७ बैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे ।
महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई सुम्पेको भन्दै आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
‘प्रदेश र जिल्ला सभापतिलाई किनाराको साक्षी राख्दै नेकपा एसलाई मेयर पदमा प्रस्ताव गरिएको समाचारले महानगर समिति उपेक्षित भएको महसुस भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी पनि विधानअनुसार निर्वाचित भएका हौं । यस्ता निर्णयले कांग्रेसका पहरेदार सिपाहीहरूको आत्मसम्मानमा गम्भीर चोट लागेको छ ।’
