शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘काठमाडौँले वर्षभरि श्रम निचोर्छ तर जब असोजको बतास चल्छ–मनले केवल बाउआमाको आँगन खोज्छ’ (तस्बिरहरू)


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०८३
  • 43
    SHARES

काठमाडौँ – राजधानी रित्तिँदै गर्दा गोंगबु नयाँ बसपार्कमा उर्लिएको मानवीय सागर, काँधमा च्यापिएका भारी, काखमा दुधे शिशु बोकेका आमाहरू र बालबालिकाका लागि किनेको उपहारको साइकल । यो चाड मात्र होइन, आफ्नै जरासँग जोडिने नेपाली मनको भावनात्मक महायात्रा हो । असोजको बिहानी हावामा अलिअलि चिसो मिसिन थालेको छ । काठमाडौं अझै मस्त निन्द्रामा भएकै बेला गोंगबुको नयाँ बसपार्क भने महाप्रस्थानको केन्द्र बनिसकेको छ । काभ्रे, धादिङ, गोरखा, स्याङ्जादेखि कर्णाली र सुदूरपश्चिमका गाउँगाउँ पुग्ने बसहरू लामवद्ध छन् । टिकट काउन्टरमा घण्टौँको लाम, सिट निश्चित नहुँदाको त्रास र आफन्तसँग पुनर्मिलन हुने तिब्र हुटहुटीले यहाँको हावालाई नै उत्तेजित बनाएको छ ।

काँधमा भारी, मनमा गाउँका लागि उपहार
दशैँमा रित्तो हात गाउँ फर्किन कसको मनले मान्ला र ? वर्षभरि राजधानीको गल्ली र अफिसमा बगाएको पसिनाबाट जोगाएको रकमले आमाबाबुका लागि नयाँ कपडा, छोराछोरीका लागि खेलौना र गाउँका लागि चिन–चियापत्ती जोहो गरिएको छ । एकजना आमा हातमा नयाँ सानो साइकल डो¥याउँदै छिन् । त्यो साइकल गाउँमा बाटो हेरिरहेका सानो बालकको जीवनको सबैभन्दा ठूलो खुशी बन्नेछ । बोरा जस्तोसुकै होस्, त्यसभित्र दशैँको उज्यालो प्याक गरिएको छ ।

आँखामा सपना, काखमा दुधे सन्तान
दशैँको यो भागदौड र कोलाहलमा सबैभन्दा बढी संघर्ष आमाहरूको देखिन्छ । काखमा न्यानो ऊनीको टोपी लगाएको दुधे शिशुलाई च्यापेर भीडमा घण्टौँ कुर्नु कम्ती कष्टकर छैन । आँखामा यात्राको चिन्ता छ, ‘बाटोमा कतै पहिरो त जाँदैन ? बच्चालाई चिसो लाग्ला कि ?’ तर मातृत्वको त्यो न्यानो घेराभित्र बच्चा ढुक्क सुतिरहेको छ । परिवारका सदस्यहरू एकअर्काको सहारा बन्दै गाउँतर्फको पाइला अघि बढाउँछन् ।

झ्यालबाट देखिएको प्रतीक्षा र अतीत
गाडीको सिट फेला परिसकेपछिको राहत अनौठो हुन्छ । बाहिर धुलो र हिलोको संसार छुट्दैछ । झ्यालको सिसामा अडेस लागेका पाका मानिसहरू वर्षभरिको संघर्ष, बाँकी ऋण र अब गाउँमा गरिने खर्चको हिसाब मनमनै जोडघटाउ गरिरहेका छन् । अर्को झ्यालबाट दुई साना नानीहरू हाँस्दै बाहिर चियाइरहेका छन्, उनीहरूका लागि दशैँ भनेको गाउँको पिङ, हजुरआमाको अक्षता, र खुला चउरमा उफ्रिन पाउने अनन्त स्वतन्त्रता हो ।

छतमाथिको कसरत र स्टेयरिङको भरोसा
हामी दशैँ मनाउन घर पुग्न सक्नुको पछाडि हजारौँ चालक, सहचालक र ट्राफिक प्रहरीको त्याग लुकेको छ । बसको छतमा ज्यान जोखिममा राखेर भारी डोरीले कस्ने सहचालक युवा हुन् वा घण्टौँ गाडीको स्टेयरिङ घुमाउने पाका चालक । उनीहरूका बाआमा पनि गाउँमा बाटो कुरिरहेका हुन्छन् । तर उनीहरू अरूलाई घर पु¥याउनमै आफ्नो कर्तव्य ठान्छन् ।

माटोसँगको त्यो अटुट प्रेम
नागढुङ्गाको उकालो पार भएपछि काठमाडौंको कोलाहल छुट्छ । त्रिशूलीको किनारैकिनार, मुग्लिङको दोबाटो, वीपी राजमार्गको घुम्तीहरू छिचोल्दै जब गाडी आफ्नै जिल्लाको माटोमा पुग्छ । मन हलुका हुन्छ । आँगनमा बाआमाले टीकाको थाली तयार पारेका हुन्छन् । मकैका जुँघाजस्ता पहेँला जमरा र रातो निधारले वर्षभरिको आँसु र पसिनालाई आशीर्वादमा बदलिदिन्छ । –न्युज एजेन्सी नेपाल

तश्वीर : अनुप प्रधान- न्युज एजेन्सी नेपाल 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)