शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसको १५ औँ महाधिवेशनमा मतगणना सकियो, शपथग्रहण दशैँपछि


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ३०, २०८३
  • 53
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । मधेस प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्व पीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको उनले बताए । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले केही बेरमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ । अन्य पदहरूको भने यसअघि नै गणना सम्पन्न भइसकेको थियो ।

 

गत असोज २३ गते मतदान गरी त्यहीदिन राति सभापतिको मतगणना गरेर शुरू भएको मतगणना कार्य झण्डै एक हप्तामा सकिएको हो । राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।

अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । १४ औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यस पटक सात हजार ३९२ मतदाताको मतगणना एक हप्तामा सकिएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।

उनका अनुसार गणना शुरू भएकै दिनदेखि दिन र रातमा झण्डै २५ समूह बनाएर गणना गराइएको थियो । मतदान तथा मतगणनाका क्रममा कुनै विवाद सृजना नभएको र सौहार्दपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको उनको भनाइ छ ।

यस पटक झण्डै एक लाख ६२ हजार मतपत्र गणना गर्नु परेको उनले बताए । कूल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ ओटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो ।

अघिल्लो महाधिवेहअधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालको दाबी छ । उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दशैँ लगत्तै गर्ने तयारी भएको छ । त्यसपछि नै यो कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले जानकारी दिएका छन् । उक्त बैठकमै स्थानीय तहको निर्वाचनको खाकासमेत बनाउने तयारीसमेत भइरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)