शनिबार, कार्तिक १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस्ः गगन थापा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १, २०८३
  • 22
    SHARES

काठमाडौँ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा तत्काल सभापतिबाट अलग गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।

शनिवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत कमजोरी वा गलत प्रवृत्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभएको हो ।

सभापति थापाले पार्टी सभापतिका रूपमा आफ्नो व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनका हरेक पक्षमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 

पार्टी लाखौँ नेता–कार्यकर्ताको रगत र पसिनाबाट सिर्जित एक सार्वजनिक सम्पतिी भएको स्मरण गराउँदै उहाँले व्यक्तिका गल्तीको दायित्व सम्बन्धित व्यक्तिले नै लिनुपर्ने औँल्याउनु भयो ।

नेतृत्वले गरेका भूल र कमजोरीको भारी पार्टीले बोक्दा संस्था नै धराशायी बन्ने भएकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ । मुलुकको वर्तमान परिस्थितिबारे चर्चा गर्दै सभापति थापाले दशैँको फूलपातीकै दिन समेत हजारौँ युवाहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिन बाध्य हुनु राष्ट्रकै लागि गम्भीर चिन्ताको विषय भएको बताउनु भयो । उहाँले रातारात चमत्कार गर्न नसकिए पनि स्वदेशमै युवाहरूलाई स्वाभिमानका साथ बाँच्ने वातावरण निर्माण गर्न काँग्रेसले आफ्ना तर्फबाट इमान्दार प्रयत्न थाल्नुपर्ने बताउनु भयो ।

पार्टीभित्रका असन्तुष्ट पक्षलाई मिलाउने र व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी आफूले लिने स्पष्ट पार्दै थापाले अन्य नेता तथा कार्यकर्ताहरूलाई अब कोठाभित्र बसेर निराशाको गन्थन नगर्न निर्देशन दिनुभयो ।

सभापति थापाले भन्नुभयो, ‘पार्टी सभापति हुँदै गर्दा मेरो व्यक्तिगत जीवन, परिवार, आर्थिक जीवन र सम्बन्धहरूप्रति म सचेत र जिम्मेवार रहनुपर्छ भन्ने कुरा म बुझ्छु । मेरा कुनै गलत कामले पार्टीलाई असर पर्न सक्छ । त्यसैले, कुनै दिन म चुकेको महशुस भएमा नेपाली कांग्रेसले मलाई सभापतिबाट अलग गरेर अगाडि बढ्नुपर्छ । किनकि व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन । पार्टी सार्वजनिक सम्पत्ति हो, जहाँ हजारौँ मानिसको रगत, पसिना र योगदान जोडिएको हुन्छ । व्यक्तिले गरेका गल्तीको भार व्यक्तिले नै बोक्नुपर्छ, पार्टीले होइन । मेरो कमजोरीको जिम्मेवारी म आफैँ लिन्छु । यो मेरो प्रण हो । आज दशैँको फूलपातीका दिन हजारौँ युवाहरू देश छोडेर विदेश जाँदैछन् । हामी रातारात चमत्कार गरेर उनीहरूलाई फर्काउन सक्दैनौँ तर स्वाभिमानका साथ नेपालमै बस्न सक्ने वातावरण बनाउन इमानदार प्रयास गर्नसक्छौँ । त्यसो गर्न सक्यौँ भने मात्रै नेपाली काँग्रेस हुनुको अर्थ रहन्छ । हाम्रा चुनौती पहाडजस्ता छन्, तर अवसर हिमालभन्दा पनि अग्ला छन्। यही विश्वासका साथ अघि बढौँ। पार्टीका सबै साथीहरूलाई हृदयदेखि धन्यवाद दिँदै आग्रह गर्छु,अब निराशाका लामा गफ र गुनासो छाडौँ । पार्टीभित्रका असन्तुष्ट साथीहरूलाई समेट्ने जिम्मेवारी मलाई छाडिदिनुहोस्। म त्यो जिम्मेवारी पूरा गर्नेछु । अब सबै साथीहरू आफ्नो काम र कर्ममार्फत पार्टीका कार्यकर्ता तथा नागरिकमाझ जाऔँ र उनीहरूका समस्यामा काम गरौँ। आक्रोशको रोटी सेक्नेहरूबारे धेरै चिन्ता नगरौँ, किनकि त्यो क्षणिक हो । नेपाली काँग्रेस सकारात्मक सोच, सकारात्मक ऊर्जा र आशाको केन्द्र बन्नुपर्छ । अब निराशा होइन, कर्म र परिणामबाट जनताको विश्वास जित्ने समय आएको छ ।’

सभापति थापाले पार्टीका तल्ला तहका कार्यकर्ता र आम नागरिकका सुख–दुःखमा प्रत्यक्ष जोडिन तथा निराशालाई चिरेर सकारात्मक ऊर्जा प्रवाह गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान समेत गर्नुभयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)