शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपीएललाई आईसीसीको आधिकारिक स्वीकृति

विदेशी खेलाडीलाई एनओसी अनिवार्य, कडा एन्टी–करप्सन नियम लागू हुने


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०८३
  • 42
    SHARES

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक स्वीकृति (स्याङ्सन) प्राप्त भएको जनाएको छ ।

 

आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिनुपर्नेछ भने प्रतियोगितालाई निष्पक्ष बनाउन आईसीसीको एन्टी–करप्सन कोड कडाइका साथ लागू गरिने भएको छ ।

क्यानद्वारा शनिवार त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा सचिव पारस खड्काले आईसीसीको स्वीकृतिसँगै एनपीएलको गरिमा र विश्वसनियता अन्तर्राष्ट्रिय स्तरमा पुगेको बताउनु भयो ।

आईसीसीको प्रावधानअनुसार प्रतियोगिता शुरु हुनुभन्दा ६ महिनाअघिसम्म कुनैपनि गैरकानूनी वा अस्वीकृत (डिसएप्रुभ्ड) क्रिकेट खेलेका खेलाडी एनपीएल खेल्न योग्य हुने छैनन् । यस्तै, अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीहरूले समेत आफ्नो घरेलु बोर्डसँग समन्वय गरी एनओसीको प्रावधान पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । फ्रेन्चाइज क्रिकेटमा म्याच फिक्सिङ तथा स्पट फिक्सिङको जोखिम उच्च रहने उल्लेख गर्दै क्यानले प्रतियोगिताभर आईसीसीको एन्टी–करप्सन युनिट (एसीयू) को नियम पूर्ण रूपमा कार्यान्वयन हुने स्पष्ट पारेको छ । नेपालमा यससम्बन्धी छुट्टै कानून निर्माणको प्रक्रियामा रहे पनि एनपीएल अवधिभर आईसीसीको अन्तर्राष्ट्रिय आचारसंहिताअनुसार अनुसन्धान र कारबाहीको दायरा तय हुनेछ । यसबाट खेलाडी, टिम मालिक तथा अन्य सरोकारवालाहरू थप शतर्क र जिम्मेवार बन्नुपर्ने क्यानको भनाइ छ । एनपीएलको आधिकारिक टी–२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको र आउँदो सोमबारसम्म प्राविधिक स्पष्टता आइसक्ने जानकारी दिइएको छ ।

यसैगरी प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको र आगामी दुईदेखि तीन दिनभित्र यसबारे आधिकारिक निर्णय सार्वजनिक गरिने सचिव खड्काले बताउनु भयो । खेलाडी नियमतर्फ प्रत्येक फ्रेन्चाइजले टोलीमा अधिकतम ८ जनासम्म विदेशी खेलाडी अनुवन्ध गर्न पाउनेछन् भने प्लेइङ–११ मा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य रहनेछन् ।

यसैबीच क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौंमा ‘आईसीसी एसिया कन्फ्रेन्स’ आयोजना गर्न लागेको जानकारीसमेत दिएको छ । एशियाका टेस्ट र एसोसिएट राष्ट्रका अध्यक्ष, सचिव तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरू सहभागी हुने उक्त तीन दिने सम्मेलनले एसियाली क्रिकेटको नीतिगत विकासमा छलफल गर्नेछ । सोही अवसरमा विदेशी प्रतिनिधिहरूलाई एनपीएलको फाइनल खेल अवलोकन गराउँदै नेपाली क्रिकेट र आतिथ्यताको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने क्यानको योजना छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)