काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दसैँ, तिहार लगतै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।
शुक्रवार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले नयाँ भनिएको सरकारले सुकुम्वासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताउनु भयो । उहाँले चाडपर्वपछि देशको परिस्थितिको मूल्याङ्कन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताउनु भयो । उहाँले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताउनु भयो । उहाँले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको एजेडाप्रति आकर्षण बढ्दै गएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ । सरकारले सुकुम्वासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ । त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ ।
चाडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरी प्रतिक्रान्तिकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नु छ । हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो त्यो च्यातिँदै छ । र एउटा नयाँ ढङ्गले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू र उनीहरूको एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ । हामी मधेस, बागमती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरी नेपाली कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ । हामी सबै आआफ्नो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने छिट्टै हाम्रो आन्दोलनमा आउन सक्ने अवस्था छ ।’
सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको संयोजक दाहालको आरोप छ । –न्युज एजेन्सी नेपाल
