काठमाडाैँ – त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरस्थित पृथ्वीराजमार्गको सडकखण्ड भासिएपछि नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको छ ।
गत भदौ १० गते र त्यसपछि आएको त्रिशूली नदीको बाढीले सडकको ठूलो हिस्सा कटान गरी बगाएपछि कृष्णभीर क्षेत्रमा पृथ्वीराजमार्गको सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो । सडक बगाएपछि उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको थियो ।
यातायात आवागमनलाई पुनः सञ्चालनमा ल्याउने उद्देश्यले सडक विभाग तथा सम्बन्धित निकायको पहलमा अहिले वैकल्पिक मार्ग निर्माणका लागि नयाँ ट्रयाक खोल्ने कामलाई तीव्रता दिइएको छ । नयाँ ट्रयाक तयार गरी राजमार्गलाई पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
बाढीले सडक कटान गरेपछि राजधानी काठमाडौंलगायत विभिन्न जिल्लाबाट धादिङ हुँदै पूर्व–पश्चिमतर्फ जाने यातायात प्रभावित भएको छ । राजमार्गको महत्वपूर्ण खण्ड नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले थप समस्या व्यहोर्नुपरेको छ ।
यसैबीच, गत भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीमा परी ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी मृत्यु भएका १ हजार २ सय जनाको शव फेला परेको जनाइएको छ भने ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन रहेको बताइएको छ ।
बाढीबाट सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ । क्षतिग्रस्त सडक तथा राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायले पुनर्निर्माण तथा वैकल्पिक मार्ग निर्माणको काम अघि बढाएका छन् ।
— न्युज एजेन्सी नेपाल
