सोमवार, अशोज १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार


  • माउन्टेन खबर
  • सोमवार, अशोज १९, २०८३
  • 33
    SHARES

काठमाडौँ – नेपाली काँग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ ।

 

संशोधित विधानले पार्टीको केन्द्रिय कार्यसमितिलाई २९७ सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको हो । समावेशी प्रतिनिधित्व, युवाहरूको सहभागिता र पेसागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले काँग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चालिसेले बताउनु भयो ।

काँग्रेसले आफ्नो विधानलाई समयसापेक्ष बनाउँदै सांगठनिक संरचनालाई थप विस्तार गरेको छ । संशोधित व्यवस्थाअनुसार केन्द्रिय कार्यसमितिमा सभापतिबाहेक वरिष्ठ उपसभापतिसहितका पदाधिकारीको व्यवस्था गरिएको छ । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका समुदायलाई नेतृत्वमा स्थापित गर्न क्लस्टरगत आरक्षणको व्यवस्थालाई कडाइका साथ लागू गरिएको छ ।

नयाँ विधानको अर्को मुख्य विशेषता ३५ वर्षमुनिका २१ जना युवाहरूलाई अनिवार्य रूपमा केन्द्रिय समितिमा स्थान दिनु हो । यसका साथै, पेशागत क्षेत्रका विज्ञहरू (इन्जिनियर, चिकित्सक, पत्रकार, प्राध्यापक आदि) लाई समेत कोटा निर्धारण गरी ७ जनालाई केन्द्रिय समितिमा स्थान दिइएको छ । प्रवासमा रहेका नेपालीहरूको भुमिकालाई उच्च मूल्याङ्कन गर्दै जनसम्पर्क समितिबाट पनि ७ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

प्रवक्ता चालिसेकाअनुसार केन्द्रिय कार्यसमितिमा सभापतिबाट ६६ जना मनोनित हुनेछन् । यति ठूलो संख्याको केन्द्रिय समिति बनाउनुको अर्थ ‘कार्यक्षेत्र विस्तार’ गर्नु भएको उनले स्पष्ट पार्नुभयो ।
यसअघि अधिवेशनको बन्द सत्रमा कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पनि पारित भएको छ । मितव्ययी ढंगले अधिवेशन सम्पन्न भइरहेको दाबी गर्दै प्रवक्ता चालिसेले पार्टी सदस्यहरूको सहयोग र सक्रियताले नै काँग्रेसले यति ठूलो कार्यक्रम थोरै खर्चमा सम्पन्न गर्न सकेको बताउनु भयो । विधान पारित भएसँगै अब निर्वाचन प्रक्रिया अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)