोटो समयमै प्रभाव देखाउने कार्य गर्न सफल रहेका कारण पनि पार्टी नेतृत्वले उनलाई महत्वपूर्ण जिम्मेवारीका लागि योग्य ठानेको एमाले नेताहरू बताउँछन् ।
राजनीतिमा पद पाउनु एउटा कुरा हो, पाएको जिम्मेवारीमा आफ्नो उपस्थिति देखाउनु अर्को कुरा । थापाको हकमा स्थानीय तहदेखि प्रदेश सरकारसम्मका जिम्मेवारीले उनको राजनीतिक क्षमताको परीक्षण गर्ने अवसर दिएको देखिन्छ ।
अंकगणितको चुनौती
तर मुख्यमन्त्री बन्ने निर्णयसँगै थापासामु राजनीतिक चुनौती पनि उत्तिकै थियो । १०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार बनाउन ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर एमाले र नेकपासँग जम्मा ५१ जना मात्र छन् । त्यसमा पनि एमालेकी अप्सरा चापागाईं उपसभामुख रहेकाले सरकार गठनको अंकगणितमा थप जटिलता देखिन्थ्यो । तर राप्रपाको एक समूहले समर्थन गर्ने लिखित पत्र प्रदेश प्रमुखलाई पठाएपछि भने किरण थापा मूख्यमन्त्री भएका हुन् ।
यद्यपि राप्रपा भित्रको खिचातानीले मुख्यमन्त्रीले विश्वासको मत लिने आधार भने धर्मराएको छ ।
ओलीको विश्वास र नयाँ जिम्मेवारी
एमालेभित्र अध्यक्ष ओलीको निर्णय र विश्वास राजनीतिक अवसरका लागि महत्वपूर्ण मानिन्छ । थापाको हकमा पनि यही सम्बन्ध अहिले निर्णायक बनेको देखिन्छ ।
मुख्यमन्त्रीका लागि एमालेभित्रै आकांक्षीहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला अध्यक्ष ओलीले थापासहितका नेताहरूसँग निरन्तर छलफल गरेका थिए । अन्ततः संसदीय दलको बैठकले थापाको नाममा निर्णय गर्यो । थापाले प्रदेशमा मिलनसार राजनीतिज्ञको छवी स्थापित गरेका छन् ।
