काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ को अवधारणा कडाइका साथ लागू गर्ने संकेत गर्नुभएको छ ।
१५ औँ महाधिवेशनमा सोमवार बन्दसत्रमा आफ्ना धारणा राख्दै उहाँले अब केन्द्रिय समितिमा रहेका नेताहरूले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा उम्मेदवारी दिँदा प्राथमिकता नपाउने र उनीहरूलाई टिकट वितरण प्रक्रियाबाट बाहिर राखिने चेतावनी दिनुभएको हो । थापाले पार्टी संगठनलाई थप सुदृढ र व्यावसायिक बनाउन यो कदम आवश्यक रहेको जिकिर गर्नुभयो । यसअघिका अभ्यासभन्दा फरक ढंगले प्रदेश समितिलाई अधिकारसम्पन्न बनाउने योजना पनि सार्वजनिक गर्नुभयो । उहाँकाअनुसार, अब गठन हुने प्रदेश समितिहरू केवल नाम मात्रको हुने छैनन् ।
उहाँले भन्नुभयो, ‘हामी पार्टी संगठनमा एक व्यक्ति, एक पदको अवधारणालाई प्राथमिकता दिन्छौँ। त्यसैले केन्द्रीय समितिमा रहेका व्यक्तिले तत्कालै स्थानीय वा प्रदेश निर्वाचनमा उम्मेदवारी दिने विषयमा स्पष्ट मापदण्ड बनाइनेछ । यसपटक प्रदेश समितिलाई विगतको भन्दा बढी अधिकारसम्पन्न र प्रभावकारी बनाइनेछ । प्रदेश सभापतिलाई केन्द्रिय समिति मात्र होइन, कार्यसम्पादन समितिको समेत पदेन सदस्य बनाउने व्यवस्था गर्दै प्रदेश संगठनलाई थप शक्तिशाली बनाइनेछ ।’
प्रदेश सभापतिहरूलाई पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको पदेन सदस्य रहने गरी विधानबाटै अधिकार दिइने उहाँले बताउनु भयो । यो व्यवस्थाले तल्लो तहको नेतृत्वलाई थप सक्रिय र जवाफदेही बनाउने पार्टी नेतृत्वको विश्वास छ । –न्युज एजेन्सी नेपाल
