बिहिबार, कार्तिक २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छठ: सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाडौंका पोखरीहरू (फोटो फिचर)


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक २७, २०८३
  • 29
    SHARES

काठमाडौँ – आस्था, निष्ठा र सूर्य उपासनाको महापर्व छठका लागि काठमाडौंका नदी र पोखरीमा सरसफाई र भौतिक संरचना निर्माण कार्य जारी रहेको छ ।

आस्था, निष्ठा र लोकआस्थाको पर्व छठ आउन केही दिन मात्र बाँकी रहँदा काठमाडौं उपत्यकाका विभिन्न जलाशय तथा पोखरीहरूमा तयारीले तिब्रता पाएको हो ।

विशेषगरी राजधानीको मुटुमा अवस्थित ऐतिहासिक कमलपोखरीमा छठ पूजाका लागि विशेष सरसफाइ, काठका परम्परागत मण्डपमा रङरोगन, तथा टेन्ट र झिलिमिली बत्ती जडानका लागि फलामे संरचना निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि शुरु भई सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर सम्पन्न हुने छठ पर्वका लागि काठमाडौंका विभिन्न घाटहरू दुलहीझैं सिँगारिन थालेका छन् । पछिल्ला वर्षहरूमा राजधानीको कमलपोखरी छठ पर्व मनाउने प्रमुख केन्द्रका रूपमा विकास भएको छ । यहाँ हजारौं श्रद्धालु तथा व्रतालुहरू अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन भेला हुने गर्दछन् ।

मंगलबार र बुधबार कमलपोखरी पुग्दा त्यहाँको वातावरण छठमय बनिसकेको देखिन्थ्यो । पोखरीको बीच भागमा रहेको काष्ठकलायुक्त परम्परागत मण्डप (छत्र) लाई चिटिक्क बनाउन काठका स्तम्भ र बुट्टाहरूमा वाटरप्रुफ तेल–पालिस लगाउने काम भइरहेको छ । कामदारहरूले भ¥याङ चढेर मण्डपको छानोमुनि रहेका काठका दलिन तथा खाँबोहरूमा सुरक्षात्मक लेप लगाइरहेका छन् ।

कुनै समय तराई–मधेसमा मात्र सिमित मानिने सूर्य उपासनाको यो पावन पर्व आज काठमाडौंको ऐतिहासिक कमलपोखरीमा सम्पूर्ण उपत्यकावासीको साझा सांस्कृतिक धरोहर र सद्भावको प्रतीक बनेको छ । काठमाडौं महानगरपालिकाका वातावरण विभागका सरसफाइकर्मीहरू कुचो र ठेलागाडा लिएर पोखरी परिसर, सिँढी र पैदल मार्गलाई सफा सुग्घर बनाउन अहोरात्र खटिएका छन् । पोखरीको डिल तथा सिँढीहरूमा रहेको फोहोर, पातपतिङ्गर र धुलो हटाएर चिटिक्क पारिएको छ । पोखरीको हरियो कञ्चन पानी र वरपर रोपिएका हरियाली वृक्षहरूको सौन्दर्यले कमलपोखरीलाई थप आकर्षक बनाएको छ । व्रतालुहरूलाई घामपानीबाट ओत लाग्न र रातभर पूजा सामग्री सुरक्षासहित भजन–कीर्तन गर्नका लागि पोखरीका सिँढीदार घाटहरू वरिपरि मजबुत फलामे पाइपका फ्रेमहरू ठड्याइएको छ । यसै फ्रेममा आकर्षक टेन्ट, पन्डाल र राति झिलिमिली बत्तीहरू सजाइने स्थानीय पूजा व्यवस्थापन समितिले जनाएको छ । पानीको सतहसँगै जोडिएका सिँढीहरूमा व्रतालुहरूले सहजै उभिएर सूर्यदेवलाई अघ्र्य दिन सक्ने गरी सुरक्षा बार र डोरीको पनि व्यवस्था मिलाइँदैछ ।

कुनै समय मुख्यतया तराई–मधेसमा मात्र सीमित मानिने छठ पर्व पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकाका नेवार, बाहुन, क्षेत्री, जनजाति लगायत सम्पूर्ण समुदायको साझा सांस्कृतिक संगम बनेको छ । कमलपोखरीमा मात्र होइन, गुह्येश्वरी–गौरीघाट (वाग्मती नदी किनार), कुपण्डोल, थापाथली, नागपोखरी र विष्णुमती किनारका घाटहरूमा पनि छठ पूजा सेवा समितिहरूले सरसफाइ र घाट सजावटको काम अघि बढाएका छन् । छठ पूजा व्यवस्थापन समितिका अनुसार यस वर्ष कमलपोखरीमा हजारौं श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने अनुमान गरिएको छ । व्रतालुहरूका लागि निःशुल्क ठाउँ व्यवस्थापन, पिउने पानी, स्वास्थ्य शिविर, प्राथमिक उपचार तथा सुरक्षाका लागि नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोली परिचालन गरिने तयारी गरिएको छ । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)