काठमाडौँ – बढ्दो जीवनयापन खर्च, सैन्य विस्तार तथा हतियारमा बढाइएको खर्चको विरोधमा इटालीका विभिन्न सहरमा शनिबार प्रदर्शन भएका छन् ।
प्रदर्शनका क्रममा केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको इटालीका सञ्चारमाध्यमले जनाएका छन् । इटालीको बोलोन्या सहरमा शनिबार साँझ प्रदर्शनकारीको एक समूह र प्रहरीबीच झडप भएको कोरिएरे डेला सेरा पत्रिकाले जनाएको छ । झडपका क्रममा आपत्कालीन स्वास्थ्य सेवामा सहयोगका लागि १७ वटा फोन आएको र एम्बुलेन्समार्फत छ जनालाई अस्पताल लगिएको समाचारमा उल्लेख छ ।
त्यस्तै, राजधानी रोममा शनिवार दिउँसो पियाजा डेला रेपुब्लिकाबाट युद्धविरोधी ¥याली शुरु भएको एएनएसए समाचार संस्थाले जनाएको छ । साँझ सहरको मध्यभागमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको थियो । टुरिन शहरमा पनि सैन्य खर्च वृद्धि र इन्धनको मूल्य बढेको विरोधमा प्रदर्शन भएको थियो ।
शनिबार साँझ भएको प्रदर्शनका क्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि पटाका र बोतल प्रहार गरेका थिए । त्यसपछि प्रहरीले अश्रुग्यास प्रयोग गरेको जनाइएको छ । गत सप्ताहन्त विशेषगरी मिलानमा भएका प्रदर्शन हिंसात्मक झडप र लुटपाटमा परिणत भएपछि इटालीका गृहमन्त्री मत्तेओ पियान्तेदोसीले देशभर थप प्रहरी परिचालन गर्न निर्देशन दिएका थिए ।
ठूलो सङ्ख्यामा प्रदर्शन हुने अनुमान गरिएका प्रमुख सहरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले शनिवार साँझ सामाजिक सञ्जालमार्फत प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गरेकी छन् । उनले शान्तिपूर्ण प्रदर्शन गर्न चाहने नागरिक, आफ्नो काममा जाने व्यक्ति र सहरमा निर्भयपूर्वक जीवन बिताउन चाहने सबैको सुरक्षा सुनिश्चित गर्नुपर्ने बताइन् । उनले भिडन्त र हिंसा फैलाउन खोज्नेहरूलाई छुट दिन नहुने पनि उल्लेख गरेकी छन् ।
