काठमाण्डौ,१९ असोज। भारतका वैज्ञानिकहरुको समूहले सस्तो र छिटो परीणाम आउने कोरोना भाइरसको परीक्षण गर्ने प्रविधिको विकास गरेका छन् ।
यो प्रविधि गर्भ रहे नरहेको परीक्षण गर्ने प्रेग्नेन्सी टेस्ट किट जस्तै र त्यति नै छिटो परिणाम आउने रहेको वैज्ञानिकहरुको दाबी छ । प्रविधिको विकास अनुवांशिक सम्पादन प्रविधि सम्बन्धी वैज्ञानिकहरुको संस्था किस्परले निर्माण गरेको हो ।
फिलुदा नाम दिइएको सो परीक्षण प्रविधि मार्फत् कोरोना पोजेटिभ भए नभएको एक घन्टाभित्र थाहा हुने र यसको शुल्क पनि ५ सय मात्रै पर्ने बताइएको छ । फिलुदा भारतको प्रतिष्ठित व्यापारिक घराना टाटाले निर्माण गरेको हो । यो विश्वमै पहिलोपटक कागजबाट बनेको कोभिड-१९ परीक्षण प्रविधि हो ।
भारतले विश्वमा सस्तो र छिटो कोरोना परिक्षण गर्ने फिलुदा नामक सो प्रविधि बजारमा ल्याएको हो । भारतमा हालसम्म ६६ लाखभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख २ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।
