२६ भदौ, काठमाडौं । मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको छ । येँया अर्थात् इन्द्रजात्राका अवसरमा शनिबार राति मध्यपुरथिमिस्थित दिगु भैरव मन्दिर अगाडि डबलीमा उहाँले जिब्रो छेड्नुभएको थियो ।
दश इन्च लामो सुइरोले जिब्रो छेडेर उहाँले १७ दीपसहितको अर्ध चन्द्राकार भ्यें बोकी थिमि परिक्रमा गर्नुभएको थियो । योसँगै थिमिमा मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा)’ गए राति सम्पन्न गरिएको हो । मन्दिरमा जामनः (गुरू) ले जिब्रोको प्वालमा नासःद्यः (नित्यनाथ) परिसरको माटो राखिदिनुभएको थियो । यसले घाउ नपाक्ने र चाँडो निको हुने विश्वास छ । माटो हालेपछि नजिकैको महादेव पाटीमा विश्राम गरिन्छ ।
परम्पराअनुसार वीरेन्द्रभक्तले मूल नकर्मी रामभक्त नकर्मीलाई जिब्रो छेड्ने नातु (सुइरो) बनाउन सम्ये बजीसहितको पूजा दिएर आग्रह गरेपछि तीन साताअघि नै नकर्मीले जिब्रो छेड्ने सुइरो तयार गरी शुद्ध तोरीको तेलमा डुबाएर राखेको १० इन्च लामो सुइरो राखिएको थियो ।
स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठद्वारा आठ दिन अगाडि बालकुमारी मन्दिरमा ११ किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउँदै रातोभालेको बलि दिएर बालकुमारीको साधना गरी द्यः दुसालेगु अर्थात् देवता भित्र्याएपछि जात्रा प्रक्रिया विधिवतरूपमा सुरु भएको थियो ।
शनिबार राति राज गणेश, दिगु गणेश, गाचां गणेशलाई ल्याएर द्यों ब्यकेगु गरि देवतालाई साक्षी राखेर जिब्रो छेडिएको संस्कृतकर्मी श्रेष्ठले बताउनुभयो । जिब्रो छेड्ने व्यतिmमा दैवी शक्ति प्राप्त हुने जनविश्वासका साथ साँझ बालकुमारीबाट दिगुलीस्थित दिगुभैरवसम्मको स्थानमा बत्ती दिई, दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति)को उपस्थितिमा भैरवको पूजा सम्पन्न भएपछि जिब्रो छेड्नेलाई दुई जनाले समाइ भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइएको थियो ।
डबलीमा नकर्मीले बनाएको सुइरोबाट जामनःगुरु, नायः पमा, नकर्मीलगायतको उपस्थितिमा डबलीमा कमीनायोले जिब्रो छेडाउने र त्यसपछि स्थानीय व्यक्तिले ‘ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्’ भन्दै जिब्रो छेड्ने व्यक्तिसँग भ्यं (महादिप) बोकेर उहाँको इच्छाअनुसार नगरका विभिन्न टोलको परिक्रमा गराएको थियो । धरै वर्ष अगाडि यसरी जिब्रो छेड्ने व्यक्तिले मध्यपुरथिमिबाट चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गरेको भनाइ रहेको स्थानीय बताउँछन् ।
