काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै राजदूत श्रीवास्तवले त्यहाँ खटिएका भारतीय प्राविधिक टोली र नेपाली सेनाको संयुक्त प्रयासको प्रशंसा पनि गरे । बाढी वा पहिरोका कारण अवरुद्ध सुरुङ उत्खनन गरी उद्धार कार्यलाई तीव्रता दिन दुवै देशका टोलीहरू अहोरात्र खटिएका उनले लेखेका छन् ।
राजदूत श्रीवास्तवका अनुसार भारतीय प्राविधिक टोली विशेष उपकरणहरू प्रयोग गरी सुरुङभित्र करिब १०० मिटरको दूरीसम्म पहुँच पुर्याउन सफल भइसकेको छ । उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र भित्रसम्म पुग्न अब ठुला तथा भारी मेसिनरी उपकरणहरू ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
निरीक्षणका क्रममा राजदूतले कार्यस्थलको भौगोलिक अवस्था निकै कठिन रहेको पनि उल्लेख गरेका छन् । ‘सुरुङभित्रको जमिन दलदलजस्तो र भौगोलिक बनावट निकै चुनौतीपूर्ण छ,’ उनले लेखेका छन्, ‘तर यति कठिन परिस्थितिमा पनि भारतीय र नेपाली टोलीहरू अविचलित भई आफ्नो काममा लागिपरेका छन् ।’
गत असोजमा आएको बाढी–पहिरोपछि चिलिमे जलविद्युत् आयोजनाको संरचनामा क्षति पुगेको छ, जसको पुनर्स्थापना र उद्धारका लागि दुवै देशका सुरक्षा र प्राविधिक निकायहरू परिचालित छन् ।
