काठमाडौँ । सरकारले तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।
भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई लक्षित गर्दै विपद्सम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न अध्यादेश ल्याउन लागिएको उहाँले बताउनुभयो । विशेषगरी विपद्का क्रममा बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान कानुनी व्यवस्थालाई छोट्याउने गरी अध्यादेश तयार गरिएको उहाँको भनाइ छ ।
मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपतिबाट अध्यादेश जारी भएमा संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ ।
